धरान/तीनवर्ष अघि धान खेत मासेर अढाई कठ्ठामा माछा पोखरी खनिरहँदा झापा गरामनी–९ फेसबुक चोकका बिशाल राईलाई धेरैले ‘यो सकिने भयो’ भनेर कटाक्ष गरे ।

तर, आज राईको प्रगति देखेर माछा पोखरी खन्नेहरु छिमेकमै ६ घर भन्दा बढी भइसकेका छन् । ती कटाक्ष गर्ने गाउँलेहरु नै उनको प्रगति अघि अहिले नतमस्तक छन् । उनले अढाई कठ्ठा खेतको पोखरीमा दुई हजार केजी भन्दा बढी माछा वार्षिक रुपमा उत्पादन गर्ने गरेका छन् । गतवर्ष मात्रै ३३ लाख रुपैया माछाबाट आम्दानी गरे ।
बिशाल कृषि फार्म खोलेर २०७१ पुष १९ गतेबाट कृषि पेशामा होमिएका राईले सुरुमा ७० हजार रुपैयाको लगानीमा ८ वटा बंगुरबाट कृषि फर्म सञ्चालन गरेका थिए । तर, एकवर्ष नबित्दै भूकम्प तथा भारतले बंगुर निर्यातमा अंकुश लगाइदिएपछि उनको व्यवसायले पनि फड्को मार्न सकेन । तर, ६ महिना पछि खनेको दुईवटा पोखरीको माछाले उनलाई स्थापित गरिदियो ।
अहिले उनले ५ वटा पोखरी खनिसकेका छन् भने जग्गा लिजमा लिएर २ वटा पोखरी थपेका छन् । ‘माछाबाट चाही आम्दानी राम्रो भयो ।’ उनी विगतको अनुभव सुनाउँदै भन्छन्, ‘माछामा राम्रो देखेपछि अहिले ७ वटा पोखरी खनिसकेको छु ।’ उनले बंगुर फर्ममा पनि आधुनिक माछा पोखरी बनाएका छन् । जसबाट चारसय केजी माछा उत्पादनसमेत गरिसकेका छन् ।
व्यवस्थापन संकायमा स्नात्तकसम्म अध्ययन गरेका २६ वर्षीय राई उमेरमा छाती नपाए । भर्तीका लागि तीनपटक ट्राई मारे । दुईपटक पोखरा पुगे । ‘किशान हुन लेखेको रहेछ । अनी कहाँबाट भर्तीमा लागिने रहेछ र ।’ उनले ठट्यौली पारामा भने, ‘भर्ती नभएकोमा अहिले गर्व लागेको छ । भर्ती भएको भए अन्य लाहुरेले जस्तै दुईतीन तले घर बनाउँथे होला । बस्थे होला । एक्लो ज्यानले कमाएको धेरैले खान्थे होला ।’
तर, अहिले उनको ५ जना परिवारलेसमेत यही पेशा व्यवसायमा साथ दिएका छन् । र, थप ६ जनालाई प्रत्यक्ष रोजगार दिन सफल छन् । माछा पालनका साथमा उनले अर्गानिक खेती पनि गर्छन् । कृषिलाई आधुनिकिरण गर्नुपर्छ भन्ने सोच राख्ने यी युवालाई पढ्ने समयमा साथीभाइले कृषकको छोरा भनेपछि दोस्रो दर्जाको मानवको रुपमा हेरेका थिए । ‘सहरिया साथीहरुले कृषकको छोरा भनेपछि दोस्रो दर्जाको मानवजस्तो हेर्थे । किशान पेशा चाही गरिव्ले गर्ने र नपढेकोले मात्रै गर्ने हो भन्ने सोच थियो ।’ उनी विगतको तितो अनुभव पोख्छन्, ‘त्यही सोचलाई परिवर्तन गर्नुपर्छ र प्रमाणित गरेर देखाउनुपर्छ भनेर पनि यो पेशामा आवद्ध भएँ ।’
तीन वर्ष अघिसम्म उनको घरमा परम्परागत खेती प्रणाली नै अपनाइन्थ्यो । उनले पनि त्यही गरे । तर, भर्तीमा नलागेपछि उनले आधुनिक कृषि प्रणाली अपनाउनु पर्छ भन्ने सोचेरै यसमा केन्द्रित भएको बताउँछन् । भन्छन्, ‘एक विगाहा खेतमा वर्षमा मरेर ६० मन धान फल्थ्यो होला । अढाई कठ्ठामा लगाएको माछाले नै जित्छ ।’ आधुनिक कृषि गर्ने क्रममा उनी देशको ५९ वटा जिल्लाहरुमा घुमिसकेका छन् । यहीँ नोभेम्बरमा माछा पालन बारे ज्ञान लिन थाइल्याण्ड जाँदै छन् । उनले सानो क्षेत्रफलमा धेरै माछा कसरी उत्पादन गर्ने भन्ने जानकारी लिन पनि त्यसतर्फ प्रस्थान गर्न लागेको बताए ।
उनले धानबाली भित्रै पनि माछा पालन गरेर देखाइदिएका छन् । १० धुरमा लगाएको धानबाली भित्र उनले ४ सय केजी माछा उत्पादन गरेर गाउँलेलाई चकित बनाइदिएका छन् । भन्छन्, ‘हुँदैन, भनेर गरेन् भने हुँदैन, तर, हिम्मत हार्नुहुदैन । माछामा भविश्य छ । यो जुनसुकै पेशा, धर्म, जातजातिका मानिसहरुले पनि खान्छन् । हिमाल पहाड तराई जता पनि बिक्छ । सम्भावना धेरै छ ।’ उनी कृषकहरुलाई माछा पालन गर्न सुझाउँछन् । ७० हजार रुपैया लगानीबाट सुरु गरेका उनको व्यवसाय अहिले एक करोड १० लाखको हाराहारीमा पुगिसकेको छ ।
त्यसो त, उनले माछा पालनको लागि पोखरी खन्दा झण्डै ६० लाख रुपैया खर्चिए । व्यवस्थित माछा पालनसँगै उनले होटलसमेत सञ्चालन गरेका छन् । माछा खान आउने ग्राहक हुन् वा किन्न आउने ग्राहक हुन् उनीहरुलाई त्यो सुविधा पनि दिएका छन् । त्यस्तै आरविल एक्युरिम हाउृससमेत सञ्चालनमा ल्याएका छन् । उनले नेपालमै एक्युरिममा लाग्ने माछाहरु उत्पादन गर्ने सोचमा छन् । राज्यले साथ दिने हो भने उनको एउटै सोच छ ‘कृषि प्रधान देश’ लाई नारा मा हैन, आर्थिक रुपमा पनि माथि उठाउनुपर्छ र आधुनिकीकरण पनि गर्नुपर्छ ।
माछाको बजारलाई आन्तरिक बजारमा मात्रै हैन, विश्व बजारमा पु¥याउनको लागि राज्यले पनि साथ दिनु पर्ने उनी बताउँछन् । विदेश जाने युवाहरुलाई उनको सुझाव छ, ‘२५ हजार रुपैया कमाउन विदेश जानु पर्दैन । प्रत्येकले ८ घण्टा मात्रै काम ग¥यो भने काफी हुन्छ । तर, उत्पादनमुलक काममा लाग्नुपर्छ ।’ उनी राज्यबाट धेरै अपेक्षा गर्दैनन् । केवल बजारलाई स्थायित्व बनाइदिने हो भने धेरै विदेशिएका युवाहरु नेपालमै केही रोजगार गरेर बस्न सक्छन् । ‘बजारलाई सधै ‘स्टेवल’ बनाइदिने हो भने युवाको भविश्य यही छ ।’ उनी भन्छन् । राज्यले अनुदान दिने कुरामा पनि उनले लगनशील, मेहनती र काम गरिरहेकाहरुलाई दिए मात्रै सही सदुपयोग हुने बताउँछन् । ‘पार्टीवाद हावी भएर विग्रिएको छ । जसले कामै गरेको छैन् । उसैले अनुदान खाइरहेको छ हाम्रो देशमा ।’ उनी भन्छन् ।
यही काम गरेकै कारण हुन सक्छ, विशाललाई ‘युवा तथा खेलकुद मन्त्रालय’ ले गत साउन २८ गते विश्व युवा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट राष्ट्रिय युवा प्रतिभा सम्मानसमेत हात पारेका छन् । जसले गर्दा कटाक्ष गर्ने छिमेकीहरु पनि अहिले उनको कामप्रति लज्जित छन् ।