मानव समाजमा परापूर्व कालदेखि नै गहनाको प्रयोग हुँदै आएको पाइन्छ । मानिसको बाहिरी सौन्दर्य कायम गर्न गहनाको महत्त्वपूर्ण भूमिका हुन्छ । धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि गहनाको आफ्नै महत्त्व हुन्छ । महिलाहरूले गहनाको प्रयोग बढी गर्छन् । सबैजसो महिला आफू सजिन विभिन्न प्रकारका गहना पहिरिन्छन् । गहना धेरै समयसम्म प्रयोग गर्दा अथवा पुरानो हुँदा फोहोर तथा नराम्रो देखिन सक्छ । त्यस्तो बेलामा गहना निर्माणका लागि प्रयोग भएकोे कच्चापदार्थलाई दोष दिने गरिन्छ । गहनाको चमक कायम राख्न सुरक्षितसँग भण्डारण गर्नुपर्छ । धूलो, धूँवा र अन्य धातुहरूको सम्पर्कले पनि गहना मैलो हुन सक्छ । राम्रो हेरचाह गरी सुरक्षित ढङ्गले राख्न सकेमा लामो समयसम्म पनि यसको चमक रहन्छ ।
गहनालाई भण्डारण गर्दा पनि आकर्षक र सुन्दर देखाएर राख्न सकिन्छ । त्यसका लागि भण्डारणका विभिन्न उपाय अपनाउन सकिन्छ । गहना राख्दा सावधानी अपनाउन भने जरुरी छ । अन्यथा, गहना बिग्रन सक्ने सम्भावना रहन्छ । गहनाको प्रकृतिअनुसार छुट्टाछुट्टै स्टोर गर्न सकिन्छ । एयररिङ, औंठी, नेकलेस, चेनजस्ता गहनालाई छुट्ट्याएर राख्नुपर्छ ।
हार र नेकलेस विभिन्न प्रकारको नेकलेस वा हार एकै ठाउँमा राख्दा बिग्रने सम्भावना हुन्छ । विशेष प्रकारको स्ट्याण्ड बनाएर राख्दा यस्तो समस्याबाट बच्न सकिन्छ । नेकलेस लामो हुने हुँदा अल्झेर चुडिन नदिन कुण्डली बनाएर बट्टामा राख्न सकिन्छ । त्यसैगरी, बलियो खालको नेक्लेस भएमा झुन्ड्याएर राख्दा उपयुक्त हुन्छ ।
साना गहना साना खालका गहना ज्यादै कमजोर हुने भएकाले त्यसलाई सावधानीपूर्वक राख्न आवश्यक छ । यस्ता गहनालाई सुती अथवा मखमलको डिब्बामा राख्नुपर्छ । गहनामा घर्षण हुन नदिन र त्यसबाट हुने नोक्सानबाट बच्न यस्तो उपाय अपनाउनु आवश्यक छ ।
चुरा चुरालाई त्यसको प्रकार, जस्तै– शिशा, प्लाष्टिक, सुन, चाँदीअनुसार स्टोर गरेर राख्नुपर्छ । धेरै खण्ड भएको एउटै डिब्बामा त्यसलाई राम्रोसँग राखेर स्टोर गर्न सकिन्छ । त्यसरी राख्दा गहना धेरै टिकाउ हुन्छ ।
झुम्का कानमा लगाउने सानो वा ठूलो दुवै प्रकारको झुम्कालाई पनि उपयुक्त तरीकाले स्टोर गर्नुपर्छ । यसलाई राम्रो डिजाइनमा अड्काएर अथवा बट्टामा राख्न सकिन्छ ।
औंठी, ब्रासलेट र अन्य यस्ता प्रकारका गहनालाई पनि बट्टामा हालेर राख्न सकिन्छ । घरमा उपलब्ध भएका सामान प्रयोग गरेर पनि यस्ता गहना सुरक्षित राख्न सकिन्छ ।
मोतीका गहना मोतीका गहना भण्डारण गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । पसिना र अन्य कारणले मोती छिटै बिग्रन सक्ने भएकाले बढी सतर्कता अपनाउनुपर्छ । यसको प्रयोग गरेपछि कपडा वा पेपरले पुछेर राख्नुपर्छ ।