धरान/पूर्वी पहाडी जिल्लाको व्यापरिक हव ‘धरान’ किन दिनानुदिन महंगो सहरको रुपमा परिचित हुँदै छ ? अहिले आम उपभोक्ता तथा व्यापारीहरुको लागि पनि टाउँको दुखाईको विषय बनिरहेको छ । [caption id="attachment_53976" align="alignnone" width="1280"] तस्बिरः उपेन्द्र चाम्लिङ[/caption] कुनै बेला पूर्वी पहाडीलाई नुनदेखि सुनसम्म बेच्ने धरानको व्यापार दिन दुईगुणा रात चौगुणा ओरालो लागिरहेको छ । यहाँबाट धेरै व्यापारीहरु पलायन मात्रै भएका छैनन् । आफ्नो व्यापारको हिस्सा नै अन्यत्र पु¥याइसकेका छन् । व्यापारमा पूर्वी पहाडी जिल्लाको नामुद यो शहरले ‘महंगो शहर’ को नाम धारण गरिरहेको छ । आखिर किन त ? धरानका व्यापारी कृष्णकुमार अग्रवाल भन्छन्, ‘यहाँ लेवर कष्ट महंगो छ, घरभाडा दर महंगो छ ।’ महंगो हुनुको पछाडी व्यापारी र उपभोक्ताको पनि दोष देख्छन् अग्रवाल । थप्छन्, ‘व्यापारीहरुले फिक्स रेट राख्नुपर्छ भन्ने मान्यता छैन्, उनीहरुमा बार्गेनिङको आदत भइसक्यो ।’ उपभोक्ताको हकमा भने उनको विचार प्रष्ट छ । उनका अनुसार ग्राहकहरुमा क्षमता छ÷छैन थाहा छैन्, तर, आदत बनाइसकेका छन् । कसैलाई देखाउनको लागि पनि हामीमा क्षमता नभए पनि बढी मूल्य हालेर किन्न आदत बनिसकेको उनको ठहर छ । उनले भनेजस्तै घरबहाल, मजदुरहरुले लिने चर्को मूल्य बारे हामीले खोजतलास ग¥यौं । आखिर यही दुई कारण हो त धरान महंगो हुनुको । त्यति मात्रै हैन रहेछ, सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका यातायात व्यवसायी सरोज श्रेष्ठ भन्छन्, ‘सिधा ढुवानी नहुनु पनि धरानको अर्को विडम्बना हो ।’ कसरी ? अधिकांस सामान धरानमा काठमाडौंबाट आउने गर्छ । तेस्रो मुलुकबाट आउने ९९ प्रतिशत सामान काठमाडौंबाटै आउने हो । त्यो सामान सिधै धरान नआइ इटहरीसम्म आइपुग्छ त्यहाँबाट यहाँ ल्याउनको लागि थप ढुवानी गर्नुपर्ने हुन्छ । जसले गर्दा सामानको मूल्यमा केही थप व्ययभार पर्न जाने उनको भनाइ छ । त्यो सबै व्ययभार उपभोक्ताहरु मै लादिन्छ । तर, अर्थसास्त्री डा. राजेन्द्र शर्मा घरबहाल र ढुवानीलाई मान्दैनन् । इटहरी र धरानमा घरबहालमा खासै अन्तर छैन् । ‘ढुवानीको कुरा तर्कसंगत छैन्, र घरबहाल इटहरी भन्दा महंगो छ । निराधार तर्क हो ।’ मजदुरको हकमा धरान केही महंगो भएको कुरालाई उनी सहजै स्वीकार्छन् । र, व्यापारीहरु पनि मजदुरको कुरालाई पहिलो प्राथमिकतामै राखेर कुरा गर्छन् । डा. शर्माको तर्कमा धरानेहरुको शौख, आवश्यकता भन्दा बढी देखावटी खर्च गर्ने प्रवृति छ । बजार मनमौजी छ । बजार भाउ नियन्त्रण भन्दा बाहिर छ र जति पनि मूल्य हालेर किन्ने प्रवृति उपभोक्ताहरुमा छ । पर्यटन व्यवसायी बासुदेव बरालको तर्क केही भिन्न छ । उनी भन्छन्, ‘ब्रिटिस कल्चर हराएको छैन्, ब्रिटिस लाहुरेहरु गए पनि हात फुकाएर खर्च गर्ने संस्कार चाही अन्त्य अहिले पनि भएको छैन् ।’ उनले पनि उपभोक्तालाई नै दोष देखाए । जसको कारण पनि महंगो बजार हुन पुगेको छ धरान । उनका अनुसार बजार सानो छ, व्यापारीहरु धेरै छन् । बजार खुम्चियो, प्रतिस्पर्धा हुन पाएन् । जसको कारणले जो उपभोक्ता पसलमा ठोक्किन आइपुग्छ उसैबाट बढी मुनाफा लिने चलन बसिसकेको छ । जसले गर्दा पनि महंगो छ । फेसन बजार विदेशको फेशनहरु सिधै भित्रिने कारणले पनि धरान महंगो बनेको छ । नयाँ सामानको जति पनि मूल्य लिने प्रवृति धरानमा व्याप्त छ । कतिपय सामानमा चारगुणासम्म मूल्य लिने गरेको नाम नछाप्ने शर्तमा व्यापारीहरु नै बताउँछन् । उपभोक्ताहरु जति पनि तिर्न तयार हुने संस्कारका कारण धरान अत्यधिक महंगो बनेको डा. शर्मा बताउँछन् । उनी थप्छन्, ‘जो कमाउने हो उसले खर्च गर्दैन् । आश्रितहरुले जति पनि खर्च गर्न तयार हुन्छन् ।’ अव के गर्न सकिन्छ ? पर्यटन व्यवासायी बरालको भनाइमा सबै भन्दा पहिले बजार बढाउनुपर्छ । धरानको खुम्चिएको बजारलाई बढाएमा घरभाडा पनि कम हुन्छ । र, उपभोक्ताहरुलाई पनि कम मार पर्छ । व्यापारी अग्रवाल भने धरानले विदेशी बजारहरु जस्तै ‘निश्चित मूल्य’ तोक्नु पर्छ । त्यो नगरी धरानको बजारमा आम उपभोक्ता आएर किन्न सक्ने वातावरण सिर्जना हुँदैन् । धरानले उपभोक्ताहरुलाई विश्वास दिलाउने वातावरण सिर्जना नभएसम्म यहाँको बजार थप खस्किदै जाने उनको तर्क छ । ‘त्यसैले व्यापारीहरुले नै बेलैमा सोच्नुपर्छ ।’ उनी भन्छन्, ‘अर्को कुरा यहाँ ठूला–ठूला व्यापारिक संस्थाहरु जस्तै, बराह, भाटभटेनी, गोर्खा जस्ता सुपरमार्केटहरु अझै खुल्नुपर्छ । जसले गर्दा सुपथ मूल्यमा किन्ने वातावरण सिर्जना होस् ।’ र, मजदुरको मूल्य धरान, विराटनगर, इटहरीको बजारलाई हेरेर अनुपातमा राख्नुपर्छ । यस कुरालाई पूर्व उवा संघका पूर्व अध्यक्ष श्रेष्ठसमेत सहमत छन् । ‘फिक्स प्राइज सिस्टममा जान जरुरी छ ।’ उनी भन्छन्, ‘डिपार्टमेन्ट स्टोरहरु खुल्नुपर्छ ।’ डा. शर्माका अनुसार दिर्घकालीन व्यापारको लागि र पसलहरुको स्थायित्वको लागि पनि ‘निश्चित मूल्य तोकिनु’ एकमात्रै विकल्प हो ।