धरान/साइकलको नाम लिने बित्तिकै साइकल पर्यटनमा लागेका युवा कृष्ण केसी निक्कै रोमाञ्चित हुन्छन् ।
[caption id="attachment_67118" align="alignnone" width="1024"]
तस्बिरहरूः भाेजराज[/caption]
‘साइकल त पर्यटनको एउटा पार्ट भइक्याे नी ।’ भेट्ने बित्तकै केसीले मुख खोले । पर्यटन प्रवद्र्धनका विभिन्न माध्यमहरु छन् । ती माध्यमहरु मध्ये साइकल एक हो । जसमा इन्धन लाग्दैन । र, नेपाल जस्तो ग्रामिण पर्यटन तथा पहाडी, हिमाली पर्यटनका लागि साइकल एकमात्रै भरपर्दो बिकल्प हो ।
नेपालमा अधिकांस जिल्लाहरुमा सडकको उपलब्धता छैन् । सडक पहुँच छैन् । साइकलमा भने इन्धन नलाग्ने साथै, धुवाको प्रदुर्शणसमेत नहुने हुँदा साइकल पर्यटनको एउटा अङ्ग जस्तै बनेको छ । ‘साइकलमा जाँदा इन्धनको जोहो गर्नु परेन ।, बाटो ठूलो चाहिएन । प्रकृतिसँग ठ्याक्कै मिल्ने धुवा, धुलो ननिकाल्ने भएका कारण साइकल पर्यटनको सजिलो माध्यम हो ।’ केसी थप्छन् ।
साइकल वातावरणमैत्री हुन्छ । जसले गर्दा ग्रामिण होस् या हिल्ली क्षेत्र जतासुकै पनि साइकललाई सहजै पु¥याउन सकिन्छ । अझ बढ्दो सवारी साधनका कारण पछिल्लो समय शहर बजारमा पनि साइकलाई भरपर्दो सवारीको माध्यम बनाउन सकिने उनको तर्क छ ।
‘ट्राफिक जाम नहुने, अव्यवस्थित पार्किङको डर पनि नहुने ।’ उनी भन्छन् । उनका अनुसार शहरमा बढ्दै गएको डिपार्टमेन्ट र डिपार्टमेन्ट संस्कृतिको लागि पनि साइकल विशेष हुन सक्छ । ‘किनकी एउटा कार अट्ने क्षमता भएको पार्किङ स्थलमा १० वटा साइकल अटाउन सकिन्छ ।’ उनी भन्छन्, ‘त्यसले पार्किङको समस्या हल हुन्छ ।’
साइकल क्रेज
धरानमा साइकल चढ्ने युवाहरुको संख्या अहिले २ सयको हाराहारी छ । दैनिक ५० देखि ६० युवाहरु साइकलमा सरर गुड्छन् । साइकलप्रति उनीहरुको क्रेज बढ्दो छ । कुनै समय थियो, धरानमा साइकल भन्दा बढी मोटरसाइकलहरु गुड्थे । मोटरसाइकलमा गुड्नु उनीहरुको लागि शौखको विषयम मात्रै हैन, युवतिहरुलाई पछाडी राखेर हुइक्याउनुको मजा नै बेग्लै हुने ठान्थे ।
तर, त्यही युवाहरु अहिले साइकलप्रति उस्तै शौखिन छन् । १० हजार रुपैयादेखि ८ लाख रुपैया मूल्यसम्मको साइकल चढ्नेहरुको ताँती धरानमा छ । युवाहरु हरेक दिन साइकल किन्ने र सिक्नेहरु छन् । स्टन्ट गर्नेहरुको उस्तै लहर छ ।

अहिले युट्युव तथा सामाजिक सञ्जालहरुमा स्टन्टका तरिकाहरु सिक्न सहजै पाउने कारणले पनि युवाहरुप्रति साइकलको स्टन्ट क्रेज बढेको केसी बताउँछन् । केसी अहिले युवाहरुमा साइकल कल्चरको विकास भएको बताउँछन् । ‘धरानमा साइकल कल्चरको विकास भएको छ ।’ उनी भन्छन् ।
साइकल व्यवसाय पनि राम्रो
साइकल व्यवसाय गर्नेहरु यो बेला केही सन्तोषको स्वास लिइरहेका छन् । साइकल व्यवसाय गरेरै जीविकोपार्जन गरिरहेका केसीको आफ्नै टस्क माउन्टेन नामक बिक्री केन्द्र छ । जहाँ २५ हजार रुपैयादेखि माथिका साइकलहरु बिक्री गर्छन् । ‘व्यवसाय रुपमा जीवन धान्न सकिन्छ अहिले ।’ उनी भन्छन्, ‘कुनै बेला ४० हजार रुपैयाको साइकल भन्दा ठूलो कुरा हुन्थ्यो ।’ राम्रो माउन्टेन साइकल किन्नेहरु धेरै भएको उनको भनाइ छ ।
साइकललाई जंगल सफारीमा प्रयोग
साइकल जंगल सफारीको लागि उपयुक्त रहेको पर्यटनमासमेत काम गर्दै आएका केसीको अनुभव छ । ‘यहाँको जंगल सफारी चितवनको सौराहाजस्तो व्यवस्थित छैन् । गाडीमा जाँदा आवाजका कारण धेरै जनवारहरु भाग्न सक्छन् ।’ उनी भन्छन्, ‘साइकलमा जंगल सफारी गर्ने हो भने धेरै जीवजस्तुहरु देख्न सकिन्छ ।’
उनका अनुसार साइकललाई पर्यटनको हिस्सा बनाउँदै जंगल सफारीमा प्रयोगमा ल्याउने हो भने धरानको जंगल पर्यटनमा थप टेवा पुग्ने उनको भनाइ छ । त्यसो त, धरानमा सेछ ट्राभलिङले जंगल सफारीको प्याकेज ल्यायो । २०७२ सालमा ल्याएको उक्त प्याकेज सुनसरीको कोशीटप्पूसम्म थियो । विविध समस्याले गर्दा अहिले उक्त जंगल सफारीले निरन्तरता पाउन सकेको छैन् । तर, साइकललाई जंगल सफारीमा प्रयोग गर्ने हो भने छिमेकी देश भारतसम्मका पर्यटकहरुले त्यसको फाइदा लिन सक्ने केसीको तर्क छ ।
जंगल सफारीमा मात्रै हैन, धरानको आसपासको क्षेत्रसम्मको केही भागहरुमा अनिवार्य साइकलमा जाने प्रावधान बनाएमा साइकल पर्यटन धरानको एउटा हिस्सा बन्ने उनी बताउँछन् । जस्तै: धरानको बुढासुब्बा, पिण्डेश्वरी, पञ्चकन्या क्षेत्रहरुमा गाडीहरु प्रतिवन्ध गरेर पैदल या साइकलमा मात्रै जान पाउने व्यवस्था गर्ने हो भने त्यहाँ आउने पर्यटकहरुले साइकल प्रयोग गर्थे ।
त्यस्तै चिण्डेडाँडा, विष्णुपादुका, बराहक्षेत्र, रामधुनी, बक्लौरीको राष्ट्रिय सम्मानित (रास ताल), तरहराको तालतलैया, मोरङ याङशिलाको चिउरी भञ्ज्याङ लगायत क्षेत्रमा साइकल पर्यटन गर्न सकिन्छ । ‘नजिकको डेष्टिनेसनमा साइकलमार्फत् सेवा दिन सकियो भने साइकल पर्यटनले मूर्तरुप लिन्छ ।’ उनी भन्छन्, ‘होमस्टेहरुमा पनि साइक्लिङमार्फत् जाने र एक रात बस्ने व्यवस्था मिलाउन सकिन्छ ।’
यसका लागि स्थानीय सरकार तथा राजनीतिक दलहरुले चासो देखाउनु पर्छ । साइकल सिटीको रुपमा विकास गर्न साइकलप्रेमीहरुबाट मात्रै सम्भव नभएको उनी देख्छन् । त्यसका लागि स्थानीय सरकार र राजनीतिक दलहरुले तदारुकता देखाउनुपर्छ । त्यो हुन सकेमा मात्रै स्थानीय स्तरमा साइकल पर्यटन एउटा परिचय बन्न सक्छ ।
साइकलमा युवाहरुको आर्कषण
धरानका युवाहरुको साइकलप्रति आर्कषण वढ्नुको कारण 'स्टन्टमेन्ट' हो । त्यही ट्रेन यहाँको साइकलप्रेमी युवाहरुमा देखिन्छ । डाउनहिलहरुमा स्टन्ट गर्नेहरु प्रसस्तै भेटिन्छन् । ‘एग्रेसिभ राइड गर्न मन पराउने युवाहरु धेरै छन् ।’ केसी भन्छन् ।
धरानमा सातौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत भएको राष्ट्रिय साइक्लिङ प्रतियोगिता त्यसको उपजसमेत हो । जहाँ सयौंका संख्यामा साइकलिष्टहरु स्पर्धामा सहभागी बनेका थिए । धरानको विजयपुरक्षेत्रमा गरिएको उक्त प्रतियोगिताले धेरै युवाहरु आर्कषित बनेको केसी बताउँछन् ।
त्यस्तै इन्टरस्कुल साइक्लिङ प्रतियोगिता, म्याराथुन क्रसकन्ट्री, शो डाउन धरान, डाउन हिल टुनामेन्टहरु भइसकेका छन् । यस्ता प्रतियोगिताका कारण पनि युवाहरुको लागि साइकल आर्कषणको केन्द्र बनेको छ ।