विजयपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेपश्चात् एमाले सडकमा निस्किएको छ ।

शनिबार ओलीलाई उनको निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । पक्राउपश्चात् एमालेका नेता–कार्यकर्ता सडकमा प्रदर्शन गरिरहेका छन् । काठमाडौंको माइतीघर–बानेश्वर लगायतका क्षेत्र तनावग्रस्त बनेका छन् । सुरक्षा स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ओलीलाई भदौ २३ र २४ गतेको घटनामा बनेको गौरीबहादुर कार्की आयोगको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा शुक्रबार गठित मन्त्रिपरिषद्को पहिलो बैठकले नै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्‍यो । शुक्रबार नै पदबहाली गरेका गृहमन्त्री सुदन गुरुङ ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लागि परे । उनले पक्राउ न्याय र सुशासनको सुरुवात भएको दाबी गरे । ओली पक्राउको विरोधमा पोखरामा पनि विरोध प्रदर्शन भइरहेको छ ।