धरान/दुईपटक विदेश बसाईपछि फर्किएका धरान–१५ का ज्ञानेन्द्र बस्नेत हाल जनप्रतिनिधि कृषक बनेका छन् । दोस्रो चरणको निर्वाचनबाट निर्वाचित बनेका बस्नेत २०६३ सालदेखि निरन्तर कृषिकर्ममा व्यस्त छन् ।
[caption id="attachment_56785" align="alignnone" width="848"]
तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
धरान–१५ आडालाइन आफ्नै घरमा २ सय बोइलर कुखुरा पाल्न थालेका बस्नेत २०७३ सालदेखि कुखुरामा व्यवसायिक बनेका छन् । धरान–४ खैरनीमा ५ कठ्ठा जग्गा लिजमा लिएर कुखुरा फर्म सञ्चालन गरेका छन् । २०६३ सालमा सुरु गर्दा उनको उद्देश्य दुईवटा थियो । एउटा आत्मनिर्भर बन्ने, अर्को घरमा भएको गोबरग्यासलाई थप व्यवस्थित गर्ने । कुखुराको सुलीबाट ‘बायो ग्यास’ उत्पादन थप सहज हुने सुनेपछि उनले बोइलर हालेका थिए । त्यो बेलामा ३० हजार रुपैया खर्चेर थालेको आत्मनिर्भरमूखी व्यवसायलाई हाल व्यवसायिक बनाइसकेका छन् ।
कृषिकर्म गर्नु अघि दुईपटक सामान्य मानिस झै अरब भूमि कतार र दुबई हानिए । त्यहाँ ८ वर्ष बिताए । हाउस वायरिङमा गएकाले अन्य नेपाली भन्दा उनलाई केही सहज थियो । २०५३ सालमा कतार पुगे । चारवर्ष बसे । त्यहाँबाट फर्किएपछि पुनः दुबई गए । त्यहाँ पनि चारवर्ष बसेपछि उनी फर्किएका त्यसपछि नेपालमै केही गरेर बस्ने सोचले कुखुरा पालनमा हात हालेका थिए । अहिले निरन्तर त्यसैमा तल्लिन छन् । विदेशबाट फर्किएपछि राजनीतिलाई पनि निरन्तरता दिए । जसको परिणाम अहिले उनी धरान–१५ बाट निर्वाचित सदस्यका रुपमा छन् । एमालेबाट सदस्य बनेका अहिले धरान–१५ बासीको सदस्य हुन् । विदेशबाट फर्किएप्छि पार्टीमा वडा कमिटी सदस्यदेखि वडा सचिवसम्म चलाउँदै अहिले यो स्थानमा छन् ।
पार्टीसँगै जीवन सहज चलाउनको लागि उनले कुखुरा पालन व्यवसायलाई निरन्तरता दिएको बताउँछन् । भन्छन्, ‘पार्टी भनेको समाज बदल्नको लागि हो । कुखुरा पालन दैनिक जीवन चलाउनको लागि हो ।’ अहिले कुखुरामै उनले ६ लाख भन्दा बढी लगानी लगाइसकेका छन् । उनले २ सयबाट बढाएर अहिले एक हजार पालेका छन् । ‘एक हजार चल्ला उत्पादन गर्ने खोर निर्माण गरेको छु । एक हजार पालनको लागि एक खोर बनाएको छु ।’ जसबाट उनी मासिक ५० हजार रुपैया भन्दा बढी कमाउँछन् । तर, बजार भाउँ व्यापारीहरुले तोकिदिने कारण कृषकहरु मारमा पर्ने गरेको बताउँछन् । सरकारले नै मूल्य तोकिदिने हो भने कुखुरा पालन व्यवसाय धेरैको लागि आर्कषणको केन्द्र बन्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारले नै मूल्य तोक्नुपर्छ । तर, यहाँ व्यापारीहरुले तोकिदिने गरेका छन् ।’ त्यही भएर पनि बजार भाउ एकनासको नहुने कारण कहिले घाटा र कहिले नाफा बेहोर्नु पर्ने उनी बताउँछन् । भन्छन्, ‘जहिल्यै नाफा हुन्छ भन्ने छैन्, बजार भाउँ एकनासको हुदैन कहिले माथि हुन्छ कहिले तल ।’
सरकारले किशानहरुलाई सहुलियत दिनु भन्दा पनि भारतीय बजारहरुबाट आउने बोइलर कुखुराहरु पूर्ण रुपमा बन्देज लगाउन सके बोइलर कुखुरा व्यवसाय मालामाल हुने दाबी उनको छ । उनी कुखुरासँगै सब्जी खेती गर्ने सोचमा छन् । तर, कामदार नपाएका कारण हैरान छन् । हाल उनले २ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । जसलाई मासिक साढे १२ हजार रुपैया र बस्नको सुविधा उपलब्ध गराएका छन् । विदेशको खटाई र यहाँको खटाईको अनुभव साट्दै भन्छन्, ‘यहाँ आफ्नो परिवारसँग काम गर्न पाइन्छ । त्यहाँ अर्काको खटनमा काम गर्नुपर्छ ।’ युवाहरुलाई स्वरोजगार बनाउनको लागि राज्य नै लाग्नु पर्ने अन्यथा युवाहरु विदेश जाने लहर कम नहुने उनले बताए ।