काठमाडौं/ वृद्ध, अपाङ्ग तथा अशक्तको स्याहार, सम्भार र रेखदेख गर्न इजरायलले ६० जना नेपाली केयर गिभरको माग गरेको छ । त्यसैले त्यस काममा चाहिने सिपका लागि तालिम अनिवार्य लिएको हुनुपर्छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यता प्राप्त वा वैदेशिक रोजगार विभागमा सूचिकृत भएका संस्थाले तीन महिनाको केयर गिभर सम्बन्धी तालिम दिने गरेका छन् । तीन महिने तालिम पूरा गरेको हुनु पर्छ ।

मान्यता प्राप्त निकायबाट प्राक्टिकल नर्सिङ पूरा गरी प्रमाणपत्र लिएकाहरुले पनि केयर गिभरका लागि आवेदन दिन सक्छन् । एसएलसी पास गरेको र प्रमाणपत्र तहको अंग्रेजी भाषा सम्बन्धी ज्ञान चाहिन्छ ।

केयर गिभरमा जान चाहनेको उमेर २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्छ । पाँच फिट उचाई र ४५ केजी भन्दा बढि तौल भएको हुनुपर्छ ।

केयर गिभरमा जान चाहने उम्मेद्वारले इजरायलमा यसअघि काम गरेको हुनुहुन्न । साथै पति, पत्नी, बाबु आमा तथा बालबालिका पनि इजरायलमा बसोबास गरेका हुनुहुन्न ।

शारीरिक र मानसिक तवरले स्वस्थ भएको हुनुपर्छ । अथवा क्षयरोग, हेपाटाइटिस, एड्स जस्ता रोग नलागेको हुनु पर्नेछ । आवश्यकता अनुसार सामान्य गह्रौं वस्तु उठाउन सक्ने शारीरिक अवस्था पनि चाहिन्छ ।

नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी र प्रहरी प्रतिवेदन सहित योग्यता पुगेका उम्मेद्वारको आवेदन वैदेशिक रोजगार विभागले संकलन गर्छ । र इजरायल पठाउँछ । आवेदनका आधारमा इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथोरिटीले कामदार छनौट गर्ने विभागले जनाएको छ ।

यस वर्ष ४८ जना महिला र १२ जना पुरुषका लागि अवसर इजरायल जान योग्यता पुगेकाले आउँदो चैत ९ गतेभित्र वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर काठमाडौंमा आफैं उपस्थित भएर निवेदन दिन सक्ने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिए ।

आवेदन फारम विभागको वेवसाइट बाट डाउनलोड गर्न सकिन्छ । यस वर्ष चार वर्ष तीन महिनाको श्रम सम्झौता गरेर ४८ जना महिला र १२ जना पुरुष कामदारले केयर गिभरका रुपमा इजरायल जान पाउने छन् ।

म्यानपावरले कामदार लैजान पाउँदैनन् नेपाल र इजरायल सरकारबिच भएको दुई पक्षीय सम्झौता अनुसार नयाँ कामदार लैजान लागिएको हो । २०७२ साउन २२ गते नेपाली कामदारलाई केयर गिभरका रुपमा लैजान नेपाल र इजरायलबिच दुई पक्षीय सम्झौता भएको थियो ।

सम्झौता भए पछि गएको साउनमा ५९ जना नेपाली कामदार केयर गिभरका रुपमा इजरायल पुगिसकेका छन् । छनौट प्रक्रियामा लाग्ने स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष, हवाइ टिकट लगायतका खर्च कामदारले व्यहोर्नु पर्नेछ ।

बाँकी खर्च सम्बन्धित निकायले तिर्ने भएकाले नेपालका म्यानपावर कम्पनी वा एजेन्टसँग कारोबार नगर्न विभागले आग्रह गरेको छ ।