धरान / नेकपा (एमाले) स्थायी कमिटी बैठक एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा बसेको छ । बैठकले तत्काल प्रदेश नम्वर दुईसँगै प्रदेश स्तरीय विस्तारित भेला गर्ने निर्णय गरेको छ । त्यसैगरी एमालेले जिल्ला, नगर र गाउँ तहसम्म भेला गर्ने पनि निर्णय गरेको छ । ‘वैशाख १ देखि प्रदेश नम्वर दुईमा पनि निर्वाचन केन्द्रित कार्यक्रम गर्छौ,’ एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘त्यसैगरी वैठकले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै एक ढिक्का भएर खट्ने निर्णय गरेको छ ।’
वैठकले स्थानीय तह निर्वाचनलाई नै केन्द्रित गरेर जिल्ला, नगरपालिका र गाउँ तहसम्म निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ । वैठकले मतदाता शिक्षा चलाउने लगायतका पनि निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारहरुको मापदण्ड पनि एमालेले तयार गरेको छ ।
मापदण्डमा पार्टीप्रति वफदार, जनताका बीचमा लोकप्रिय, निर्वाचनमा विजयी हुने निश्चित भएको व्यक्तिलाई प्राथपिमता दिइने उल्लेख छ । त्यसैगरी समावेशीतालाई पनि एमालेले ध्यान दिने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई दिएको छ ।
बैठकले वडा, गाउँ/नगर कमिटीको सिफारिसमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी टुंग्याउने अधिकार सम्बन्धित जिल्ला कमिटीहरुलाई दिएको छ । देशभर ६ हजार ६ सय ८० वडा रहेका छन् । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन तय गरेको छ ।
बैठकले गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदवारी तय गर्ने अधिकार भने सम्बन्धित प्रदेश कमिटीलाई दिएको छ । उपमहानगर र महानगरपालिकाका उम्मेदवारको अन्तिम निर्णय भने स्थायी कमिटीले नै गर्नेछ । स्रोतका अनुसार स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने अधिकार समेत स्थानीय कमिटीहरुलाई नै प्रत्यायोजन गरेको छ ।
यसरी वडादेखि छनौट हुादै आएका उम्मेदवारको सूचीमा अन्तिम निर्णय गर्ने अधिकार पाएको कमिटीमा विवाद भए भने स्थायी कमिटीबाटै टुंग्याइनेछ ।
स्थानीय कमिटीले माथिल्लो कमिटीसमक्ष उम्मेदवारी सिफारिस गर्दा आधार र कारणसहित सम्भावित तीनजनाको नाम सिफारिस गर्नुपर्ने एमालेले जनाएको छ ।