fishविराटनगर/भारतबाट निर्वाध रुपमा माछा आयात भइरहे पनि त्यसलाई सामान्य मान्दा दैनिक ठूलो परिमाणमा तस्करी हुने गरेको पाइएको छ । विराटनगर प्रवेश गर्ने जोगबनी नाकाबाट दैनिक सरदर तीन मेट्रिक टन (३ हजार किलोग्राम) माछा भारतबाट आउने गरेको आधिकारिक आँकडा भए पनि मिलोमतोमा दोब्बर परिमाणमा माछा आयात हुने गरेको देखिएको छ ।

शनिबार र आइतबार रानी भन्सार नाका भएर करीब तीन मेट्रिक टन माछा आयात भए पनि यथार्थमा ५ मेट्रिक टनभन्दा बढी विभिन्न जातका माछा नेपाल भित्रिएको थियो । बिहान १० देखि अपराह्न ३ बजेसम्म नियमित माछा आयात हुने गरेको छ । अधिकांश आयातकर्ताले एकपटकका लागि काटेको पुर्जीबाट दिनभर माछा ओसार्ने गरेका छन् ।भारतबाट माछा आयात गर्दा ५ प्रतिशत भन्सार राजश्व बुझाउनुपर्छ । प्रतिकिलो ७५ रुपैयाँ ‘टेबुल भ्यालु’ निर्धारण गरिएको माछा आयात गर्दा राजश्व प्रतिकिलो ३ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

भारतको अररिया जिल्लाका एक माछा ढुवानीकर्ताले आइतबार एउटै पुर्जीबाट माछा पाँचपटक नेपाल भित्र्याए । उनले रिक्सामा करीब एक टन माछा भित्र्याएका भए पनि राजश्व भने करीब दुई सय किलोको मात्र तिरे ।भारतबाट आउने कार्टुनमा ४५ देखि ५० किलोसम्म माछा हुने गरेका भए पनि भन्सार कार्यालयले प्रतिकार्टुन २५ किलो अनुमान गरेर राजश्व लिने गरेको छ । यसबाट पनि भन्सार कार्यालयमा देखिने आधिकारिक आँकडाभन्दा दोब्बर परिमाणमा माछा तस्करी भएर आउने खुलासा भएको हो ।

नेपाली माछा उत्पादक किसानहरुले भारतबाट निर्वाध आयात हुने माछामा केही अंकुश लगाउनुपर्ने माग गरिरहेका बेला परिमाण लुकाएर तस्करीसमेत हुने गरेको घटनाले थप चिन्ता उत्पन्न गरेको छ । यसबाट सरकारलाई राजश्व नोक्सानी हुनुका साथै नेपाली किसानहरूले आप्mनो उत्पादनको उचित मूल्य नपाउने समस्या भोग्न थालेका छन् ।नेपालमा माछा उत्पादन गर्ने किसानहरुले थोक मूल्य प्रतिकिलो २ सय ६० रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् भने बजारमा प्रतिकिलो ३ सय ५० रुपैयाँ किलोका दरले बिक्री हुन्छ । कृषि उत्पादन भनेर खासै वास्ता नगर्दा भारतबाट माछाको निर्वाध आयात मात्र नभएर तस्करीसमेत हुने गरेको माछा किसान रमेश अधिकारीले गुनासो गरे । उनले भने, ‘सरकारले माछा आयातमा भन्सार राजश्व वृद्धि गर्नुपर्छ र तस्करीलाई निरुत्साहित गर्नुपर्छ ।’

सरकारले नेपाल उद्योग वाणिज्य महासङ्घमार्पmत् मोरङ जिल्लालाई माछा विशेष कार्यक्रम सञ्चालन गर्न तथा उत्पादन र बजारीकरणमा देखिएका जटिलता समाधानका लागि भन्दै नयाँ कार्यक्रम पनि ल्याएको छ । यस्तो अवस्थामा भारतीय माछा नियन्त्रण नगर्ने हो भने अब नेपाली माछा उत्पादक किसानहरु पलायन हुनुपर्ने किसान नवराज चापागाईंले बताए ।भारतबाट आयात हुने माछाको परिमाण न्यून देखाउने र एउटै पुर्जीबाट पटकपटक ल्याउने विषय आपूmलाई जानकारी नभएको पशु क्वारेन्टाइन कार्यालयका मत्स्य अधिकृत हुकुमलाल सिंहले बताए । उनले परिमाण र राजश्व भन्सार कार्यालयले नियन्त्रण गर्नुपर्ने भएको र आपूmसमक्ष यस्तो जानकारी नआएको जनाए ।