धरान/बर्खाले ‘कच्ची सडक सञ्जाल’ भएको पूर्वी पहाडी जिल्लाहरुमा पुग्न सवारी साधनले मात्रै हैन, यात्रुहरुले पनि उस्तै गरी सास्ती खेप्ने गरेका छन् । यो वर्ष निरन्तर मनसुन भइरहँदा पहिरो जाने र पानी जमेका कारण सवारी गन्तव्यमा पुग्न नसक्दा दशैंमा घर फर्किएका यात्रीहरुले सास्ती खेप्नु परेको हो । यातायात व्यवसायी प्रेमप्रसाद भट्टराईले वर्षाका कारण सडक हिलो हुँदा कुनै पनि सवारीहरु गन्तव्यमा पुग्न नसकेको बताए । जसका कारण यात्रुहरु निश्चित गन्तव्यमा पुग्नका लागि पैदल हिड्नु पर्ने बाध्यता छ । नेपालको सडक सञ्जालको अवस्थालाई हेर्ने हो भने आर्थिक वर्ष २०७०/०७१ को अन्त्य सम्ममा सडक विभाग मार्फत कालो पत्रे १० हजार ८ सय १० किलोमिटर, खण्डास्मित ६ हजार ७६ किलोमिटर र कच्ची ८ हजार ७ सय १३ किलोमिटर बिस्तार गरी कुल २५ हजार ५ सय ९९ किलोमिटर पुगेको छ । तर, त्यही वर्षको अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणका आधारमा आव ०७०/०७१ को आठ महिनामा सवारी आयात १ लाख ३० हजार देखिन्छ भने सडक निर्माण जम्मा ६ सय २१ किलोमिटर मात्रै बनेको देखिन्छ । यो तथ्याङ्कबाटै पनि नेपालको सडक विस्तारको अवस्थालाई चित्रित गर्दछ । अहिले पूर्वी पहाडी जिल्ला धनकुटा, हिले, तेह्रथुम, बसन्तपुर, लसुने, शुक्रबारे, भोजपुर, संखुवासभा पुग्ने सडकहरु दुराबस्था रहेको पहाडी रुटमा गाडी चलाउने चालक विष्णुबहादुर राई बताउँछन् । उनका अनुसार कुनै पनि सवारीहरु गन्तव्यमा पुग्न सकेका छैनन् । ‘बिचमै यात्रुहरु ओराल्नु पर्ने अवस्था छ ।’ उनी भन्छन् । चाडपर्वका बेला यात्रुको चाँप बढे पनि सवारीहरुको संख्या नबढ्दा यात्रुहरु कोचिएर जानु पर्ने अवस्था रहेको तेह्रथुमको सुक्रबारे हिडेका मोहनकुमार तुम्खेवाले बताए । उनले भने, ‘कोचिएर जानुपर्छ । त्यही पनि बर्खाले गर्दा गाडी शुक्रबारे पुग्दैन ।’ चालकहरुले जोखिम मोलेर गाडी चलाइरहेको यात्रुहरु स्वयम बताउँछन् । शुक्रबारे हिडेका डिल्लीबहादुर बस्नेत भन्छन्, ‘सडक हिलो छ । कुनै गाडी टुंगोमा पुग्दैनन् । घर जान हिड्नु पर्छ ।’ उनका अनुसार दशैंका कारण यात्रुहरुको चापले गर्दा सिट नपाइने समस्या उस्तै रहेको छ । पूर्वको विभिन्न क्षेत्रबाट पूर्वी पहाडी जिल्ला संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटामा करिव दैनिक १८० देखि १९० गाडीहरु आवतजावत हुने गरेको यातायात व्यवसायी सरोज श्रेष्ठ बताउँछन् । जसमा साना ठूला गरी पहाडी रुटमा चल्ने सवारीहरुको सख्या करिव ३५० रहेको छ । धरानबाट मात्रै दैनिक बिहान ६५ वटा गाडीहरुको दशैंको बेला क्यु (लाइन) लाग्ने गरेको छ । ‘गाडी जर्वजस्ती लिएर गइरहेको छ । कुनै पनि गाडीहरु गन्तव्यमा पुग्दैननन् । टुंगोमा नपुग्दा यात्रुहरुको विजोग भएको छ ।’ उनले भने । सरकारले समयमा स्थायी समाधान नर्गदा पूर्वी पहाडी जिल्लाको गाउँगाउँ पुग्ने सवारीहरु अहिले पुग्न सकेका छैनन् । जसले गर्दा यात्रुहरुलाई नै सास्ती हुने गरेको छ । दशैंका कारण यात्रुहरुको चाप बढेकाले पनि कच्ची सडकहरु थप बिग्रने गरेको छ । सम्बन्धित निकायको ध्यान नपुग्दा पनि पूर्वी पहाडी जिल्लाको करिव ६ सय किलोमिटर भन्दा बढी सडक सञ्जालमा जोखिम मोलेर सवारीहरु गुड्न बाध्य भएको यातायात व्यवसायीहरु बताउँछन् । यस्तो बेलामा थप ट्राफिकहरुले दुःख दिने गरेको आरोप लगाउँछन् । हर्न निषेधितका कारण पहाडी जिल्लामा सवारी चलाउन समस्या भएको चालक राईको भनाइ छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इनिस्पेक्टर इन्द्रप्रसाद सुवेदीले आकस्मिक अवस्था र कुइनेटोहरुमा हर्न बजाउन पाउने व्यवस्था रहेको बताउँदै भन्छन्, ‘उनीहरुले नबुझेका मात्रै हुन् । अनावश्यक हर्नलाई रोक्ने प्रयास हो ।’ सडक मर्मत तथा विस्तारलाई ट्राफिक प्रहरीले सम्बोधन गर्न नसक्ने र उक्त कार्य राज्यबाटै हुनु पर्ने उनले बताए ।