आगामी फागुन २१ को निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ ।
बुधबार भोजपुर नगरपालिका–४ स्थित सेतीबगरमा बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाका अनुसार भोजपुरबाट टेम्केमैयुङ गाउँपालिका जाने क्रममा गाडीको ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । उनका अनुसार ओरालो बाटोमा खसेको बस रुखमा अड्किएर रोकिएको थियो । नेपाली सेना नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङतर्फ जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा २६ जना सवारमध्ये २४ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ९ जना सामान्य घाइते भएका छन् भने अन्यको अवस्था मध्यम रहेको छ । ५ गम्भीरसहित ८ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य ८ जनालाई इटहरीस्थित सैनिक अस्पतालमा पठाइएको छ भने बाँकी घाइतेलाई पनि काठमाडौं पठाउने तयारी भइरहेको छ । दुर्घटनामा २ जना नेपाली सेना सकुशल रहेका छन् । दुर्घटनामा बसका चालक र सहचालक पनि घाइते भएका छन् । बस नेपाली सेनाको भने होइन । प्रहरी प्रमुख लामाले भने, ’रिजर्भ गरेर लगेको बस हो ।’
































