त्यस्तो खास सम्झनायोग्य दुःखमा त होइन, फेरि पनि हामी धेरैपटक सँगै रोएका छौँ, सँगै दिल खोलेर हाँसेका छौँ । म अलि भावुक प्रकृतिको छु । साना कुराले छुन्छन् मलाई । म सामान्य किसान परिवारमा जन्मेको हुँ, भोजपुरको खावा गाविसमा । अहिले मेरो बुवा हुनुहुन्न, बुवालाई गुमाएको दुई वर्ष भयो । आमाहरु हुनुहुन्छ गाउँमा, दुइटी आमा हो हाम्रो । मेरो एक दाइ र दुई बहिनी छन् ।
मेरो एसएलसी ०५४ सालको सायद । भोजपुरमै इन्टर पढ्दै थिएँ, ब्याक ल्याग्यो, त्यही निहुँमा काठमाडौं आएँ । सुरुमा म काकाकाकीसँग बस्थेँ । बिहेपछि म घट्टेकुलो बस्न थालेँ ।
मैले सहरमा जसरी संघर्ष गरेँ, त्यो मेरो परिवारले देखेन । म आमाबुवालाई सम्झेर कहिलेकाहीँ त्यत्तिकै भावुक हुन्थेँ, यस्तो बेला उनी पनि मसँगै भावुक भइदिन्थिन् ।
अहिले मेरो परिवारलाई गाउँमा बेसरी दुःख भएको पनि होइन र मैले परिवारलाई यहाँ ल्याएर राख्न नसक्ने पनि होइन । तर पनि म कहिलेकाहीँ घर, आमा सम्झेर भावुक हुन्छु । थाहा छैन, यो मेरो कमजोरी हो कि, शक्ति के हो ! म कहिलेकाहीँ त्यसै एकोहोरिएका बेला उनले सोध्छिन्, ख्याल गर्छिन् । यस्तो बेला लाग्छ कि उनै त छन् जीवनमा ।
मैले आमालाई जति माया गरे पनि एकछिन फोनमा बोल्छु, आदर व्यक्त गर्छु, त्यत्ति हो । तर, उनले मेरी आमासँग धेरै कुरा सोध्छिन् । उनको कुरामै थाहा हुन्छ कि उनले आमाप्रति पूरै मन दिएकी छिन्, जो मैले दिन सकेको छैन, पाएको छैन । यो आमाप्रतिको मेरो जिम्मेवारी पनि उनले जसरी वहन गरेकी छिन्, यसले उनीप्रति मेरो भरोसा चुलिन्छ भनौँ । उनी पक्का आमा छिन् । छोराको अति नै ख्याल गर्छिन् । आफ्नो मात्रै होइन कि उनले अर्काको बच्चालाई ख्याल गरेको पनि मैले देखेको छु । उनी बच्चाहरुलाई औधि माया गर्छिन् ।
पहिलो भेट र प्रेम प्रस्ताव
उनी एउटा गीतको रेकर्डिङमा जाँदै रहिछिन् । रत्नपार्कको रातोघर, जुन अहिले छैन, त्यहाँ उनले आफ्ना साथीहरुलाई कुरिरहेकी थिइन् । कुरा ०५९ सालतिरको होला । मिति सम्झन नसक्ने ठूलो कमजोरी छ मेरो ।
त्यतिबेला म उनका साथीहरुको साथी थिएँ, कला क्षेत्रको नाताले । रातोघरबाट हामी अनामनगरसम्म हिँड्दै आउँदै थियौँ । यही छोटो दूरीमा हाम्रो परिचय भयो- नाम बेनुका राई, पेशा गायिका, पुरानो घर खोटाङ, अहिले ललितपुर नख्खिपोट । हामी त्यति बेला भेट भयौँ, जति बेला म रंगमञ्चमा संघर्षरत थिएँ, खासै सफलता हात लागिसकेको थिएन । उनले व्यावसायिक ढंगले गाउन थालिसकेकी थिइन् । दुवै कला क्षेत्रको भएकाले हाम्रो भेट पनि कलाकै सिलसिलामा हुन थाल्यो ।
सांगीतिक कार्यक्रममा हाम्रो भेट हुन्थ्यो । आफू रंगमञ्चमा भएकाले मैले उनलाई कहिलेकाहीँ नाटक हेर्न बोलाउँथेँ । यसरी नै हामी नजिकियौँ । भेट भएको त्यस्तै एक वर्षभित्रै मैले उनलाई प्रेम-प्रस्ताव गरेँ । उनले स्विकारिन् । झन्डै सात वर्ष प्रेम सम्बन्धमै रह्यौँ । प्रेम सम्बन्ध भनेर त्यस्तो डेटिङ जाने, फिल्म हेर्न जाने भन्ने थिएन । कहिलेकाहीँ भेट्थ्यौँ । हुँदै जाँदा बिहे गर्ने निर्णयमा पुग्यौँ । मैले मेरो परिवारसँग कुरा राखेँ, उनले आफ्नो परिवारसँग ।
नख्खिपोटको घरमा म बिहेअघि एकपटक गएँ, देउसी खेल्ने बहानामा । उनको परिवारसँग भेट्नु थियो । किनभने हाम्रो सम्बन्धबारे उनको परिवारलाई थाहा थियो । उनका दाइहरुलाई त भेटिसकेको थिएँ, बुवालाई भेटेको थिइनँ । त्यतिबेला उनको बुवालाई भेटेँ, लाज लागेको थियो । बुवाले मेरो परिवारबारे सोध्नुभयो । बिहे गर्न साइनो लाग्छ कि भनेर होला, उहाँले खासगरी नातागोताबारे सोध्नुभयो । सबै मिल्ने भएपछि माग्न जाने कुरा आयो ।