इटहरी/ २०५३ सालमा नगरपालिका बनेको इटहरी दुई दशक नवित्दै २०७१ मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका बन्यो । मापदण्ड पुरा गरी आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका भएको इटहरीलाई महानगरपालिका बनाउने खासै प्रयास भएको छैन ।तर, महानगरपालिकाको सम्भावना प्रसस्तै रहेको यहाँका सरोकारवालाहरुको भनाइ छ ।

इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई इटहरीलाई महानगरपालिकाको प्रस्ताव या प्रयास खासै नभए पनि महानगरपालिकाको सम्भावना रहेको बताउँछन् ।

महानगरपालिका बनाउँदा विकासका गतिविधी पक्कै बढ्छ’ उनले भने ‘तर विकास वस्तीमा पस्दै गर्दा मापदण्ड अनुसार शहरी अनुसान पनि चाहिन्छ ।’ इटहरीमा शहरी अनुशासन नभएको चिन्ता गर्दै उनले भने ‘प्राकृतिक सम्पदा जोगाउने र मापदण्ड पालना गर्ने व्यवहारीक सोच नभएसम्म आएको विकास पनि प्रभावकारी नहुन सक्छ ।’

इटहरीलाई धरान, दुहवी, रामधुनी या सुन्दर हरैचालाई गाभेर महानगरपालिका बनाउन सहमति जुटे प्रस्ताव पठाउन सकिने पनि उनले तर्क राखे । त्यो बाहेक विराटनगर उपमहानगरपालिकासँग जोडर पनि महानगरपालिका बनाउने सकिने केहीको विश्लेषण छ ।व्यापारिक तथा यातयातको केन्द्रबिन्दु रहेको इटहरी प्रदेश नम्वर १ को राजधानी पनि दावी गरिदै आएको छ ।

दक्षिणमा दुहवी नगरपालिकासँग जोडिएको इटहरी उपमहानगरपालिका उत्तरमा चारकोशे जंगलले धरानसँग सिमाना छुट्याएको छ । इटहरीमा कोशी अञ्चल यातायात कार्यालय, क्षेत्रिय ट्राफिक कार्यालय, आन्तरिक राजस्व कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयका साथै केही इलाका स्तरीय कार्यलयहरु छन् ।

इटहरीमा काठमाण्डौ पछिका भव्य गगन चुम्भि महल बन्ने क्रम बढ्दो छ ।नेपाल टेलिभिजनले पनि इटहरीमा क्षेत्रीय कार्यालय स्थापना गर्दैछ । इटहरीमा झन्डै १ लाख ६० हजार मानिस बसोबास गर्दछन भने यहाँको जनसङ्ख्या बृद्धि दर तिव्र गतिमा बढिरहेको छ ।

इटहरीलाई उपमहानगरपालिका घोषित गर्दा यसमा एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएएको हो ।

नगरपालिका भएको बेला भने यहाँ पहिलोपटक सर्वध्वज साँवा प्रमुख र रेवतीरमण भण्डारी उपप्रमुख भएका थिए भने पछिल्लोपटक प्रमुख र उपप्रमुखमा क्रमशः स्वर्गीय गीतानिधि रायमाझी र नुरमहमद मियाँ भएका थिए।

रायमाझीलाई तत्कालिन समयमा माओवादीले गोली हानी हत्या गरेका थिए । इटहरी उप–महानगरपालिका क्षेत्रमा २०६८ सालको जनगणनाअनुसार उप–महानगरपालिका भईसकेपछी एकम्वा, खनार, पकली तथा हाँसपोसा गाविस सबै गरेर यहाँ को कुल जन्सन्ख्या १,४१,५१७ भन्दा बढी पुगेको छ ।इटहरीमा ३३ हजार ७९४ घरपरिवार बसोवास गर्दछन् ।

नगरमा हाल २० वडा छन् । समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल चार हजार १७७ हेक्टरमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टर भन्दा बढि जमीनमा फैलिएको छ ।

इटहरीमा २ डि देखि १२ डि सम्म क्षमता भएका सिनेमा हलहरु, डिपार्टमेन्ट स्टोर, सपिङ्ग मलहरु, पार्कहरु, व्यवस्थित तारे होटलहरु, क्षेत्रिय रङ्गशाला (अन्तराष्ट्रियस्तरको निर्माणाधिन) छ । पुर्वमा साना ठुला थुप्रै शहरहरु छन् दुलारी, बिराटचौक, बेलबारी, पथरी, उर्लाबारीमा, दमक, बिर्तामोड, काकडभिट्टा),पश्चिममा रामधुनी नगरपालिका, इनरुवा नगरपालिका रहेका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १६ स्थानीय तह बनाउने निर्णय गरेसँगै देशभर ४ महानगरपालिका र १२ उपमहानगरपालिका बने । एक्लो महानगरपालिका काठमाडौंले अहिलेकै संरचनामा निरन्तरता पाए पनि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बने ।

अब इटहरी महानगरपालिका बन्ने सम्भावना बढे पनि विकासको गतिमा चित्त बुझाउने ठाउँ बाँकी रहेको यहाँका विश्लेषकहरु बताउँछन् । पोखरामा लेखनाथ नगरपालिका र केही गाविस थपिएर पोखरा लेखनाथ महानगरपालिका बन्दै गर्दा इटहरीको पनि त्यो सम्भावना बढेर जानु अस्वभाविक होइन ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले महानगरपालिका हुनका लागि कम्तीमा तीन लाख जनसङ्ख्या, ४० करोडभन्दा बढी वार्षिक खर्च हुनुपर्ने, प्रतिवडा ११ हजार जनसङ्ख्या हुनुपर्ने सरकारी मापदण्ड बनाएको छ ।

नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेलले पनि अहिलेनै इटहरीलाई महानगरपालिका बनाउनु पर्छ भन्ने पक्षमा छैनन् । ‘इटहरीका कुना काप्चाका वडाहरुमा विकासको अभावमा झन् गुनासो बढ्दो छ’ उनले भने ‘झन् गुनासो बढेको छ । महानगरपालिका बनाउँदा हैसियत बन्ला । तर, सिमिति वर्गले मात्र उपभोग गर्न पाउने अवस्था भएको छ ।’

अहिलेनै महानगरपालिका बनाउन हतारो पो हुन्छ कि भन्दै उनले पहिले भौतिक पूर्वाधार बनाउन जोड दिए । त्यसो त इटहरीमा गाडी पार्किङ गर्ने ठाउँ छैन । नागरिकको सुविधाको लागि महानगरपालिका हुने भए पनि विकासको गति कम हुँदा झन् भारी हुन सक्ने उनको तर्क छ ।

त्यसो त महानगरपालिकाको लागि मापदण्ड अनुसारको स्वास्थ्य संस्था, शिक्षण संस्थालगायतको पूर्वाधार निर्माण हुनु पर्ने हुन्छ ।