देउवालाई नेता बनाएपछि चिसियो सम्बन्ध
नेविसंघमा राजनीति गर्दादेखिका साथी हुन् देउवा र पौडेल । ०५१ सालमा भएको संसदीय दलको नेतामा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले देउवालाई अघि सारेपछि समकालीन यी दुई नेता प्रतिस्पर्धी बन्न पुगे । कोइराला परिवारले त्यसवेला पौडेललाई दलको नेता बनाउने तयारी गरेको थियो, तर एक्कासि देउवा नेता बनेपछि यी दुईबीच ईष्र्यालु प्रतिस्पर्धा सुरु भएको मानिन्छ । देउवा कांग्रेस संसदीय दलको नेता भएपछि पौडेल सभामुख भए । एमाले नेता मनमोहन अधिकारी नेतृत्वको सरकार गिरेपछि देउवा प्रधानमन्त्री हुँदा पनि पौडेल सभामुख नै थिए । एउटा प्रधानमन्त्री र अर्को सभामुख भए पनि दुई नेताबीच सन्तुलन हुन नसकेको राजनीतिक विश्लेषक पुरुषोत्तम बस्नेत बताउँछन् ।
२०५१ साल दुवैको सम्बन्धका लागि ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । त्यसपछि पौडेल कोइराला परिवाससँग नजिक हुन पुगे भने देउवा किसुनजी र गणेशमाननजिक । दुई नेता वैचारिक हिसाबमा दुईवटा ध्रुवमा देखिए । अहिलेसम्म प्रतिस्पर्धी रहेका देउवालाई पौडेलले प्रजातन्त्र दरबारमा बुझाएको, पार्टीमा गुटबन्दीको चरम अभ्यास गरेको आरोप लगाउँदै आएका छन् भने आफूचाहिँ पार्टी शुद्धीकरणको प्रयासमा लागेको दाबी गर्दै आएका छन् ।
देउवालाई कारबाहीपछि पौडेलको असन्तुष्टि
२०५९ सालमा तत्कालीन विद्रोही माओवादीलाई हेर्ने दृष्टिकोण, सेना परिचालन र संकटकाल कहि
लेसम्म लगाउने भन्नेमा बहस भएपछि कांग्रेस विभाजनको अवस्थासम्म पुग्यो । तत्कालीन राजनीतिक परिवेशले देउवा र पौडेललाई एकठाउँमा ल्याइपुर्याएको थियो । पार्टी सभापति कोइरालाले प्रधानमन्त्री पदमै रहेका वेला

देउवालाई साधारण सदस्य नै नरहने गरी कारबाही गरेपछि उनी दलविहीन बन्न पुगे । आफूमाथि भएको कारबाही फुकुवा गर्न देउवाले आग्रह गरे । तर, कोइरालाले कुनै सुनुवाइ नगरेपछि बाध्यतावश पार्टी विभाजन भएको देउवाले बताउँदै आएका छन् । पार्टीकै नेता प्रधानमन्त्री भएको वेला कारबाही हुनु गल्ती भएको भनेर पौडेल देउवाको पक्षमा लागेका थिए ।
निर्दलीय प्रधानमन्त्री बन्न पुगेका थिए देउवा
बहुमतको प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यबाटै निकालेर आफूलाई दलविहीन बनाउँदा बाध्यात्मक रूपमा पार्टी विभाजन गर्नुपरेको देउवाले बताउँदै आएका छन् । ‘पार्टी सदस्य नै नरहेको व्यक्ति कसरी प्रधानमन्त्री हुन सक्छ ? त्यो निर्दलीय व्यवस्था त थिएन । देशमा बहुदलीय व्यवस्था बहाल गराउन लामो संघर्ष गरेर देशको नेतृत्व गर्ने स्थानमा पुगेपछि मलाई निर्दलीय बनाउन खोजियो,’ देउवाले केही समयअघि नयाँ पत्रिकासँगको कुराकानीमा भनेका थिए, ‘मैले त्यतिखेर ममाथिको कारबाही फिर्ता गराउन गिरिजाबाबुलाई दबाब दिने उद्देश्यले भेला बोलाएको थिए“ । मैले माफी मागेजस्तो कागज पनि गरेको हुँ, तर सुनुवाइ भएन । भेला बोलाएको भोलिपल्ट ५ बजेभित्रै नयाँ पार्टी दर्ता नगरी हुने अवस्था आयो र पार्टी दर्ता भयो ।’
गिरिजाप्रसादको कदमसँग पौडेल पनि असहमति रहेकाले उनैलाई नयाँ पार्टीको सभापतिको माला लगाउन तयार रहेको देउवाले बताउँदै आएका छन् । ‘रामचन्द्रजी बालुवाटार आउनुभयो । उहाँले अलग पार्टी गठन गर्नुपर्ने सुझाब दिनुभयो । साथै, उहाँले सभापति बन्न पनि सहमति जनाउनुभयो,’ देउवाले भनेका थिए, ‘उहाँले भेलामा जान साथीहरूलाई सल्लाह पनि दिनुभयो । उहाँले आफू पनि भोलिपल्टको भेलामा आउने वचन दिनुभयो । तर, भोलिपल्ट उहाँ आउनुभएन । बेलुका ५ बजेभित्र अर्को पार्टी दर्ता गरिसक्नुपर्ने थियो । नत्र त म निर्दलीय प्रधानमन्त्री बन्ने अवस्था थियो । त्यसैले रामचन्द्रजीलाई लगाउन तयार गरेको माला म आफैँले लगाउनुपरेको हो । मैले रहरले होइन, बाध्यताले माला लगाएको हुँ ।’
पौडेललाई सभापति बनाउने देउवाको चाहना, तर उनी आएनन्
देउवामाथि अन्याय भएको पौडेलले पनि बताएका थिए । पार्टी विभाजनको अन्तिम तयारी भएर ड्राफ्ट बन्दा पौडेल एकाएक हराए । ‘गिरिजाबाबुलाई अन्तिमसम्म पनि कारबाही फुकुवा गर्न भनिएको थियो, तर नगरेपछि नयाँ पार्टी बनाउनुपर्ने अवस्थासम्म आइपुग्यौँ,’ कांग्रेस नेता गोपालमान श्रेष्ठ भन्छन्, ‘ड्राफ्टमा सभापति पौडेललाई नै बनाउने उल्लेख गरिएको थियो । गिरिजाबाबुसँग अन्तिम कुराकानी गर्न जानुभएको उहाँ नआउनुभएपछि देउवाजी नै सभापति बन्नुभयो ।’ साधारण सदस्य नै नरहने गरी कारबाही गरेपछि कांग्रेसको असन्तुष्ट पक्षले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २ असार २०५९ मा भेला बोलाएको थियो । भेलाले कारबाही फिर्ताका लागि गिरिजाप्रसादलाई गरेको आग्रह गरे पनि उनले अस्वीकार गरेपछि सोही भेलालाई विशेष महाधिवेशमा परिणत गर्दै कांग्रेस प्रजातान्त्रिक गठन गरिएको थियो ।
किन साथ दिएनन् पौडेलले ?
पार्टी विभाजन र नयाँ पार्टी गठनको समयसम्म देउवालाई साथ दिने तयारी गरे पनि गिरिजाप्रसादसँगको भेटपछि पौडेल देउवाको क्याम्पमा गएनन् । पौडेल देउवातिर नलाग्नुलाई उनीतिर धेरै नेता रहेको र गिरिजाप्रसादतिर आफ्नो अवसर आउने बुझाइ रहेको नेताहरू बताउँछन् । ‘शेरबहादुरतिर उभिँदा नेता धेरै हुने र आफ्नो पालो गिरिजातिर आउँछ भन्दै उनी गिरिजातिरै बसेको देखिन्छ,’ विश्लेषक पुरुषोत्तम दाहाल भन्छन् । कांग्रेस विभाजन हुँदा देउवातिर कृष्णप्रसाद भट्टराई, उपसभापति चिरञ्जीवी वाग्ले, महामन्त्री खुमबहादुर खड्का र विजयकुमार गच्छदार सहमहामन्त्री थिए ।
तर, गिरिजाप्रसादतिर ध्यान गएन
देउवा नेतृत्वको पार्टीमा धेरै नेता भए पनि गिरिजाप्रसाद खेमामा विरासत बोकेका शैलजा आचार्यदेखि, सुजाता कोइरालाहरूको ख्याल पौडेलले गर्न नसकेको बताइन्छ । ‘गिरिजाबाबुपछि मै नेता हुन्छु भन्ने पौडेललाई लागेको हुन सक्छ,’ दाहाल भन्छन्, ‘यता गिरिजाले पछि शैलजा, सुजाताहरूलाई च्याप्छन् भन्ने उनले बुझ्न सकेनन् ।’ प्रधानमन्त्रीसमेत रहेका देउवाले बोलाएको भेलामा सभापतिका रूपमा गिरिजाप्रसाद गएको मात्रै भए पनि कांग्रेस त्यतिखेर नफुट्ने दाहालको भनाइ छ । कांग्रेस विभाजनपछि पौडेल बलियोसँग गिरिजासँग त जोडिए, तर ‘सेकेन्ड म्यान’ बन्न सकेनन्, गिरिजाको रोजाइमा सुशील परे । कार्यबाहक सभापति सुशीलले पाए । छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाए ।
कोइराला लिगेसी थेग्न नसक्ने पौडेल
पहिलो संविधानसभा निर्वाचनअघि दुई कांग्रेसबीच एकीकरण भयो । पार्टी सभापति गिरिजाप्रसाद कोइराला नै रहे भने पार्टीको वरिष्ठ नेतामा देउवालाई राखियो । त्यसयता पौडेलले सधैँ आफूलाई देउवाका प्रतिस्पर्धी ठान्दै आए । १३औँ महाधिवेशनको मुखैमा जब सभापति सुशील कोइरालाको मृत्यु भयो, त्यसपछि अब कांग्रेसमा मै हुँ भन्ने बोध पौडेललाई भएको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बताउँछन् । ‘सुशीलपछि मै हुँ भन्ने बोध पौडेलजीमा भयो, तर कोइरालाहरूको अगाडि लिगेसी थेग्न सकेनन्,’ दाहाल भन्छन्, ‘विचार, परिवार र कार्यको हिसाबले पौडेलले विरासत थेग्न सकेनन् । पौडेलले कोइरालाजस्तो गर्न सक्दैनन् ।’ प्रजातान्त्रवादी हुनु मात्र विचार होइन भन्दै दाहालले कोइरालाहरू जसरी पेलेर जान सक्छन्, त्यो क्षमता पौडेलमा नभएको बताए । सामान्य जनताको छोराबाट उठ्दै राजनीतिमा संघर्ष गरेका पौडेलसँग कोइराला परिवारका नेतालाई पेलेर जान सक्ने सामथ्र्य नभएको दाहालको भनाइ छ ।
देउवा–पौडेल अवसरमा मतान्तर रहेका नेताहरू : चिरञ्जीवी वाग्ले
कांग्रेस सभापति देउवासँग नजिक रहेका नेता चिरञ्जीवी वाग्ले २०२०-२१ सालदेखि दुवैको सम्बन्ध राम्रै रहँदै आए पनि २०४८ सालपछि सत्ता खेलले सम्बन्ध बिगारेको टिप्पणी गर्छन् । ‘जेल सँगै जाने, नेविसंघमा सँगै काम गर्ने गरेकै हुन् । उनीहरूको सम्बन्ध पहिले धेरै नराम्रो होइन । पञ्चायतविरुद्ध लड्दा उनीहरूमा फरक मत थिएन,’ वाग्ले भन्छन्, ‘सत्ताको खेल सुरु नहुँदाको २०४८÷५० सम्म उनीहरूको सम्बन्ध नराम्रो होइन, राम्रै हो । त्यसपछि कसले अवसर प्राप्त गर्ने भन्नेमा दुईबीच मतान्तर रहन पुग्यो ।’
सैद्धान्तिक मतान्तर छैन
प्रजातान्त्रिक पार्टी कांग्रेसको चारतारे झन्डामुनि बसेका यी दुई नेताबीच सैद्धान्तिक मतमतान्तर भने छैन । ‘पार्टीमा सैद्धान्तिक कुरामा मतान्तर विवाद र बहस भएको देखिँदैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध दृष्टिकोणमा कुनै मतान्तर छैन,’ वाग्ले भन्छन्, ‘नेतृत्व र सत्तामा प्रतिस्पर्धी हुन् भन्ने देखिन्छ । प्रधानमन्त्रीको अवसर आयो भने कसले प्राप्त गर्ने भन्ने प्रतिस्पर्धा देखिन्छ ।’
विचारमा पौडेल, संरक्षणमा देउवा
‘स्वतन्त्रता र प्रजातन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्दछ र देशमा जनएकता भई समृद्ध मुलुक निर्माण गर्न सकिन्छ’ भन्ने मान्यता पौडेलमा देखिन्छ । विचार, सैद्धान्तिक हिसाबले पौडेल देउवाभन्दा अघि रहेको कांग्रेस नेताहरू बताउँछन् । राजनीतिक विषयमा लामो कुराकानी, संवाद, तर्कवितर्क गर्न सक्ने क्षमता पौडेलमा छ ।
तर, देउवा छोटोमै व्यावहारिक कुरा गरेर समाधान निकाल्न माहिर मानिन्छन् । उनी समन्वय गर्ने र धेरै मान्छेसँग घुलमिल गर्ने हिसाबले अगाडि छन् । मान्छेको संरक्षण गर्न सक्ने क्षमता पनि देउवामा धेरै रहेको नेताहरू बताउँछन् । नेता–कार्यकर्ता संरक्षण गर्ने क्षमताका कारण नै देउवा कोइराला विरासत भत्काउन सफल भएको मानिन्छ । देउवासँग बलिया सहयोगी छन् । तर, पौडेलसँग बलिया नेताको चाङ छैन । उनले पार्टीमा छुट्टै गुट नबनाउँदा आफू भनेर मरिमेटेर लाग्ने नेता बनाउन नसकेको दाहालको भनाइ छ ।
देउवाभन्दा अघि पौडेल केन्द्रीय सदस्य
कांग्रेसमा पौडेल देउवाभन्दा अघि नै केन्द्रीय सदस्य बनेका हुन् । देउवाले प्रधानमन्त्री, पार्टी सभापतिजस्ता ठूला पद प्राप्त गरेका छन् । पौडेल भने उपप्रधानमन्त्री, सभामुख र पटकपटक मन्त्री भइसकेका छन् । कृष्णप्रसाद भट्टराई सभापति हुँदा २०४५ सालमै पौडेल केन्द्रीय सदस्य भएका थिए । देउवा तीन वर्षपछि मात्र केन्द्रीय सदस्य बने । २०४५ सालमा पौडेल कांग्रेस केन्द्रीय सदस्य बन्दा देउवा बेलायतमा पढ्दै थिए । देउवा २०४८ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका हुन् ।
देउवालाई ठूला पद, पौडेलको संघर्ष
देउवा तीनपटक प्रधानमन्त्री, एकपटक कांग्रेस (प्रजातान्त्रिक) को सभापति र १३औँ महाधिवेशनपछि कांग्रेस सभापति निर्वाचित भएर पार्टीमा प्रभावशाली देखिँदै आएका छन् । देउवा २०५७ मा पोखरामा भएको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग र ४ असोज २०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएका थिए ।
देउवाझैं २०४८ सालदेखि अहिलेसम्म भएका सबै चुनाव जितेका पौडेलले राज्यको कार्यकारी र पार्टी कमान्ड सम्हाल्ने अवसर पाएका छैनन् । उनी उपप्रधानमन्त्री र पटकपटक मन्त्री भएका छन् । एक कार्यकाल सभामुख पनि बने, तर, प्रधानमन्त्री बन्ने सौभाग्य पाएका छैनन् । पहिलो संविधानसभापछि सरकार बन्ने र ढल्ने क्रममा कांग्रेस संसदीय दलको नेता रहेका पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर आयो । १७ पटकसम्म संसद्मा निर्वाचन हुँदा पनि उनले प्रधानमन्त्री निर्वाचित हुन बहुमत पु-याउन सकेनन् । उनलाई पराजित गर्दै एमालेबाट झलनाथ खनाल प्रधानमन्त्री बन्न पुगेका थिए । २०४८ सालको चुनावपछि गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा देउवा गृह र पौडेल स्थानीय विकासमन्त्री बनेका थिए ।
देउवा क्याबिनेटमा मन्त्री बनेनन् पौडेल
देउवा २०५२, २०५८ र २०६१ सालमा प्रधानमन्त्री बने । तर, यी तीनै सरकारमा पौडेल मन्त्री बनेनन् । गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई नेतृत्वका सरकारमा भने उनी उपप्रधान र मन्त्री बनेका थिए ।
अवसर पाए, तर जितेनन्
प्रधानमन्त्री निर्वाचनमा १७ पटकसम्म चुनाव हारेका पौडेललाई १३औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्ने अवसर जु¥यो । तत्कालीन सभापति सुशील कोइरालाको महाधिवेशनकै मुखमा निधन भएपछि पौडेललाई अवसर त जुट्यो, तर यसपटक पनि उनी सफल हुन सकेनन् ।
महाधिवेशनमा यस्तो थियो प्रतिस्पर्धा
कोइराला पक्षबाट पौडेल देउवासँग सभापतिको भिडन्तमा त उत्रिए, तर पहिलो चरणमा नतिजा आएन । कृष्णप्रसाद सिटौला पनि सभापतिको उम्मेदवारमा खडा भइदिँदा चुनाव दोस्रो चरणसम्म पुग्यो । अघिल्लो चरणमा तीन हजार एक सय ४८ मत खस्दा देउवाले एक हजार पाँच सय ६४ मत प्राप्त गरे । उनलाई जितका लागि ११ मत पुगेन । तर, पौडेलले एक हजार एक सय ५४ मत मात्र प्राप्त गरे । तेस्रो उम्मेदवार सिटौलाले तीन सय २४ मत ल्याए । गत फागुनको अन्तिम साता भएको महाधिवेशनको दोस्रो प्रतिस्पर्धामा देउवा र पौडेल मात्र मैदानमा उत्रिँदा सिटौलाको मत देउवातिर धेरै गयो । दोस्रो चरणमा तीन हजार एक सय २० मत खस्दा देउवा एक हजार आठ सय २२ मत ल्याएर विजयी भए । पौडेलले एक हजार दुई सय ९६ मत प्राप्त गरे ।
पौडेललाई अझै सकस
महाधिवेशनमा सभापतिमा पराजित भएको केही समयपछि भएको संसदीय दलको चुनावमा पनि पौडेल देउवासँगै पराजित हुन पुगे । महाधिवेशनमा हारेपछि दलको नेतामा पनि हार्ने जान्दाजान्दै आफ्नो खेमामा अर्को नेता नबनोस् भनेरै पौडेल हार्न तयार भएरै चुनाव लडे । त्यसयता भएका नेविसंघ र महिला संघको महाधिवेशनमा पनि पौडेल पक्ष देउवाभन्दा निकै कमजोर देखियो । परम्परागत शक्ति रहेको नेविसंघमा आफ्नै पक्षधर उम्मेदवारलाई मिलाउन नसक्दा पौडेल पक्ष पराजित हुन पुग्यो । सकेसम्म शशांक, शेखर र सुजाताले यो खेमाबाट प्रतिनिधित्व नगरुन् भन्ने चाहना पौडेलमा देखिन्छ । अर्को महाधिवेशनसम्म आफू नै केन्द्रमा रहने सोच पौडेलको छ । तर, १३औँ महाधिवेशनबाट शशांकको उदयले पौडेलको भावी राजनीति त्यति सहज नभएको विश्लेषक दाहाल बताउँछन् ।
तरुण दलबाट तंग्रिने प्रयास
नेविसंघ र महिला संघमा नराम्रो झट्का बेहोरेपछि पौडेल पक्षले तरुण दलमा भने संस्थापन देउवा पक्षसँगै मिलेर पदाधिकारी हात पार्यो । नेविसंघ र महिला संघमा सिटौला पक्षले देउवासँग बार्गेनिङ गरेर ठूला पद हत्याएपछि तरुण दलमा भने देउवासँग सिटौलालाई पहिलो तहमा मिल्न पौडेलले दिएनन् । ‘महिला संघ र नेविसंघमा लड्दा गुटगत सन्देश राम्रो गएन । त्यसैले चुनावको ठीकअघि तरुण दलमा आपसी भिडन्त नगरी सहमतिमा जाऊँ भन्ने भएको हो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘संस्थापनसँग मिल्दै हैसियत जोगाउने मात्र नीतिले होइन, चुनावमा मुखमा कमजोर नहोऊँ भनेर हो ।’
कहिले भेट्छन् ? के कुरा गर्छन् ?
सुशील कोइराला सभापति हुँदा देउवा दोस्रो तहका नेता थिए । दुवैलाई एक अर्काकोमा जाने वा आउने बाध्यता थिएन । तर, १३औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएपछि अर्को पक्षका नेता भएका पौडेलबीच संवाद गर्नैपर्ने अवस्था छ । महाधिवेशन भएको आठ महिनामा दुईपटक पौडेललाई भेट्न देउवा उनको बालाजुस्थित बोहोराटार पुगेका छन् ।
पौडेल भने पाँचपटक देउवानिवास बूढानीलकण्ठ पुगेका छन् । पौडेल एक्लै भन्दा आफ्नो पक्षको असन्तुष्टि लिएर देउवानिवास पुग्ने गरेका छन् । पार्टी बैठक नडाकेको, समयमा पदाधिकारी, केन्द्रीय समितिमा मनोनीत नगरेको, संविधान संशोधनसहितका राजनीतिक प्रक्रियाका विषयमा आफूहरूसँग छलफल नगरेको जस्ता गुनासा लिएर पौडेल देउवाकोमा पुग्ने गर्छन् ।
कस्तो सम्बोधन हुन्छ ?
उमेरमा पौडेल देउवाभन्दा दुई वर्ष जेठा छन् । पौडेल ३० असोज २००१ र देउवा ३१ जेठ २००३ मा जन्मिएका हुन् । उमेरमा थोरै अन्तरका यी समकालीन नेताहरू एक–अर्कालाई ‘देउवाजी’ र ‘पौडेलजी’ भनेर सम्बोधन गर्ने गरेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारी बताउँछन् । भेट हुँदा दुवैबीच १५ देखि ४५ मिनेटसम्म कुराकानी हुन्छ । कुनै विषयमा तत्काल छलफल गर्नुपर्ने भए फोनमै पनि दुई नेताबीच संवाद हुने गरेको छ । पौडेलले केही समयअघि नयाँ पत्रिकासँग कुरा गर्दै विद्यार्थी राजनीति गर्दा देउवा र आफूबीच तँ–तँ र म–म चले पनि पाको हुँदै गएपछि भने एक–अर्कालाई सम्मान र आदर गर्ने गरेको बताएका थिए ।
यस्तो छ दुई नेताको पृष्ठभूमि
शेरबहादुर देउवा १४ जुन १९४६ मा डडेल्धुराको असिग्राम–६ रुवाखोलामा जन्मिएका हुन् । उनको जन्म किसान परिवारमा भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक देउवाले लन्डन स्कुल अफ इकोनोमिक्सबाट मानार्थ डिग्रीसमेत हासिल गरेका छन् ।
उनी नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुन् । संघको दोस्रो महाधिवेशनबाट देउवा अध्यक्षमा निर्विरोध चयन भएका थिए । राजनीति गर्दागर्दै पटक–पटक गरी उनी नौ वर्ष जेल बसे । २०४८ को संसदीय निर्वाचनमा उनी डडेल्धुराबाट विजयी भएका थिए । सोही निर्वाचपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा उनलाई गृहमन्त्रीको जिम्मेवारी दिइयो । २०५१ र २०५६ को निर्वाचनमा पनि देउवा डडेल्धुराबाट निर्वाचित भए । २०६४ को पहिलो संविधानसभा र दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली–६ मा निर्वाचित भएका थिए ।
देउवा २७ भदौ २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । कांग्रेसमा धेरैपटक प्रधानमन्त्री बन्ने गिरिजाप्रसादपछिका नेतामध्ये एक हुन् देउवा । तीनपटकसम्म प्रधानमन्त्री भएका उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट दुईपटक बर्खास्तमा पर्न पुगे । पार्टीभित्र चर्को अन्तर्संघर्षका कारण कारबाहीमा परेपछि उनले २०५९ असारमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे । तर, राजाको निरकुंश शासनले एक ठाउँमा ल्याउन बाध्य पारेपछि २०६४ को संविधानसभा निर्वाचनअघि मूल पार्टी कांग्रेससँग उनले एकीकरण गराए ।
२०६७ असोजमा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा देउवा सभापतिमा सुशील कोइरालासँग ३ सय ३५ मतले पराजित हुुन पुगे । २०७० माघमा भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पनि उनी कोइरालासँगै पराजित भए । त्यसअघि २०५७ मा पोखरामा सम्पन्न नवौँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका उनी गिरिजाप्रसादसँग पराजित हुन पुगेका थिए । गृहमन्त्री पदमा बहाल रहेकै अवस्थामा ४५ वर्षको उमेरमा उनको डा. आरजु राणासँग विवाह भएको थियो ।
बिपी कोइरालाबाट प्रभावित रामचन्द्र पौडेल २०१७ सालमा जननिर्वाचित प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि १६ वर्षको उमेरदेखि राजनीतिमा लागेका थिए । कांग्रेसद्वारा सञ्चालित २०१८ सालको सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । उनी २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनको अभियन्ता, २०२३ मा सरस्वती क्याम्पस विद्यार्थी युनियनको निर्वाचित सभापति, २०२३ मा गण्डकी विद्यार्थी समितिको निर्वाचित संस्थापक सभापति, २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव भएका थिए ।
२०२७ मा नेपाल विद्यार्थी संघ स्थापनार्थ अगुवाइ गर्दै उनी आफू भने केन्द्रीय सदस्य मात्रै बने । २०३४ सालमा कांग्रेस तनहुँ जिल्ला समितिको सदस्यमा निर्वाचित पौडेल २०३६ सालमा उपसभापतिमा निर्वाचित भए । २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक भएका पौडेल २०४४ सालमा कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागको प्रमुख बने । २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा तनहुँ–१ बाट संसद् सदस्यमा निर्वाचित भए । पौडेलले नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री गरेका छन् ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री बने । २०५१ सालको मध्यावधि निर्वाचनमा तनहुँ–२ बाट संसद् सदस्यमा निर्वाचित पौडेल प्रतिनिधिसभाको सभामुख निर्वाचित भई पाँच वर्षसम्म काम गरे । २०५७ मा उपप्रधान, गृह एवं सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । पौडेल २०६२ सालमा कांग्रेसको महामन्त्री बने । २०६३ सालमा पुनःस्थापित संसद्को सदस्य भई माओवादीलाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह एवं शान्ति सचिवालयको संयोजक भएका पौडेल २०६३ मा शान्ति तथा पुनर्निर्माणमन्त्री भए । २०६४ सालमा कांग्रेस उपसभापति भएका पौडेल २०६५ सालमा संसदीय दलको नेतामा निर्वाचित भए । २०१९ देखि २०४६ सालसम्ममा पटक–पटक गरी राजनीतिक बन्दीका रूपमा पौडेल १३ वर्षको जेल बसेका छन् ।
रमेश सापकोटा/ नयाँ पत्रिकाबाट