विजयपुर । धरान उपमहानगरपालिका विकासको दृष्टिले अन्य सहरहरू तुलनामा अग्रस्थानमा भए पनि धरानमै केही ठाउँ यस्ता पनि छन्, जहाँ न खानेपानीको सुविधा छ, न त फोनको नेटवर्क नै ।
स्थानीयहरूका अनुसार धरान–४ का राजभण्डारी, साउने, खोरिया, मनटार, सुमनटार, राजभण्डार, सतिघाट, हर्दियालगायतका क्षेत्रमा न फोनको नेटवर्क छ, न त खानेपानीको सुविधा नै । उनीहरूले आधारभूत आवश्यकतामा पर्ने पानी पनि उपभोग गर्न नपाइएको बताएका छन् । हर्दियाका स्थानीय तीर्थ तामाङ आफूहरूलाई धरान उपमहानगरपालिकावासी भन्ने अनुभूति नभएको बताए । भन्छन्, “मेन आवश्यकता टावरको छ । एनटिसीको हल्का दिन्छ, त्यही पनि डाँडामा निस्किएर फोन गर्नुपर्छ । एनसेलको त चल्दै चल्दैन ।” उनका अनुसार पहिले एनसेलको टावर आउँथ्यो, अहिले आउँदैन । उनी भन्छन्, “नाम्जेको टावर हर्दियातर्फ फर्काउँदा आउँथ्यो, अहिले उता फर्काइदिएछन् आउँदैन ।”
बारीमा काम गरिरहेकी सर्मिला तामाङले पनि सोही समस्यालाई दोहो¥याइन् । उनी भन्छिन्, “आइटीको जमाना भन्छन्, हाम्रोमा फोन गर्ने सुविधा पनि छैन ।” धरान–४ का अधिकांश क्षेत्रमा फोनको नेटवर्क छैन । नेताहरूले पहल गर्ने बताएअनुसार सहयोग नगरेको स्थानीयवासीको गुनासो छ । धरान–४ वाइमाका डम्बरबहादुर मगरको पनि उस्तै समस्या छ । टेकबहादुुर मगर खानेपानी समस्या जटिल रहेको बताउँछन् । उनी भन्छन्, “हाम्रा समस्यै समस्या छन् । बाटो, पहिरो, टावर, स्वास्थ्य चौकी पुग्न नै ३ घण्टा लाग्छ ।” उनी नेताहरू पनि भोट माग्ने बोल मात्र आउने गरेको दुःखेसो गर्छन् ।
उनी भन्छन्, “एक–दुई पटक आउँछन् । आउँदा बोलेर जान्छन् । गएपछि फेरि आउँदैनन् र फोन पनि उठाउँदैनन् ।” निर्वाचनका उम्मेदवारहरूसँग धरान–४ का स्थानीयहरूको तीन मुख्य समस्या समाधान गर्दिनुपर्ने माग राखेका छन् । विकास पूर्वाधारको पनि प्रमुख आधार सडकको दुरावस्था छ । बाटो सहज बनाउनु पर्ने, खानेपानी व्यवस्थापन गरिदिनुपर्ने र फोनको नेटवर्कका लागि पहल गर्दिनुपर्ने माग रहेको छ । तर स्थानीयहरू पुराना दल र तिनका उम्मेदवारसँग सशङ्कित छन् । निर्वाचन आउनै लागेकाले सुनसरी क्षेत्र नं. १ का विभिन्न उम्मेदवारले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै आएका छन् । तर उनीहरूका प्रतिबद्धता पत्रमा धरान–४ का समस्या समाधानका लागि ठोस र मूर्त योजना समेटिएको पाइँदैन ।
































