शेयरबजारमा भइरहेको झेललाई नियामक निकायहरूले के राम्रैसँग निगरानी गरिरहेका छन् त ? अहिलेको समय भनेको शेयरले उचाइ लिने समय हो । तर, जुन हिसाबमा शेयर कारोबार र शेयरमूल्यमा हरियाली छाउनुपथ्र्यो, के त्यसै हिसाबमा गइरहेको छ त? अवश्य पनि छैन । किन त ? पहिलो कुरा हामीले जतिसुकै ठूलो कुरा गरे पनि हाम्रो शेयरबजार भर्खर ताते ताते गरेर हिँड्न थालेको छ । यस्तो अवस्थामा जसले हात समाउनुपर्ने हो उसैले हात छोडिदियो भने जतासुकै गएर ठोक्किन वा लड्न सक्छ । यसले गर्दा लडेर वा ठोक्किएर ठूलै दुर्घटना हुन वा साधारण चोटपटक मात्रै पनि लाग्ने हुन सक्छ । तर, हामीकहाँ रहेका नियामक निकाय के यो दुर्घटना हुनबाट रोक्न सक्षम छ त रु अवश्य छैन । किनभने यहाँ एक त सक्षम जनशक्ति नै छैन ।

अर्को कुरा भएका सक्षम जनशक्ति पनि भाग शान्तिको राजनीतिले उक्त ठाउँमा पुग्ने मौका नै पाउँदैनन् । किनभने शीप भएको मानिस कसैकहाँ गएर हात फैलाउन चाहँदैन । यहाँ त हात फैलाउने मात्रै होइन ब्रिफकेस नै बोक्नुपर्छ भन्ने सुन्न पाइन्छ । त्यो पनि प्रहरी जस्तो जिम्मेवार निकायमा पनि त्यस्तै रहेको सुनिन्छ । झन् त्यसमाथि केही दिन मात्र पद बाँकी रहेको प्रधान न्यायाधीशलाई समेत महाअभियोग प्रस्ताव पेस गरेको हामी सबैले देखेकै हो । त्यसैले हाम्रो बजार त्यसका लागि मात्र ठीक छ, जो दैनिक ब्रोकरकहाँ गएर त्यहाँको गतिविधि नियालेर बसिरहन सक्छ । त्यस्ता व्यक्तिहरू २०/५० हजार लगानी गरेर हप्तामा २/४ हजार मात्रै नाफा भए पनि आफूसँग भएको शेयर बेच्न थाल्छन् र आफै हल्ला पनि चलाउन थाल्छन्, लौ बजार घट्न थाल्यो है भनेर । यस्तो हल्ला फैलिएपछि भर्खर बजार प्रवेश गरेका लगानीकर्ताहरू पनि आत्तिएर शेयर बेच्न थाल्छन् । अझ बैङ्कबाट ऋण लगानी गरिएको छ भने त धेरै नोक्सानी बेहोर्न पर्ने आशङ्काले र बैङ्कको ब्याजको पनि डरले बेच्न बाध्य हुन्छन् । यसले गर्दा यससम्बन्धी जानकार, तर थोरै पूँजीले केही गरौंला भन्ने सोच भएका व्यक्तिहरू पनि डराउन बाध्य हुन्छन् । किनकि उनीहरूसँग पनि विकल्प हुँदैन ।

बजारमा भएका संस्थागत लगानीकर्ताहरू यस्तै समयको पर्खाइमा हुन्छन् र उनीहरूचाहिँ खरीद गर्न थाल्छन् । किनभने उनीहरूसँग सूचनाको पहुँच पनि राम्रो हुन्छ र उनीहरूले एकैपल्ट धेरै शेयर उठाउने भएकाले उनीहरूले शेयर खरीद गरिसकेपछि पुनः बजारको भाउ उकालो लाग्न थाल्छ । चाँडै र सजिलै पैसा कमाउँछु भन्ने अहिलेका युवा, जो आफ्नो कमाइमा नभई बाबुआमाको सम्पत्तिमा लगानी गरेर कमाउने मनस्थितिका हुन्छन्, उनीहरू यस्तो समयमा बजारमा प्रवेश गर्छन् । एकातिर लगनशीलता र मेहनत गर्ने व्यक्ति हुन्छन् भने अर्कोतिर बाबुआमाको सम्पत्तिमा लगानी गरेर एकैचोटि धेरै कमाउने मनस्थितिका र सूचनाको पहुँच पनि राम्रो भएको र एकैपटक धेरै खरीद विक्री गर्न सक्ने संस्थागत लगानीकर्ता जोसँग अनुभव र ज्ञान पनि हुन्छ, उनीहरूसँग कुर्न सक्ने क्षमता पनि हुन्छ । यहाँनेर आएर ज्ञानले भन्दा सूचनाको पहुँचले काम गर्छ र कमाउने पनि तिनै हुन्छन् ।

शेयरबजारमा एकथरी यस्ता पनि लगानीकर्ता छन्, जो कुनै कम्पनीले हकप्रदका लागि सेवोनमा निवेदन दियो रे भन्नेबित्तिकै त्यो शेयरको पछि लागिहाल्छन् । उनीहरू यो कुराको ख्याल पनि गर्दैनन् कि उसको प्रस्ताव स्वीकृत हुन्छ कि हुँदैन । यदि स्वीकृत भयो भने कति समयमा हुन्छ ? यस्ता व्यक्तिहरू शेयर कारोबारमा संलग्न भएपछि बजारको नियम जान्ने अनुभवी सूचनाको पहुँच भएकाले आफ्नो चाल चल्छन् र झेल हुन जान्छ । हो, नियमनकर्ता दरिलो भएको भए कसैले खेल्ने मौका पाउँदैनथे र बजार आफ्नै गतिमा अघि बढ्थ्यो । तर, यहाँ त नियामक निकायले बुझ्दाबुझ्दै पनि थाहा नपाएझैं गरेर बसेको देखिएको छ ।

केही दिनअघि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालय डिष्टिलरी लिमिटेड, नेशनल माइक्रोफाइनान्स लिमिटेडलगायत कम्पनीको शेयर भाउ अस्वाभाविक रूपमा बढेको पाइएको छ । यी कम्पनीको मूल्य १ हजार २ सयदेखि २ हजार २ सयसम्म बढ्दा पनि न जनतालाई कुनै सूचना दिइएको छ, न त कारबाही नै गरिएको छ । नियामक निकायको यो मौनतालाई शेयरबजारमा झेल नभनेर के भन्ने रु हो कुनै सजग लगानीकर्ताले गएर सोध्यो भने हामी सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौं र त्यस्तो केही पाइएमा कारबाही गर्छौं भन्ने प्रतिक्रिया पाइन्छ । उनीहरूले यो सूक्ष्म अध्ययन गरुन्जेलमा कसैको सर्वस्व गयो भने किन वास्तविकता नबुझी लगानी गरेको त भनेर जवाफ दिए भइहाल्यो । अर्को एउटा उदाहरण यस्तो पनि छ नेपालमा संवैधानिक पद धारण गरेका व्यक्तिलाई बैङ्क सञ्चालक बन्न रोक लगाइएको छ । तर, हालका सञ्चार मन्त्री एनसीसी बैङ्कको सञ्चालक छन् । तर, उनलाई नियामक निकाय राष्ट्र बैङ्कले कारबाही गर्ने आँट गर्न सकेको छैन भने मन्त्रीले पनि नैतिकताका आधारमा उक्त पदमा बस्नु हुँदैनथ्यो । तर, न उनी नैतिकता देखाउँछन् न त राष्ट्र बैङ्क उनलाई कारबाही गर्छ । यसलाई के भन्ने ?

अझ यो वर्ष त केही बैङ्कले आफ्नो सूचकाङ्क नै गलत देखाएका छन् । जानीजानी हो वा उनीहरूको प्रतिशेयर आम्दानी निकाल्ने तरीका नै भिन्नै हो । यदि भिन्दै तरीका अपनाएको हो भने हामीले यो विधिबाट निकालेको हो है भनेर नियामक निकायका साथै सर्वसाधारणलाई पनि जानकारी दिनुपथ्र्यो । नियामक निकायको मौनताले गर्दा नियामक निकायलाई चाहिँ जानकारी गराएर सर्वसाधारणलाई चाहिँ जानकारी नगराएको हो कि ? त्यसो हो भने पनि यो कुरा गलत हो । किनभने सर्वसाधारणलाई पनि जानकारी गराउनु सम्बन्धित संस्थाको कर्तव्य हो । झन् त्यसमाथि नियामक निकायसमेत मौन रहनु भनेको अर्को आश्चर्यको विषय बनेको छ । त्यसैले हामीजस्तो सर्वसाधारणले शेयरमा पनि खेल भयो कि ? भनेर बुझ्नु स्वाभाविक होइन र ?