resamतरहरा/एकताका रेशम खेती भनेपछि किसान हुरुक्कै हुन्थे । खेतबारीमा किम्बु रोपेर धेरैले खेती पनि गरे तर पछिल्ला वर्षहरूमा किसानको आकर्षण कम हुँदै जाँदा इटहरीको रेशम प्रशोधन केन्द्र सङ्कटमा पर्न थालेको छ । सरकारी उदासीनताका कारण फस्टाउन नसकेको केन्द्र विगत चार वर्षयता लथालिङ्ग अवस्थामा छ ।किसानहरुले रेशमखेती गर्न छाडेपछि पूर्वकै एक मात्र रेशम प्रशोधन केन्द्र सङ्कटमा पर्न थालेको हो । रेशम प्रशोधन गर्ने करोडौँ मूल्यको मेसिनसम्म थन्किन पुगेको छ ।

७ करोडभन्दा बढीको मेसिन कच्चा पदार्थ अभावमा थन्किन पुगेको केन्द्रले जनाएको छ । कच्चा पदार्थ राख्ने गोदाम खाली भएकै कारण केही वर्षदेखि त्यहाँ अख्तियारको कार्यालय बसिरहेको केन्द्रले जनाएको छ ।करीब चार वर्षयता धागो उत्पादन बन्द भएको केन्द्रका प्राविधिक सहायक सुमन बस्नेतले बताए । उनले धागो उत्पादनको काम पूर्ण रुपमा ठप्प भइसकेको कारण केन्द्र सङ्कटमा पर्दै गएको जनाए । रिलिङ धागो, जागुरी धागो र कटुवा धागो उत्पादन करीब चार वर्षयता हुन छाडेको उनको भनाइ छ ।

पहिला–पहिला जापान सरकारले केन्द्रलाई सहयोग गर्ने गरेको भए पनि अहिले सहयोग गर्न छोड्दा केन्द्र सङ्कटमा परेको बस्नेत बताउँछन् ।रेशमखेतीबाट रेशमजन्य सामग्री उत्पादन गर्न सकिने भए पनि व्यावसायिक खेती घट्दै जाँदा मागअनुसारको उत्पादन हुन सकेको छैन । सरकारले रेशमखेतीका लागि किसानलाई प्रोत्साहन नगर्नु नै रेशमखेती सङ्कटमा पर्नुको प्रमुख कारण भएको अर्का प्राविधिक सहायक सत्यनारायण यादवले बताए । उनले भने, ‘वर्षौंदेखि कोकन खेतीको मूल्य नतोक्दा किसानहरू यो व्यवसायबाट पलायन हुन पुगेका हुन् ।’ सरकारकै उदासीनताले पनि केन्द्र सङ्कटमा परेको उनको तर्क छ ।पहिला–पहिला सरकारले धेरै कार्यक्रम दिए पनि वर्षेनी बजेट कटौती गर्दा केन्द्र थप सङ्कटमा पर्न थालेको केन्द्रले बताएको छ ।

रेशमका लागि चाहिने किम्बु बिरुवा उत्पादन गर्ने कामबाहेक अन्य खासै काम नभएको केन्द्रकी प्रशासन फाँटकी कर्मचारी लक्ष्मी दाहालले बताइन् । ‘खासै काम छैन’, उनले भनिन्, ‘कार्यालयमा आयो, दिनभरि बस्यो ।’ काम नहुँदा कर्मचारीहरू कार्यालयमा दिनभरि घाम तापेर घर फर्कने गरेका छन् । ‘कार्यालयमा कामै छैन, के गर्ने त ?’ कार्यालयमा घाम तापेर पत्रिका पढ्दै बसेका एक कर्मचारीले प्रश्न गरे । केही वर्ष अगाडिसम्म प्रशस्त धागो उत्पादन गरिरहेको केन्द्र अहिले कामविहीन हुन पुगेको केन्द्र आपै स्वीकार गर्छ ।