विजयपुर । चारौं संस्करणको धरान गोर्खा ट्रेल ब्लेजरको उपाधि पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले प्राप्त गरेका छन् ।

शनिबार सम्पन्न ९ किलोमिटर दौड उमेशले २५ मिनेट ५१ सेकेन्डमा पूरा गरी २० हजार रुपैयाँ नगद प्राप्त गरे । महिलातर्फकी विजेता प्रियाले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै २० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगितामा करिब ६ सय धावक–धाविकाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पुरुषतर्फ २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै विकास भुजेल दोस्रो बने । उनले मेडलसहित १० हजार रुपैयाँ प्राप्त गरे । २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै अमिर लिम्बु तेस्रो भए । उनले ट्रफी, मेडलसहित ५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै उपविजेता बनिन् । ३० मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै दीप बस्नेत तेस्रो भइन् । उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष भेट्रानतर्फ रेशम लिम्बुले २८ मिनेट १३ सेकेन्डमा दूरी पार गरे । विजयकुमार राई ३१ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो तथा विमान राई ३३ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए । महिला भेट्रानतर्फ जमुना लिम्बुले ४२ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भइन् । कुसुम लिम्बु ४६ मिनेट २७ सेकेन्डमा दोस्रो तथा असुली राई ५१ मिनेट ६ सेकेन्डमा तेस्रो भइन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ अप्रिल ५ को अवसरमा गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२४’ को चौथो संस्करण सम्पन्न भएको हो । दौड धरान–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलवारे, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा पुगेर समापन गरिएको थियो । विजेता तथा उपविजेताहरूलाई समापन समारोहका सभापति महेन्द्रकुमार राई र धरान–२० का वडाध्यक्ष पदमबहादुर राईले पुरस्कार प्रदान गरे । धरान रनको प्राविधिक सहयोग रहेको प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर र धनकुटा लगायतका जिल्लाबाट धावक–धाविकाको सहभागिता थियो ।