काठमाडौं/ बीबीसीको जागिर छोडेर राजनीतिमा होमिएको घोषणा गरेका रवीन्द्र मिश्रले कस्तो राजनीतिक पार्टी बनाउँलान् भन्ने सर्वत्र चासो छ ।

मंगलबार प्रेस विज्ञप्ति मार्फत बीबीसी नेपालीबाट राजिनामा दिएका मिश्रले आफ्नो पार्टीको राजनीतिक सिद्धान्त समेत सार्वजनिक गरेका छन् ।

‘केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम),पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ,’ उनले आफ्नो विज्ञप्तिमा लेखेका छन् ।

मिश्रले देशलाई रुपान्तरण गर्न ईमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीति गर्नु पर्ने समेत औँल्याएका छन् ।

‘हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो,’ उनले विज्ञप्तिमा लेखेका छन्,‘देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा “अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने” अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्याएउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो ।’

मिश्रले बनाउँन लागेको पार्टी विल्कुल फरक हुने उनले जनाएका छन् ।

‘मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्,’ उनले लेखेका छन्,‘तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ।’

स्रोतका अनुसार उनले तयार पार्न लागेको पार्टीमा पूर्व सचिवहहरु डा। सुर्यराज आचार्य, किशोर थापा, अधिवक्ता ओम प्रकाश अर्याल, क्रिकेट एशोशियसन अफ नेपाल ९क्यान०की पूर्व सिइओ भावना घिमिरे रहने संभावना छ ।

यता मिश्रले नयाँ पार्टी बनाउँनका लागि विद्यमान प्रमुख राजनीतिक दलका युवा नेतासँग समेत छलफल अघि बढाएका थिए ।

नेपाली कांग्रेसका युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा र नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीसँग मिश्रको छलफल चलेको थियो । तर, उनीहरुले आफ्नो पार्टी नछोड्ने अडान राखेका थिए ।

स्वास्थ्य क्षेत्रमा भइरहेको विकृति विरुद्ध अनसन बसेर चर्चामा आएका त्रिविका प्रध्यापक डा। गोविन्द केसीसँग पनि मिश्रले छलफल अघि बढाएका थिए ।

केसीले ठेट जवाफ नदिएपनि यता अर्का अर्थशास्त्रि स्वर्णिम वाग्ले, दिनकर नेपाल जस्ता विष्लेशकबाट उनले सहयोग पाउँने भएका छन् ।