[caption id="attachment_22548" align="alignnone" width="960"]chandi rai मोरङको बयरवन–६ स्थीत खोरिया टोलमा जलेश्वर महादेव शिवालायको मन्दिर शिलान्यास गर्दै मोरङ क्षेत्र नम्बर २ का संसद चण्डीप्रसाद राई । तस्विर: दिनेश सुब्बा[/caption] विराटनगर  / सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत खर्च गर्ने गरी विनियोजन गरेको बजेट सांसदहरुले अर्थहीन प्रयोजनमा लगानी गरेका छन् । मोरङका प्रत्यक्ष तथा समानुपातिक तर्फका सांसदहरुले खर्च गर्न पाउने ५० लाख रुपैंयासम्मको बजेटको अधिक अंश मन्दिर तथा युवा क्लवको नाममा खर्च गर्ने गरी जिल्ला विकास समितिलाई सिफारिस गरेका छन् । सरकारले नयाँ मन्दिर निर्माणमा बजेट कटौती गर्दै पुराना मन्दिरहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने जिम्मा स्थानीय गाउँ विकास समिति तथा नगरपालिकाहरुलाई दिएको छ । त्यसका अतिरिक्त सांसदहरुले निर्वाचन क्षेत्र विकासकालागि आएको बजेटको ठूलो अंश मन्दिर निर्माण तथा मर्मतको नाममा खर्च गर्न सिफारिस गरेपछि बाटो, खानेपानी, बिद्युत, स्वास्थ्य चौकी आदिमा विकासको अपेक्षा गरेको जनता निराश भएका छन् । मोरङका प्रत्यक्ष तर्फका सांसदहरुमध्ये मन्दिरमा लगानी गर्नेमा क्षेत्र नम्वर २ का सांसद चण्डिप्रसाद राई सबैभन्दा अगाडी छन् । उनले छनौट गरेका २० योजनामध्ये मन्दिर र धार्मीक आशयका कार्यमा खर्च गर्ने योजना मात्र एघार ओटा छन् । गणेश मन्दिर, तीन वटा शिव पञ्चायन मन्दिर, त्रिपुरेश्वर मन्दिर, बज्रयान, शर्वेश्वर, दुर्गा आदि मन्दिरमा करिव २० लाख रुपैंया खर्च गर्न सिफारिस गरेका हुन् । बाटो तथा भवन निर्माणकालागि बाँकी आठ योजनामा उनले २५ लाख खर्च गर्ने गरी योजना पेश गरेका छन् । पत्रकारिता तालिकालागि भनेर १ लाख रुपैंया छुट्याएका छन् । त्यस्तै मन्दिर निर्माण तथा मर्मतमा बढी खर्च गर्नेमा मोरङ क्षेत्र नम्वर ५ का नेपाली काग्रेंसका सांसद अमृत अर्याल रहेका छन् । उनले पनि मन्दिर, मस्जिद र कब्रस्थानका दश योजना सिफारिस गरेका छन् । लक्ष्मीनारायण वेदविद्याश्रम, बजरंगवली, सत्संग भवन, काली मन्दिर, राधाकृष्ण मन्दिरको मुर्ती खरिद आदिमा सांसद अर्यालले पनि झण्डै ३० लाख खर्च गर्ने योजना अघि सारेका छन् । उनले प्रहरी चौकी तथा विद्यालय तथा प्रहरी चौकीकालागि ८ वटा डेस्कटप कम्प्युटर र ५ थान ल्यापटप वितरण गर्न ५ लाख ५० हजार रुपैंया बिनियोजन गरेका छन् । मन्दिरकालागि बढी बजेट लगानी सिफारिस गर्नेमा महेश आचार्य पनि अग्रपंक्तिमा देखिएका छन् । अर्थमन्त्रि भएर विकासको मोडल बुझेका भएपनि निर्वाचन क्षेत्रमा सांसद आचार्यले स्वास्थ्य, खानेपानी, विद्युत विस्तार आदिमा बजेट विनियोजन नगरी मन्दिर तथा योग शिविर आदिमा बजेट छरपस्ट पारेका छन् । उनले राधाकृष्ण मन्दिर, रामजानकी मन्दिर संसारी सकम्वरी थान दुर्गा मन्दिर आदिमा झण्डै आधा रकम खर्च गर्ने सिफारिस गरेका छन् । क्षेत्र नम्वर ३ का नेपाली काग्रेंसका सांसद दिलिप गच्छदार पनि मन्दिरमा खर्च गर्ने प्रतिष्पर्धामा खरो उत्रिएका छन् । उनले एउटा चौतारो, एउटा घाट सहित मन्दिरजन्य १० योजनामा करिव ३० लाख रुपैंया खर्च गर्ने भएका हुन् । मन्दिर शिर्षकमा सबै भन्दा कम खर्च गर्नेमा नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्र नम्वर ४ का सांसद शिवकुमार मण्डल रहेका छन् । उनले आमतोला स्थित शिवमन्दिर निर्माणकालागि २ लाख ५० हजार रुपैंया खर्च गर्ने गरी एउटा योजना सिफारिस गरेका छन् । मण्डलले योजना सिफारिस गर्दा आवश्यक पर्ने प्रशासनिक खर्च नलिई विकासमै लगानी गरेका छन् । उनले ५० लाख रुपैंया मध्ये ४९ लाख २५ हजार रुपैंया सबै विकासमा लगानी गरेको जनाएका छन् । मण्डलले एउटा मन्दिरमा बाहेक करिव ४७ लाख रुपैंया बाटो, कल्भर्ट र काठेपुलमा लगानी गर्न सिफारिस गरेका छन् भने तालिमको नाममा कुनै बजेट छुट्याएका छैनन् । त्यसैगरी तीन ओटा मन्दिरमा लगानी गरेपनि भौतिक पुर्वाधार तर्फ लगानी गर्नेमा मोरङ क्षेत्र नम्वर ८ का सांसद चन्द्रबहादुर गुरुङ पनि अग्रपंतिमा छन् । उनले बजेटको अधिकांश अंश भवन निर्माण तथा बाटो मर्मतमा लगानी गर्ने भएका हुन् । मन्दिर तथा अनुत्पादक क्षेत्रमा कम लगानीमा गर्नेमा काग्रेंस सांसद डिगबहादुर लिम्बु पनि छन् । उनले खानेपानी तथा स्वास्थ्य, शिक्षा र बाटोघाटोमा बढी बजेट केन्द्रीत गरेका छन् । युवा सांसद भनिएपनि नेकपा एमालेका क्षेत्र नम्वर १ का सांसद ऋषिकेश पोखरेलले पनि मन्दिरको नाममा करिव ४० प्रतिशत बजेट विनियोजन गरेका छन् । त्यसबाहेक युवा क्लवहरु, वृद्धाश्रम आदिमा अनुदान दिएर आफ्नो ५० लाख रुपैंयाको बजेटलाई अनुत्पादक क्षेत्रमा लगानी केन्द्रीत गरेका छन् । यस्तै अवस्था क्षेत्र नम्वर ७ का काग्रेंस सभाषद डा. शेखर कोइरालाको छ । उनले पनि छ ओटा मन्दिर र मस्जिदमा बजेट विनियोजन गरेका छन् । निर्वाचन क्षेत्रको पुर्वाधार विकासमा सहयोग हुने तथा गाउँ विकास समिति तथा नगरपालिकाहरुले समेट्न नसकेका योजनाहरुलाई प्राथमिकता दिन सांसदहरुले रकम खर्च गर्नुपर्ने भएपनि कार्यकर्ताहरुको पहुँच तथा भोटबैंक सुरक्षा गर्ने उद्देश्यले स–साना स्थानमाबजेट छुट्याएको देखिन्छ । यसरी बजेट छुट्याउँदा देखिने गरी काम नहुने र राज्यको ठूलो रकम खर्च पनि हुने हुन्छ । त्यसलाई निरुत्साहित गर्नुपर्ने सांसद शिवकुमार मण्डल बताउनुहुन्छ । समानुपातिक सभाषदहरुले जिल्ला विकास समिति मोरङमा पेश गरेको योजनाको सुचिमा पनि मन्दिरहरुको प्रसस्त वाहुल्यता रहेको छ । उनीहरुले पनि बजेट विनियोजन गर्दा अनुत्पादक क्षेत्र नै बढी रोजेका छन् । मोरङमा प्रत्यक्ष ९ जना र समानुपातिक तर्फका १८ जना गरी २७ जना सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रममा १३ करोड ५० लाख रुपैंया बजेट खर्च गर्ने छन् ।