धरान/असार अन्तिम हुन लाग्दा पनि वर्षात् नभएको देख्दा कृषकहरु निरास बनेका छन् । धरान–५ ठिंगाबारीका कृषकहरुले असारको अन्तिमसातासम्म आधा भन्दा बढी खेत रोपिसकेका हुन्थे । साउन १० सम्म रोपाई तु¥याउँथे । [caption id="attachment_49543" align="alignnone" width="1024"] SONY DSC[/caption] तर, यो वर्ष भने एक चौथाई पनि धान रोपाइ नगरेको त्यहाँका कृषकहरु बताउँछन् । यो समयमा गतवर्षतिर खोलानाला बाढी आउनेदेखि लिएर खेत टिलपिल पानी देख्दै आएका धरान–५ ठिंगाबारीका विष्णुकुमार सुनुवार यो वर्ष त्यस्तो देख्ने अवसर प्राप्त गरेका छैनन् । भन्छन्, ‘प्रायः गरेर यो बेला खोला बाढी आउथ्यो । खेतभरी पानी हुन्थ्यो । यो वर्ष त पानी नपरेर कमिलाले नै खोला वारपार गर्ने अवस्था आइसक्यो ।’ कृषकहरुलाई पानी के कारणले परिरहेको छैन् भन्ने त्यति ज्ञान छैन् । तर, पनि उनीहरुले ‘जलबायुको परिवर्तनको कारणले पानी नपरेको’ भन्ने सुन्दै आएका छन् । कृषक सुनुवार थप्छन्, ‘खैँ भन्नेहरुले जलवायुको परिवर्तनले गर्दा हो भन्छन्, तर, रुख मासिएर पनि पानी नपरेको होला जस्तो लाग्छ ।’ किशानहरुको अनुमानलाई पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका कृषि इन्जिनियरिङका उपविभागीय प्रमुख समिर शाक्य पुष्टी गर्दै भन्छन्, ‘मनसुन एक्ज्याक्ट टाइममा नहुनुको कारण जलवायु परिवर्तन नै हो । जलवायुको कारण प्रत्येक वर्ष सून्य दशमलव १ डिग्री सेन्टिग्रेट पृथ्वीको तापक्रम बढिरहेको छ ।’ उनका अनुसार जसका कारण पानी पर्ने ‘प्याट्रन’ पनि परिवर्तन भइरहेको छ । उनका अनुसार मनसुनको समयमा यो भन्दा अघिल्लो वर्षहरुमा धरानमा कम्तीमा पनि १०० मिलिमिटर पानी पर्ने गरेको थियो । धरानमा वर्षभरी २१ सय मिलिमिटरदेखि २५ सय मिलिमिटर पानी पर्ने गरेको विज्ञहरु बताउँछन् । तर, यो वर्ष २५ प्रतिशतले घटेको उनको ठहर छ । उनको ठहरलाई थप पुष्टी गर्दै क्षेत्रीय हावापानी कार्यालय धरानका सूचना अधिकारी सुदर्शन हुमागाईका अनुसार सन् २०१६ को जुन महिनामा ५०३ दशमलव २ मिलिमिटर पानी परेको थियो भने यो वर्ष सन् २०१७ को जुन महिनामा ३२५ दशमलव १ मिलिमिटर मात्रै वर्षात् भएको छ । उनले भने, ‘जुनदेखि जुलाईको १२ तारिखसम्म धरानमा ५७८ दशमलव ७ मिलिमिटर पानी परेको थियो भने यो वर्षको जुनदेखि जुलाई १२ सम्म मात्रै ४९१ दशमलव ७ मिलिमिटर पानी परेको देखिन्छ ।’ उनले पनि जलवायु परिवर्तनको कारणले हरेक वर्ष पानी पर्ने मात्रा घटबढ भइरहेको बताए । ‘डाटा अनुसार गतवर्ष भन्दा पानी कम परेको देखिन्छ ।’ उनले ब्लाष्टकर्मीसँग भने । पानी समयमा नपरेकै कारणले यो वर्ष धान रोपाईमा पनि कमी आएको छ । जिल्ला कृषि कार्यालय सुनसरीको तथ्याङ्क अनुसार असारको २७ गतेसम्म जम्मा ३० प्रतिशत मात्रै सुनसरीमा रोपाई सम्पन्न भएको छ । गतवर्ष यो अवधिमा झण्डै ५० प्रतिशत भन्दा माथि रोपाई सम्पन्न भएको जिल्ला कृषि कार्यालयका प्रमुख राजकान्त झा बताउँछन् । भन्छन्, ‘गतवर्ष यो अवधिमा ५० प्रतिशत भन्दा माथि रोपाई भइसकेको हुन्थ्यो । यो वर्ष ३० प्रतिशत मात्रै पुगेको छ ।’ उनका अनुसार तुलनात्मक रुपमा अध्ययन गर्दा पानीको पर्ने मात्रा यो पटक घटेकै हो । उनले चुनावको कारणले पनि समयमा कृषकहरुले बाली नलगाएको हुन सक्ने अनुमान लगाए । जल तथा मौसम विभागका अनुसार यो वर्ष जेठ २९ गते अर्थात् जुन १२ देखि मनसुन सुरु भएको हो । सामान्यतः नेपालमा जुन १० देखि मनसुन सुरु भएर सेप्टेम्बर २३ सम्म १०५ दिनसम्म रहन्छ । विभागका मौसमविद् मिनकुमार अर्यालका अनुसार देशभरीको आँकडालाई हेर्दा विगत वर्षहरुको तुलनामा कमजोर मनसुन भन्ने त छैन । तर, सुरुमा कमजोर मनसुन भएको बताए । उनले निश्चित क्षेत्रको नमुना हेर्दा कहीँ कम र कहीँ बेसी भएको हुन सक्ने बताए । ‘मसग्रमा कमजोर भन्ने चाही छैन् ।’ उनले फोन सम्पर्कमा भने, ‘बरु पूर्वको तुलनामा पश्चिममा पानी केही कम परेको छ ।’