धरान । आसन्न फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै विभिन्न पार्टी तथा तिनका समर्थकले सामाजिक सञ्जाल फेसबुकमा मात्रै पछिल्लो सात दिनमा साढे सात लाख रुपैयाँभन्दा बढी खर्च गरिएको पाइएको छ ।
फेसबुकको मेटा डेटाको विज्ञापन लाइब्रेरीलाई अध्ययन गर्दा फेब्रुअरी ८ देखि १४ तारिकसम्म ५ हजार दुई सय २० अमेरिकन डलर खर्च गरिएको पाइएको हो । यो मङ्गलबारको मूल्य सटहीका आधारमा सात लाख ५७ हजार एक सय १६ रुपैयाँ ५२ पैसा हुन्छ । मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि डिजिटल खर्च बढ्दै गएको पाइएको छ । देशभरिका विभिन्न पार्टीका समर्थक तथा नेताहरूले विभिन्न विज्ञापन कम्पनीहरूमार्फत् खर्च गरेको पाइएको हो ।
पछिल्ला सात दिनको तथ्यलाई केलाउँदा सबैभन्दा बढी ललितपुर ३ का लागि खर्च गरिएको छ । जसमा माइ भोइस काउन्टले ‘हु विल विन ललितपुर ३ (ललितपुर ३ बाट कसले जित्ला ?)’ भन्दै विज्ञापन गरेको देखिन्छ । उक्त विज्ञापन दाताले एक हजार एक सय १० रुपैयाँ खर्च गरेको देखिन्छ । पछिल्लो समय डिजिटलमार्फत् खर्च गर्ने प्रणाली विकास हुँदा नेपालको पैसा विदेशिन थालेको छ । यसका लागि एउटा उम्मेदवारले कतिसम्म विज्ञापनमा खर्च गर्न पाउने भन्ने दायरालाई पनि चुनौती दिएको छ ।
विभिन्न सर्मथकहरूका नाममा हुने खर्चका कारणले पनि यो समस्या देखिएको छ । निर्वाचन आयोगले चुनाव लक्षित कार्यक्रमका लागि सुगम र दुर्गम गरी दुई क्षेत्र विभाजन गरेको छ । जसमा २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
तर खर्च गरेको विषयमा निर्वाचन आयोगलाई सम्पूर्ण खर्चको विवरण बुझाउनुपर्ने प्रावधान राखेको छ । अहिले अधिकांशले सामाजिक सञ्जालको प्रयोग गरेर खर्च गर्न थालेका हुन् । त्यसमा पनि फेसबुकमार्फत् बढी विज्ञापन गर्ने गरेको पाइएको छ । मिडिया चौतारी र डार्क म्याटर प्रोडक्सनले भरतराज ढकाललाई जिताऔँ भन्दै ५ सय ७४ अमेरिकन डलर खर्च गरेको पाइएको छ । यसको नेपाली मूल्यमा कन्र्भट गर्दा ८३ हजार दुई सय ५८ रुपैयाँ ७६ पैसा खर्च गरेको पाइएको छ ।
यस्तै नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी प्रचारका लागि हालसम्म चार सय ७८ अमेरिकी डलर खर्च गरिएको छ । यो पछिल्लो सात दिनको आँकडा हो । स्ट्र होल्डिङ प्रालिमार्फत् खर्च गरिएको छ ।
डा. कोइरालाको चुनावी प्रचारको भिडियो भने साझापाटीले निर्माण गरी सार्वजनिक गरेको छ । यस्तै नेकपा एमालेका नेता तथा ताप्लेजुङ क्षेत्रका उम्मेदवार क्षितिज थेवेले पनि दुई सय ६८ अमेरिकी डलर खर्च गरेका छन् । उनी स्वयम्ले उक्त रकम खर्च गरेको पाइएको छ । विशेषगरी आफ्नो क्षेत्रका मतदातालाई रिझाउनका लागि खर्च गर्ने गरेको पाइएको छ ।
आफूले प्रचार गर्न लागेको सामग्री कुन क्षेत्रलाई देखाउने भन्नेसमेत यकिन गर्न पाइन्छ । सोहीअनुसार डा. कोइराला र थेवेले कोशी क्षेत्रका लागि सबैभन्दा बढी प्रभावित पार्नका लागि विज्ञापनलाई लक्षित गरिएको छ । यसमा उमेर समूह पनि वर्गीकरण गर्न पाइने व्यवस्था मेडा डेटाको विज्ञापन लाइब्रेरीले व्यवस्था गरेको छ । यसरी डिजिटलमा प्रचार गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ ।
































