विजयपुर । नेपाल तरुण दलले राजनीतिक प्रतिशोध र पूर्वाग्रहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको जनाएको छ ।
शनिबार जारी विज्ञप्तिमा तरुण दलले घोर भत्र्सना तथा निन्दा गरेको छ । संगठनले एकपक्षीय कदमहरूले लोकतान्त्रिक मूल्य, कानुनी राज्य र विधिको शासनमाथि ठाडो प्रहार भएको दावी गरेको छ । तरुण दलले वर्तमान सरकारलाई जनताबाट प्राप्त जनादेशलाई सम्मान गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजाने अवसरलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ । साथै, विधि र प्रक्रियाअनुरूप पारदर्शी र निष्पक्ष ढंगले अघि बढ्न तथा राजनीतिक सहिष्णुता कायम राख्न पनि चेतावनी दिएको छ । विज्ञप्तिमा देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ । तरुण दलले शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य र संवाद अपरिहार्य रहेको बताउँदै राष्ट्रलाई अस्थिर बनाउने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने जनाएको छ ।































