ठूलो परिमाणमा गाँजा बोकेको दुई गाडीसहित चालक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार मंगलबार धरान २० स्थित बरडाँडाबाट ९ सय ५५ किलोग्राम गाँजासहित दुई गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी भिषण बाबु राईको टोलीले पक्राउ गरेको हो । चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०२७ च ११४३ नं. को पिकअप गाडीमा ३३ पोकामा ४ सय ९५ किलोग्राम गाँजा रहेको थियो । उक्त गाडीका चालक कोल्बी नगरपालिका ८, बाराका संदिप कुमार माझीलाई पक्राउ गरिएको हो ।

यस्तै, बिएसी ३२३६ नं. को गाडीमा २३ पोकामा ४ सय ६० किलोग्राम गाँजासहित चालक चन्द्रागिरी नगरपालिका ८ का ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा चेकजाँच गर्दा गाँजा फेला परेको हो । उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।