विजयपुर । नवगठित प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकमा प्रतिवेदन कार्यान्वयनसँगै अन्य तीन निर्णयहरू गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी, नेपाल सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरेको छ । साथै, सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गरिएको र ती कार्यसूची शनिबार सार्वजनिक गरिने जनाइएको छ ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रतिवेदन कार्यान्वयनका क्रममा सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरी सो समितिको सिफारिसअनुसार कारबाही अघि बढाइनेछ भने अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गरिने सरकारको निर्णयमा उल्लेख छ ।