धरान/वार्षिक ६ करोडको खसीबोका भित्रयाउने नेपाललाई लेटाङ नगरपालिका-७ हात्तिखर्कका तेजकुमार श्रेष्ठले थोरै भए पनि खसीबोकामा योगदान दिइरहेका छन् ।

२६ वर्षका श्रेष्ठले परम्परागत खसीबोका पालनलाई ४ वर्षदेखि व्यवसायिकता दिन थालेका छन् । २५ वर्षदेखि उनको घरमा परम्परागत खसीबोका पालन थालिएको हो । बुबाले थालेको बाख्रापालनलाई उनले निरन्तरता मात्रै दिएका छैनन् । त्यसबाट मनग्यै कमाउँने युवा पनि बनेका छन् । बाख्रा बाटै उनको कमाई वार्षिक अढाई लाख रुपैया पुग्छ । दशैंतिहारको बेला मात्रै उनले ३० वटा भन्दा बढी खसीबोका बिक्री गर्छन् । त्यही पैसाले घर खर्च मात्रै टरेको छैन् । छोरी पढाउँने र बचत गर्नेसम्मको काम गर्छन् । भन्छन्, ‘घरखर्च राम्रैसँग चलेको छ । राम्रौ आम्दानी गरेको छु ।,
धेरै गाउँलेको लागि उनी उदाहरणीय छन् । अझ युवाहरुको लागि त, उनी नमुना नै बनेका छन् । घरमै बसेर वार्षिक अढाई लाख रुपैया कमाई गर्ने कारण पनि उनी मख्ख छन् । ‘विदेशिनेले पनि त्यती नै त कमाउँछन् होला ।, उनी अनुमान लगाउँदै भन्छन्, ‘विदेशमा अर्काको अरनखटनमा काम गर्नुपर्छ । यहाँ आफ्नै तरिकाले काम गर्छु । ‘बाख्रापालन अन्य जस्तो झन्झट नहुने भएकाले उनी भन्छन्, ‘दिउँसो यसो वन तिर छाडिदियो । गोठाला गरेको भरमा कमाई हुन्छ ।’ परम्परागत बाख्रापालनलाई व्यवसायिकता दिनैको लागि उनले चारवर्ष अघि ६० हजार रुपैया लगानी गरेर नयाँ प्रजातिका बाख्राहरु ल्याएका थिए । धेरै वर्षको अनुभवले उनलाई बाख्रामा आउने रोगहरुको बारे पनि अगवत छन् । भन्छन्, ‘बाख्राको उपचार पनि आफै गर्छु ।’
उनका अनुसार बाख्रामा असोज र कात्तिक साथै फागुनदेखि जेठसम्म रोगहरुले संक्रमण गर्छ । अन्य बेलामा भने बाख्रापालनमा आत्तिनु नर्पने उनको भनाइ छ । ‘अन्य पेशा भन्दा धेरै सजिलो पेशा हो यो ।’ उनी भन्छन्, ‘अरु जस्तो रोगहरु पनि लागिरहँदैन ।’ बाख्रामा ज्वरो आउने, रुखामार्की र छेर्ने समस्याहरु प्रायः आउने गरेको उनको अनुभव छ ।
बिहानै अन्य काम गरेर पनि बाख्रापालन गर्न भ्याइने भएकाले उनको लागि यो व्यवसाय सहज छ । त्यसैले पनि उनको दिमागमा विदेशको लोभ कहिल्यै जागेन । भन्छन्, ‘विदेशमा गएर कमाउने पनि यति नै होला । यहाँ नै कमाई हुन्छ भने किन बिदेशिने ?’ तर, राज्यले युवाहरुको लागि सहज बजार व्यवस्थापन हुने हो भने युवाहरुलाई यहीँ नै राम्रो कमाई हुने दाबी गर्छन् ।
गाउँघर, परिवारसँग बसेर आफ्नै देशमा पौरख खर्चिने सोच राखेका उनले चारजनाको परिवार यही पेशाबाट चलाइरहेका छन् । ‘अरु खासै केही गर्दिन् । खेतीपाती छ । चानचुन ७० वटा खसीबोका छन् । यसैले चलेको छ ।’ उनी भन्छन् । २५ वर्ष अघि बुबाले सुरु गर्दा ५ वटा बाख्राबाट सुरु गरेको उनी बताउँछन् । कुनै बेला १५० वटासम्म बाख्रा पुर्याएका उनको बुबाको पुख्र्यौली पेशालाई नै उनले व्यवसायिकता दिने सोच राखेका हुन् । देशले दशैंतिहारको बेला ६ करोडसम्मको खसीबोका आयत गरेको सुन्दा उनको मन नराम्ररी कुडिन्छ । त्यसलाई अन्त्य गर्नको लागि पनि राज्यले युवाहरुमा लगानी गर्नु पर्ने तर्क उनको छ । राज्यलाई खसीबोकामा केही प्रतिशत आत्मनिर्भर बनाउनु उनी अहिले पाइला चालिरहेका छन् ।