धरान/कहिले विषादी भेटिएको नाममा कहिले बस्तु तथा सेवा कर (जिएसटी) को नाममा नेपालको प्रमुख नगदेबालीहरु निकासी रोक्ने भारतको परम्परा कायमै छ ।

हालै भारतले बस्तु तथा सेवा करको नाममा जुलाई १ तारिखदेखि नेपालको प्रमुख नगदेबाली अदुवाको निकासी पैठारीमा रोक लगाइदिएपछि यहाँका कृषक तथा व्यापारीहरु मारमा परेका छन् । जसका कारण अहिले किशान तथा व्यापारीहरुको अर्वौको अदुवा कुहिने अवस्थामा पुगेको छ । अर्वौको अदुवा गोदाममा थन्किएको छ । जुलाई १ तारिखदेखि हालसम्म अदुवा भारत निकासी नहुँदा अदुवा कृषक तथा व्यापारीहरु दैनिक लाखौं घाटाको सामाना गर्नु परिरहेको हो । भारतले एक्कासी २०१७ जुलाई १ तारिखदेखि अनिवार्य रुपमा जिएसटी कर लगाउने निर्णय गरेको हो ।
कृषि उपज बजार स्थलका व्यापारी विनोद थुलुङ भन्छन्, ‘जिएसटी कर लगाएदेखि अहिले एक गाडी पनि अदुवा जान सकेको छैन्, ट्रकमा लोड भएको पनि काकडभित्ता नाकामा थन्किएको अवस्था छ ।’ उनका अनुसार प्रत्येक दिन धरानबाट ५ देखि ७ ट्रक अदुवा भारततर्फ निकासी हुने गरेको थियो । भारत निकासी हुन नसक्दा गोदाममा स्टोरेज गरिएको अदुवा कुहिन थालेको उनले बताए । हाल धरानको कृषि उपजमा करिव ३ सय टन अदुवा गोदाममा थन्किएको अवस्था छ । प्रमुख नगदेबालीको रुपमा रहेको अदुवा ९० प्रतिशत निकासी भारत नै हुने गरेको छ ।
भारतले कुनै बाहानामा निकासी ठप्प पार्दा नेपालमा यो अदुवा मूल्यहीन हुने गरेको अर्का व्यापारी ज्ञानु बस्नेत बताउँछन् । यस अघि पनि भारतले नेपालको अदुवामा एल्डी कार्व नामक विषादीको मात्रा फेला परेको भन्दै निकासीमा पूर्ण रोक लगाएको थियो । तर, उक्त कुरा प्रमाणित हुन सकेको थिएन् । यसपटक पनि जिएसटि करको वाहानामा अदुवा रोकेपछि अदुवा कृषक तथा व्यापारीहरु मारमा परेको कृषि उपज बजार स्थल धरानका अध्यक्ष काजी गिरीले बताए ।
उनले भने, ‘बिभिन्न बाहानामा गरिने यस्ता रुकावटका कारण यहाँका कृषक तथा व्यापारीहरु समस्यामा पर्दै आएका छन् । अहिले पनि सयौं टन अदुवा कुहिने अवस्थामा छन् ।’ उनले व्यापारीहरुको समस्या हो कि भारत सरकारकै समस्या हो त्यो बुझ्न नसकेको बताए । र, नेपाल सरकारले पनि यस्ता कुराहरुमा गम्भिरताका साथ नलिँदा व्यापारी तथा कृषकहरु बारम्बार समस्यामा पर्ने गरेको बताए । धरानका व्यापारीहरुका अनुसार जिएसटीका कारण २० दिन यतादेखि निकासी ठप्प हुँदा गोदाममा ‘डम्प’ गरिएको एक चौथाई अदुवा कुहिसकेको छ । कृषि उपज बजार स्थलका अनुसार यहाँबाट ९० प्रतिशत नगदेबाली निकासी हुने भारतमा नै रहेको छ । १० प्रतिशतमात्रै स्थानीय बजारहरुमा खपत हुने गरेको छ ।
यस विषयमा कृषि उपज बजारले प्रधानमन्त्री कार्यालयदेखि कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि बस्तु निर्यात प्रवद्र्धन कार्यालयलगायतलाई असार २७ गते नै ध्यानाकर्षण पत्र प्रेशित गरेको स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । तर, हालसम्म पनि यस विषयमा कुनै सुनुवाई नगरेको उनले बताए । ‘आजै (बिहीबारै) मात्रै समन्वयको लागि छलफल बसिरहेको छ रे, भन्ने सुन्नमा आएको छ ।’ उनले भने । यस विषयमा सांसद कृष्णकुमार राईलाई बिहीबार ध्यानाकर्षण पत्रसमेत दिएका छन् । कृषि उपज बजार स्थलले राईलाई २० दिन यतादेखि रोकिएको अदुवा निकासीको विषयमा मन्त्रालयहरुसँग पहल गरिदिनको लागि आग्रह गरेको व्यवस्थापक भट्टराईले बताए । ध्यानाकर्षण पत्र बुझ्दै सांसद राईले आफूले यसबारेमा सरकारसँग र बाणिज्य मन्त्रालयका मन्त्रीसँग पनि छलफल गर्ने बताए ।
कृषि उपज बजार स्थलमा आर्थिक वर्ष २०७२/०७३ मा ६८२१ मेट्रिक टन कारोबार भएको थियो भने आव २०७३/०७४ मा ८८५० मेट्रिक टन कारोबार भएको छ । तर, यो वर्ष एक्कासी अदुवा निकासी रोकिदा बजार स्थलमा करिव १ करोड २५ लाखको अदुवा गोदाममा थन्किएको स्थलका व्यवस्थापक भट्टराईले जनाए ।