धरान/धरानमा मिनबहादुर बिश्वकर्मा जतिखेर बाणिज्य मन्त्रीमा नियुक्त हुँदै थिए । त्यही बेला धरानको कृषि उपज बजार स्थलमा ३ सय मेट्रिक टन अदुवा निकासी नपाएर गोदाममा थन्किएको थियो । जुलाई १ तारिखदेखि भारत निकासी ठप्प भएको थियो । किशान तथा व्यापारीहरुले पहल गर्नको लागि धरानबाट निर्वाचित सांसद कृष्णकुमार राई तथा बाणिज्य मन्त्रालयमा पत्र नै प्रेशित गरेका थिए । धरानबाट ९० प्रतिशत अदुवा भारत नै निकासी हुने गरेको कृषि उपज बजार स्थल जनाउँछ । स्थलमा रहेका ज्ञानु बस्नेत, विनोद थुलुङलगायत केही व्यपारीहरुको झण्डै २० ट्रक भन्दा बढी अदुवाहरु निकासी नपाएर गोदाममै कुहिने अवस्थामा पुगेका थिए । ‘केही कुहिए पनि ।’ थुलुङले भने । हरेक वर्ष कृषिजन्य बस्तु निकासीमा भारतले अंकुस लगाउँदा देशभरका कृषक तथा व्यपारीहरुले ठूलो मात्रामा घाटा बेहोर्नु परेको छ । यो पटक पनि लाखौं घाटा बेहोरेको व्यापारीहरु बताउँछन् । ‘अहिले पनि रोकिदै रोकिदै गइरहेको छ ।’ थुलुङले भने, ‘व्यवसाय नै धरापमा गइसक्यो ।’ भारतले १ जुलाईदेखि निकासी रोकेर एकैपटक १९ तारिखमा ५९ गाडीलाई प्रवेश अनुमति दियो । त्यसपछि २१ तारिखमा ९ गाडी, २६ मा १४ गाडी र २८ मा ५० गाडीको अनुमति दिएको व्यापारी बस्नेतले बताए । उनका अनुसार मंगलबार अन्तिम भनेको छ । त्यसपछि एकैपटक १२ दिनपछि मात्रै प्रवेशको लागि अनुमति दिने भनेर खबर पाएका छौं । कृषिजन्य बस्तुहरुको यस्तो अवस्था भइरहँदा धरानबाट मन्त्री बनेका बिकले समस्या समाधानको लागि भारतसँग दुईपक्षीय सम्झौता गर्ने बताएका छन् । ‘प्रमको भ्रमणमा सायद म आफै पनि उपस्थित हुन्छु होला त्यो बेला भारतसँग यो विषयमा कुरा उठाउने छु ।’ उनले मंगलबार धरानमा कृषि उपज बजार स्थलको अवलोकन भ्रमणपछि ज्ञापन पत्र बुझ्दै भने, ‘दुईपक्षीय सहमति सम्झौता गर्न हामी जान्छौं । यसका लागि ठूलो सम्झौता गरिरहनु पर्दैन ।’ उनले कृषि उपजबाट निकासी हुने बस्तुहरुको सूची बनाएर तत्कालै दिनको लागि आग्रह गर्दै कृषक र व्यापारीहरुले पनि आफ्नो उत्पादित बस्तुहरुको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । त्यसका लागि कृषकहरुलाई सचेतना कार्यक्रम गराउन आफू तयार रहेको बताए । ‘हाम्रो उत्पादन जे हो त्यो देखिने, गुणस्तरीय हुनुप¥यो ।’ उनले भने, ‘जस्तै बेसार, अदुवा, लसुन के हो त्यो प्रष्ट हुनुप¥यो । गुणस्तरीयतामा सम्झौता नगरौं, आग्रह गर्न चाहान्छु ।’ धरान कृषि उपज बजारबाट भारतमा प्रत्येक वर्ष ३० हजार मेट्रिक टन अर्थात् १ अर्व ३० करोड बराबरको कृषिजन्य बस्तुहरु निर्यात हुने गरेको व्यवस्थापक लक्ष्मण भट्टराईले जनाए । उनका अनुसार धरानबाट अदुवा, अम्रिसो, तेजपात, रिठा, अलैची, नासपाती, मजितो, सुन्तला, टमाटर, बन्दाकोपी, फुलकोपी, अकबरे खोर्सानी विशेष गरेर जाने गरेको छ । यो बजारबाट अदुवा मात्रै ९ हजार मेट्रिक टनको हाराहारीमा जाने गरेको छ भने ५ हजार अम्रिसो, ७ हजार तेजपात, १ हजार अलैची, एकहजार रिठा, ४ सय मजितो, ७ हजार बन्दाकोपीलगायत जाने गरेको कृषि उपज बजार स्थलले जनाएको छ । कृषिजन्य बस्तुको प्रचुर सम्भावना भए पनि सरकारले ध्यान नदिँदा समस्या सिर्जना हुने गरेको व्यापारीहरु बताउँछन् । त्यसका लागि राज्यको ध्यान कृषि उपज बस्तुलाई सहज निर्यातको व्यवस्था गर्नुपर्ने उनीहरुको माग गर्दै स्थलका अध्यक्ष काजी गिरीले मन्त्री बिकलाई ज्ञापन पत्र बुझाएका छन् ।