श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को अभिव्यक्तिप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले गम्भीर आपत्ति जनाएको छ।

मंगलबार महासङ्घले जारी गरेको विज्ञप्तिमा अध्यक्ष राईको अलोकतान्त्रिक र अमर्यादित गतिविधि जारी रहे थप आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।  महासङ्घले चुनावको दौरानमा दिइएको असंवैधानिक र अवाञ्छित अभिव्यक्तिको छानबिन गरी कारवाही गर्न निर्वाचन आयोग र प्रशासनसँग माग गरेको छ।

शाखाका सचिव विनय बाह्रकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा साम्पाङले विगतदेखि पत्रकारितामाथि बारम्बार अपमानजनक अभिव्यक्ति दिने गरेको उल्लेख गरिएको छ । धरानस्थित एक अनलाइन पोर्टलसँग जोडेर धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए, जसमा उनले ‘पत्रकारिता नै सिध्याइदिन्छु भन्ने अधिव्यक्ति दिएका थिए । 

महासङ्घले यो व्यवहार निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै, यस्तो अभिव्यक्तिले पत्रकारिता क्षेत्रमा कार्यरत पेशागत सुरक्षा र स्वतन्त्रतामा चुनौती सिर्जना गर्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको ‘प्रतिनिधिसभा सदस्य जस्तो गरिमामय पदका उम्मेदवारलाई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ ।