धरान/मध्य भागबाट लाटी खोला बगेको छ । जसले रामधुनी–७ बक्लौरीको राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क (रास ताल) को सुन्दरता थपेको छ । [caption id="attachment_65507" align="alignnone" width="1306"] तस्बिरः भाेजराज[/caption] धरानबाट १२ किलोमिटर दक्षिण तरहरादेखि पश्चिम लागेपछि पुगिने रास ताल २०७१ यतादेखि पर्यटकीय गन्तव्यको नमुना बनिरहेको छ । २०७१ मा स्थानीयहरु पर्यटकीय केन्द्र बनाउन जुटेसँगै हाल त्यसले विस्तारित रुप लिँदै छ । ६१ हेक्टर क्षेत्रफलमा फैलिएको सुनसरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने रास ताललाई राष्ट्रिय सम्मानित किरात लिपी प्रवद्र्धक इमानसिंह चेम्जोङसँग जोडेर स्थानीयबासीहरु पर्यटकीय नमुना बनाउन एक जुट छन् । सीमसार क्षेत्रको रुपमा परिचित यसलाई स्थानीय शशी राईले पर्यटनको लागि परिकल्पना गरेका हुन् । उनी रास ताल निर्माण समितिका उपाध्यक्षसमेत हुन् । उनले २०४५ सालदेखि नै यसलाई पर्यटकीय गन्तब्य बनाउनको लागि सोच राखेका थिए । तर, त्यसले मूर्त रुप भने २०७१ मा मात्रै पाएको हो । एमाले नेता भीम आचार्य पर्यटनमन्त्री भएका समयमा १० लाख रुपैया छुट्याइदिएपछि स्थानीयले १० लाख गरेर २० लाख रुपैयाको लगानीमा तालमा परिणत गरेका छन् । अहिले तालको चारैतिर बाँध बाँधिएको छ । जहाँ डुंगाको पनि व्यवस्था गरिएको छ । आर्थिक उपार्जनको केन्द्र बन्दै गएको तालमा माछा पालनसमेत गर्न थालिएको छ । जसबाट थप आम्दानी हुने विश्वास सुनसरी सामुदायिक वनका उपभोक्ता समूहका कोषाध्यक्ष सिर्जन मादेन खेवा बताउँछन् । उनका अनुसार हिउँदाका समयमा आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । ‘यो बेलामा वनभोज खानेहरु आउँछन् ।’ उनले भने, ‘सार्वजनिक विदाको दिन १५–२० ग्रुपहरु आइपुग्छन् ।’ वनभोजको लागि अहिले रास ताल प्रख्यात बन्दै छ । अझ स्थानीयहरुले स्थानीय स्तरबाटै रेटो पिङ निर्माण गरेका छन् । जुन, धेरै आन्तरिक पर्यटकहरुको लागि पनि आर्कषणको केन्द्र बन्न सक्छ । विशेष गरेर पहाडी क्षेत्रहरुमा काठबाट निर्मित रोटेपिङहरु प्रयोगमा आउने गरेका थिए । त्यही डिजाइनमा तयार पारिएकाले रास तालमा आइपुग्ने आन्तरिक पर्यटकहरुले रोटेपिङको आनन्द लिने गरेको स्थानीयहरु बताउँछन् । २०७३ सालमा निर्मित रोटेपिङ त्यहाँको अर्को आर्कषण रहेको छ । ६१ ह्ेक्टर मध्ये करिव १० हेक्टर ताल क्षेत्र छ । अन्य क्षेत्र जंगलले ढोकेको छ । ताल क्षेत्रमा लाटी खोला बग्छ । जसले गर्दा तालमा पानी एकनासको भइरहन्छ । २ हेक्टर क्षेत्रफलमा धार्मिक क्षेत्रको रुपमा परिणत गरेका छन् । मंसिर पूर्णिमाको दिन त्यहाँ दुलर्भ जातजातिका नृत्यहरुसमेत नचाइन्छ । जहाँ राउटे, कोचे, मेचेदेखि लिएर विभिन्न आदिवासी जनजातिका नृत्यहरु प्रदर्शन गर्ने थलोको रुपमा विकास गरिरहेको उपाध्यक्ष शशीकुमार राई बताउँछन् । ‘धार्मिक स्थलको लागि २ हेक्टर छुट्टयाएका छौं ।’ उनले भने, ‘त्यहाँ दुर्लभ जातजातिका साँस्कृतिक नृत्यहरु पनि देखाउने गरेका छौं ।’ रास तालका कारण त्यो क्षेत्रसमेत प्रख्यात बन्दै छ । धरानबाट वनभोजका लागि पुगेका लोक लिम्बूले रास तालको नाम सुन्दै आए पनि पहिलो पटक आउँदा ठाउँ राम्रो लागेको बताए । ‘ताल छ भनेर नाम सुन्दै आएको थिएँ । तर, यहाँ आइपुगेको थिइन् ।’ उनले भने, ‘ठाउँ राम्रो रैछ ।’ रास तालमा धरान मात्रै हैन, विराटनगर, इटहरी, झुम्का, इनरुवा, झापासम्मका मान्छेहरु आउने गरेका छन् । आन्तरिक पर्यटकले शनिबार भरिभराउ हुने गरेको छ । वनभोज खाने सिजन भएकाले पनि रास ताल धेरैको रोजाई बन्ने गरेको छ । रास ताललाई थप व्यवस्थित गर्नको लागि सामुदायिक वन र इमानसिंह चोम्जोङ प्रतिष्ठान लागि परेको छ । वन व्यवस्थापनसँगै आर्थिक उपार्जन गर्न सकिने उदारहण सुनसरी सामुदायिक वनले प्रस्तुत गरेको छ । वार्षिक २ देखि ३ लाख रुपैयासम्म आम्दानी हुने गरेको प्रतिष्ठानले बताएको छ । तालमा माछासमेत हालेका छन् । भविश्यमा फिसिङकोसमेत व्यवस्था गर्ने तयारी गरेको छ । यसले थप आर्थिक उपार्जन हुने विश्वास वनले गरेको छ ।