काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय सुनचाँदीतर्फको लगानीमा वृद्धि गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५४ अर्ब ४६ करोड रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरुले मात्रै असोजसम्म सुनचाँदीमा ३० अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, विकास बैंकहरुले ८ अर्ब ६ करोड रुपैयाँ र वित्त कम्पनीले ३१ करोड रुपैयाँ सुनचाँदीमा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ३७ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये बाणिज्य बैंकहरुले ३२ अर्ब ८ करोड रुपैयाँ, विकास बैंकहरुले ४ अर्ब ३ करोड रुपैयाँ र वित्त कम्पनीले ३० करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् । आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३० अर्ब ७ करोड रुपैयाँ सुनचाँदीमा लगानी गरेका थिए । जसमा बाणिज्य बैंकहरुले २६ अर्ब ३ करोड विकास बैंकले ४ अर्ब २ करोड र वित्त कम्पनीले १२ करोड ६ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकहरुले असोज मसान्तसम्म २४ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २० खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत भदौसम्म १७ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरुले १४ अर्ब ३९ अर्ब रुपैैयाँ कर्जा प्रवाह गरेका थिए । असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ दशमलव २ प्रतिशतले बढेको थियो ।
निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा बाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ दशमलव २ प्रतिशत, विकास बैंकहरुको ८ दशमलव ३ प्रतिशत र वित्त कम्पनीहरुको १ दशमलव ९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १८ दशमलव ७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले ६१ दशमलव शून्य प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव ७ प्रतिशत र १५ दशमलव १ प्रतिशत रहेको थियो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रस्ट रिसिट (आयात) कर्जा २५ दशमलव ५ प्रतिशत (१६ अर्ब ४४ करोड रुपैयाँ) ले बढेर ८० अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ दशमलव ५ प्रतिशतले बढेको थियो । त्यस्तै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित हायर पर्चेज कर्जा १ दशमलव ७ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा २ दशमलव ९ प्रतिशतले वृद्धि गरेका छन् । त्यसैगरी, यस अवधिमा १ करोड ५० लाख रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा ६ दशमलव ७ प्रतिशत तथा रियल स्टेट कर्जा शून्य दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।