धरान/२०४८ सालदेखि धरानको भानुचौकमा पत्रिका बेच्दै आएका धरान–१७ का अर्जुन श्रेष्ठ पछिल्लो पाँचवर्ष यतादेखि ‘पत्रिकाको बिकाई दर’ देखेर दिक्क छन् । [caption id="attachment_50837" align="alignnone" width="960"] धरानकाे भानुचाैकमा पत्रिका बेच्दै । तस्बिरः उपेन्द्र चाम्लिङ[/caption] ‘यही रफ्तारमा पत्रिका बिक्री घट्दै गयो भने व्यवसाय करिव करिव छाड्नु पर्ने अवस्था हुन्छ ।’ पत्रिकाको बिकाई दर घटेको देखेर हतोत्साही हुँदै उनी भन्छन् । त्यसो त, कान्तिपुर पब्लिकेसनका मालिक कैलास सिरोहियाले पत्रिकाको स्थापना दिवसको अवसरमा गरिएको भव्य पार्टीमै यस्तो आसय व्यक्त गरेका थिए, ‘अवको १० वर्षपछि पत्रिकाको भविश्य देखेको छैन् ।’ सिरोहियाको आसय अहिले नै सावित हुँदै गएको पत्रिका व्यापारीहरु बताउँछन् । ३५ वर्षदेखि पत्रिका व्यापार गर्दैै आइरहेका मैनाली पुस्तक पसलका गोविन्द मैनालीले पत्रिकाको व्यापार ५ वर्षयता ५० प्रतिशत नै खस्किएको छ । ‘जुनसुकै पत्रिकाको व्यापार ५० प्रतिशत तल छ ।’ उनी भन्छन्, ‘यसरी नै गयो भने हिकोलाको हालतमा पुग्छ ।’ उनका अनुसार पत्रिमामा लगानी गर्ने मालिकहरुले अहिलेदेखि नै विकल्पको खोजेनन् भने कलर ल्यावको हालतमा पुग्नेछन् । प्रविधिको विकासले पत्रिकाको व्यापारलाई स्वात्तै घटाइएको उनीहरुको ठहर छ । ७ सय कान्तिरपुर बेच्दै आएका मैनालीले अहिले २५० मा सिमित भएको छ । ‘अन्य पत्रिकाहरुको त कुरै नगरौं ।’ उनी भन्छन्, ‘सबैभन्दा बढी बिक्ने पत्रिका कान्तिपुर हो । उसको त यस्तो हालत छ । अरुको त के होला सोच्नु न ?’ उपत्यकाबाट प्रकाशित हुने पत्रिकाको तुलनामा स्थानीय पत्रपत्रिकाहरुको अवस्था केही सामान्य छ । ‘तर, पनि पूर्ण रुपमा घटेकै छैन् भन्ने होइन् ।’ मैनाली भन्छन् । अहिले पत्रिका ५० वर्ष माथि उमेर भएकाहरुले मात्रै हेर्छन् । जसको हातमा मोबाइल छैन् उसैले मात्रै पत्रिकाहरु खोजेर हेर्ने गरेका छन् । धरानका अर्को पत्रिका व्यवसायी सरोज पोखरेलको पनि उस्तै भोगाई छ । पत्रिकाको बिक्री दर बारे बुझ्न पुग्दा उनले आधै घटेको भन्न भ्याइहाले । भने, ‘कुनै नर्गनु, पूरै छैन् भन्दा पनि हुन्छ ।’ मैनाली र पोखरेलले अवको केही वर्षपछि पत्रिकाको व्यापार ठप्प हुने दाबी गर्छन् । धरानमा १ हजार बिक्री हुने पत्रिकाहरु अहिले अढाई सयमा घुम्चिएको छ । साप्ताहिक पत्रिकाहरुको अवस्था उस्तै छ । नागरिकले प्रकाशन गर्ने शुक्रबार साप्ताहिक एक महिना अघिसम्म १२ सय बिक्री गर्ने गरेको मैनाली बताउँछन् । तर, अहिले ८ सयमा झरिसकेको छ । यही रफ्तारमा अन्य साप्ताहिकहरु पनि छन् । ब्लाष्टले प्रकाशन गर्ने साप्ताहिक ब्लाष्टको त खोजी नै नहुने गरेको उनले बताए । मैनाली र पोखरेलले अहिले पत्रिकाको विकल्पमा अर्को व्यापार तिर जानु पर्ने अवस्था केही वर्षभित्रै आउने बताए । पत्रिका व्यवसायी श्रेष्ठ त्यसैको उदाहरण हुन् । श्रेष्ठले ३ सय पत्रिका काउन्टर सेल गर्थे । अहिले मुस्किलले सयवटा पत्रिका बेच्न नसक्ने उनले बताए । ‘नागरिक सय बेच्थे, ७० वटामा झरेको छ । अन्नपूर्ण, नयाँ पत्रिका, स्थानीय ब्लाष्टको पनि उस्तै हालत छ ।’ उनी भन्छन् । उनीमात्रै हैन, पोखरेलले पनि ३ सयवटा कान्तिपुर काउन्टरबाट बिक्री गर्ने गरेका थिए रे । अहिले उनकोमा एकसयवटा पत्रिका बिक्री हुन मुस्किल पर्ने बताउँछन् । यो सबै हुनुको पछाडीको कारण भनेकै मोबाइल, इन्टर र प्रविधिको कारणले भएको अनुमान उनीहरुले सहजै लगाउँछन् । ‘अहिले क्षण क्षणमा मोबाइलमार्फत् समाचार हेर्छन् । बासी समाचार हेर्ने कष्ट नै गर्दैनन् ।’ मैनाली भन्छन्, ‘सबैको हातहातमा मोबाइल छ । फेसबुक छ ।’ अनलाइनको कारणले नै छापा पत्रिकाहरुको व्यापार खस्किदै गएको बताउँछन् ।