धरान/स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै जनताको विकासे अपेक्षा पनि बाक्लिएको छ । उक्त विकासे अपेक्षा बाक्लिनुमा दोष राजनीतिक दलहरु कै छ ।

भोट माग्ने बेलामा यो ठाउँमा यतिदिन भित्र बिकास गरिदिन्छु भन्दै गरेको प्रतिवद्धताहरु अहिले जनताले भुलेका छैनन् । त्यही प्रतिवद्धतालाई पछ्याउन जनता लागि परेका छन् । धरानमा पछिल्लो समय जोडिएको पाँककन्याका केही क्षेत्रहरु अहिले पनि दुरदराज झै लाग्दछन् । जहाँ विकासका रेखाहरु भर्खरै कोरिदै छन् । देउरालीकी मनिता खत्रीले भनिन्, ‘ढल बन्दै थियो । त्यो पनि अहिले त्यसै छाडिएको छ । पिच बने त सबैलाई राम्रो हुन्थ्यो । तर, के होला र ।’
उनको आशङ्का जननिर्वाचित जनप्रतिनिधिप्रति पनि हो । किनकी धरान–१५ सेउती खोला वारीपट्टीसम्म पक्की सडक छ । तर, पारीपट्टी कच्ची सडक छ । जहाँ बर्खाको समयमा आवागमनसमेत मुस्किलले हुने गरेको छ । यहाँका जनताले चाडै जनप्रतिनिधिहरुले विकासको मूल फुटाओस् भन्ने अपेक्षा राख्छन् । धरान–५ देउरालीका राजकुमार घतानीले धरान जस्तै पक्की सडक भए हामीजस्ता चालकहरुको लागि सहज हुने बताउँछन् ।
भन्छन्, ‘सेउतीको बाढीले सडक नै बिगारेपछि अहिले बगरकोटको बाटो भएर घुम्नु परेको छ । बाटो त्यस्तै असजिलो छ । पीच भइदिए राम्रो हुन्थ्यो ।’ पाँचकन्याका अधिकांस क्षेत्रमा कच्ची सडकहरु छन् । धरानमा जम्मा
७२ दशमलव ४३७ किलोमिटर कालोपत्रे रहेको छ । त्यस्तै २५ दशमलव ९४८ ग्राभेल सडक र ९० दशलमव १३० किलोमिटर कच्ची सडक रहेको छ । जहाँ मोटर भने पुग्छ । जुन सडक पूर्ण निर्माण गरीसक्न धरान उपमहानगरलाई वर्षौ लाग्ने देखिन्छ । उवडखावडमा हिड्दा सवारीहरु चाडै मर्मत गरिरहनु पर्ने घतानी बताउँछन् ।
सडक निर्माण उनीहरुको प्राथमिकतामा छ । किनकी उनीहरुलाई निर्वाचन ताका जनप्रतिनिधिहरुले पनि सडक, ढल तथा खानेपानी लगायतमा विकास गरिदिने भन्दै विकासे नाराहरु दिएका थिए । तर, त्यो नारामै सिमित होला कि भन्ने डर पनि उनीहरुमा छ । देउरालीका रमेश राई भन्छन्, ‘खैँ अस्तीदेखि सडक, पुल बाढीले बगाएको त बनेको छैन् । खोला किनारमा बस्नेहरुको विजोग छ । त्यतातिर पनि ध्यान पुगेको छैन् ।’
यता सडकमा के ध्यान देलान र ? यस्तै जिज्ञासा छ उनको । तर, पनि मूल सडक पीच भइदिए आवतजावतमा पनि सहज हुने उनी बताउँछन् ।