Untitled-2 copyमोरङ / विवादकाबीच मोरङमा १७ र झापामा १५ वटा स्थानीय निकाय निर्माणका लागि स्थानीय तह पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरेको छ ।

समितिले मोरङमा १० नगरपालिकासहित सत्र वटा इकाई बनाउने सिफारिस गरेको छ । १० नगरपालिका, ६ गाउँ पालिका र एक महानगरपालिका बनाउने सिफारिस गरेको छ । झापामा एक उपमहानगरपालिका, ८ नगरपालिका र ६ गाउँपालिका गरी १५ वटा निकायको सिफारिस भएको छ ।

मोरङमा तीन वटा पहाडी नगरपालिकासमेत संघीय आयोगमा सिफारिस गरिएको स्थानीय विकास अधिकारी एवम् प्राविधिक समितिका संयोजक शोभाखर रेग्मीले बताए ।

विराटनगरलाई महानगरपालिका बनाउने बिषयमा भने चर्को विवाद देखिएको छ । काग्रेंसले महानगर बनाउने बिषयलाई चासो दिएको छैन । तर नेकपा एमाले, माओवादी, मधेशवादी दल भने विराटनगरलाई महानगर बनाउनु पर्ने पक्षमा छन् । एमालेको अगुवाइमा कांग्रेस बाहेकका ६ दलले मंगलबार जिल्ला प्राविधिक सहयोग समितिलाई ज्ञापनपत्र बुझाएर जनसंख्या पुग्नेगरी वरपरका गाविस समेटेर महानगरपालिका बनाउन माग गरिएको एमाले जिल्ला अध्यक्ष महेश रेग्मीले बताए । समितिले विरानगरमा बैजनाथपुर गाविस र बुधनगरको १,३,४,५ नम्वर वडा गाभेर महानगरपालिका बनाउने भन्ने कुरा आयोगमा पठाएर महानगर बन्नबाट पन्छाउने जानकारी पठाएको भन्दै उनले खेद व्यक्त गरे । ‘जनसंख्या र वार्षिक आय नपुग्ने गरी कांग्रेसको आग्रहलाई स्वीकार्दै झारो टार्नका लागि महानगरको नाम पठाउनुको कुनै अर्थ छैन, प्रावधान पुग्ने गरी वरपरको क्षेत्र समेट्न माग गरेर ज्ञापनपत्र बुझाएका छौं ।’– उनले भने । यसअघिदेखि नै कांग्रेससँगको समेत सोही सहमति रहेको भएपनि बीचमा धोका दिएको उनले आरोप लगाए । उनले रिङरोडले छोएको टंकीसिनुवारी, हात्तीमुढा, लखनतरी, बैजनाथपुर, झोराहाट, कटहरी, भागीगछ, बुधनगरलाई विराटनगरमा समेट्नुपर्ने माग राखिएको उल्लेख गरे । विराटनगर महानगर नबनाए आन्दोलन गर्ने ६ दलको चेतावनी छ । ६ दलको माग सम्बोधन भए इकाईको संख्या घट्न समेत सक्ने देखिन्छ ।

कांग्रेस पक्षले भनें विकास भएको उपमहानगरसँग विकासको गति नमिल्ने भएकाले ग्रामिण क्षेत्रले आआफ्नो स्वायत्तता र विकासको समानताका लागि महानगरमा गाभिन नमानेको तर्क राखेको छ ।

केरावारी, याङशिला, पाटीगाउँ, सिंहदेवी र भोगटेनी १ देखि ५ सम्मका वडा मिलाएर पहाडी नगरपालिकाको समितिले सिफारिस गरेको छ । त्यस्तै अर्काे पहाडी नगरपालिकामा वारंगी, लेटाङ, जाँतेको १, २, ५, ६, ७, ८, ९ भोगटेनीको ६, ७, ८, ९ वडालाई समेट्ने भनेको छ । जाँते ३ र ४ नम्बर वडा, टाँडी, रमितेखेला र मधुमल्लाको १ देखि ६ सम्मका वडाहरुलाई अर्काे पहाडी नगरपालिका बनाउने सिफारिस गरिएको छ ।

सुन्दरपुर, मृगौलिया, इन्द्रपुर, हरैंचा र दुलारी मिलाएर नगरपालिका, बेलवारी, बाहुनी, डाँगिहाट र कसेनी अर्काे नगरपालिका तथा उर्लावारी नगरपालिकामा राजघाट र मधुमल्ला ७, ८ र ९ वडा मिलाएर नगरपालिका बनाउने सिफारिस छ । पथरीशनिश्चरे नगरपालिकामा हसन्दह गाविस थपेर नगरपालिका बनाउने तथा रंगेली नगरपालिकामा ववियाविर्ता,आमगाछी र दर्वेशा राखेर नगरपालिका कायम राखिने छ ।

अमरदह, टकुवा, गोविन्दपुर २, ५, ६, ८ र ९ वार्ड, डाइनियाँ, वरडंगा २, ३ ६, ८ र ९ वडा मिलाएर अर्को नयाँ नगरपालिकाको योजना भएको छ । इटहरा, सिजुवा, झुर्किया, महादेवा, वरडंगा ५, ७, ४, १ र गोविन्दपुर १, ७, ३, ४ वडाहरु मिलाएर उसैगरी थप नयाँ नगरपालिका निर्माणको सिफारिस भएको छ ।

सिसवनी बडहरा, तेतरिया, हातिमुढा र टंकिसिनुवारी मिलाएर गाउँपालिका बन्ने भएको छ । त्यस्तै वयरवन, केरौन, होक्लावारीको अर्काे गाउँपालिका, डंग्राहा, बनिगामा, मोतिपुर, सिद्राहा, झोराहाट र लखन्तरीको समेत गाउँपालिका बनाउने सिफारिस भएको छ । सिसवनी जदाहा, मझारे, भाथिगछ, बुधनगर २, ७, ६, ८, ९ वडा र पोखरिया एउटा गाउँपालिका दादरवैरिया, कदमाहा, सोराभाग, अमाहिवरियाती र नोचा अर्काे गाउँपालिकाका लागि गाभिएका छन् । भौडाहा, थलाहा र कटहरी गाभिएर अर्काे गाउँपालिकाको योजना बनेको छ ।

झापा ७ मा विरोध

नेकपा एमालेको असहमतिबीच झापामा १५ वटा निकाय निर्माण गर्ने निर्णय भएको छ ।

झापामा यस अघि रहेका नगरपालिकाहरुलाई यथावत राख्दै एक उपमहानगरपालिकासहित १५ गाँउ तथा नगरपलिकामा पुनर्संरचना गरेको जिल्ला प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए । आयोगले दिएको समयअवधि सकिएकाले पनि एमालेको सहमति विना निर्णय पठाउनु परेको उनले उल्लेख गरे ।

उता, एमाले झापा अध्यक्ष चिन्तन पाठकले एमाले बाहेकका दल बसेर अन्तिम निर्णय गरी एमालेलाई पाखा लगाउने काम भएको आरोप लगाए । उनले एमालेले ११ निकाय बनाउने भनेर अघिल्लो पटकको पुनर्संरचनाको बेला गरेको निर्णयबीच अरु दलसँग छलफलै गर्न नपाएको जिकिर गरे ।

उता, दमक नगरपालिकामा लखनपुर, तोपगाछी र धरमपुर गाविस गाभेर ७ नम्बर क्षेत्रकै एउटा उपमहानगरपालिका बनाउने स्थानीयको माग विपरित समितिले निर्णय गरेको भन्दै त्यहाँका बासिन्दाले सर्वपक्षीय संघर्ष समिति बनाउने निर्णय गरेका छन् । मंगलबार भएको सर्वपक्षीय बैठकमा कांग्रेस महासििमति सदस्य सुरेश सुब्बा, एमालेका जिल्ला अगुवा देवेन्द्र दहाल, ७ नम्ब क्षेत्रीय इन्चार्ज होम थापा, माओवादी केन्द्रका ७ नम्बर क्षेत्रीय इन्चार्य गगन पुरी, राप्रपाका दमक नगर अध्यक्ष प्रविण चाम्लिङ सहित दल तथा संघ संस्थाका प्रतिनिधिको भेलाले बुधबार संघर्ष समिति खडा गरेर आन्दोलन अगाडी बढाउने निर्णय गरेको छ । समितिले दमकलाई मात्र नगरपालिका बनाउने र अन्य गाविसलाई नगाभ्ने भएपछि लखनपुरका घरघरमा विरोध स्वरुप कालोझण्डा गाडिएको छ ।

पुर्नसंरचनामा, मेचीगनर नगरपालिकामा बाहुनडाँगी, धाईजन दुहागढी र ज्यामीरगडी गाविस गाभेर मेचिनगर उपमहानगरपालिका बनाइएको छ । यसअघि नै नगरपालिका बनेका दमक, विर्तामोड, भद्रपुर, शनिअर्जुन, गौरादह, कन्काई, शिवसताक्षी र कमल नगरपालिकामा नजिकका गाविस मिलाएर नगरपालिका बनाउने सिफारिस गरेको छ । शान्तिनगर र बुधबारे गाविसलाई बुद्धशान्ति गाँउपालिका, खुदुनाबारी गाविसलाई शनिअर्जुन नगरपालिकामा गाभ्ने, विर्तामोड नगरपालिकामा गरामनी गाविस गाभ्ने, भद्रपुर नगरपालिकामा पृथ्वीनगर गाविस गाभ्ने निर्णय भएको छ ।

पाठामारी, बनियानी, वालुवाडी, पथरीया केचना र घेराबारीलाई कचनकवल गाँउपालिका बनाउने, हल्दिबारी, जलथल र गोलधापलाई हल्दिबारी गाँउपालिका बनाउने, राजगढ, चकचक्की र डाँगीबारीलाई बाह्रदशी गाँउपालिका बनाउने निर्णय गरिएको छ ।

त्यस्तै कुमरखोद, टाँगनडुब्बा र शरणामति गाविसलाई झापा गाँउपालिका, धरमपुर पाँचगाछीलाई शिवसताक्षी नगरपालिकामा गाभ्ने, गौरीगञ्ज, खजुरगाछी, माहाभारा र कोरोबारीलाई गौरिगञ्ज गाँउपालिका बनाउने निर्णय आयोगमा पठाइएको छ । बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने, लखनपुर र तोपगाछीलाई कमल गाँउपालिका बनाउने तथा दमक नगरपालिकालाई साविककै नगरपालिका बनाउने र डाँगीबारी ४, शिवसताक्षी ५, ९ लाई कनकाई नगरपालिकामा गाभ्ने निर्णय जिल्लास्थित पुनर्संरचना प्रविधिक समितिले सार्वजनिक गरेको छ ।