Indian Prime Minister Narendra Modi (C) shakes hands with Prime Minister of Nepal Pushpa Kamal Dahal ‘Prachanda’ (L) as his wife Sita Dahal looks on, during a ceremonial reception at the Presidential palace in New Delhi on September 16, 2016.  / AFP PHOTO / Prakash SINGH नयाँदिल्ली(एजेन्सी) वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यसपटकको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री प्रचण्डले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन् । सामान्य अवस्थादेखि राजनीतिक परिवर्तनका कारण उतारचढाव हुने नेपाल–भारत सम्बन्धमा संविधानसभाबाट संविधान घोषणापछि अविश्वासको दूरी बढेको थियो । यसरी सम्बन्धमा उतारचढाव आए पनि भारत नेपालको अनन्य मित्र नै हो । ऐतिहासिक, राजनीतिक, सांस्कृतिक एवम् धार्मिक रूपमा दुई देश धेरै नजिक छन् । त्यसैगरी जनस्तरमा पनि गहिरो सम्बन्ध गाँसिएको छ । यस्ता सम्बन्धलाई सुमधुर बनाइराख्न पनि आपसमा भएका तीतामीठा कुरा आदानप्रदान गर्न अत्यन्त जरुरी हुन्छ । तिनै धरातलमा रहेर प्रधानमन्त्री प्रचण्डले यसपटकको भ्रमण सकेका छन् । उनले विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिए । उनले कुनै नयाँ सम्झौतामा हस्ताक्षर गरेनन् । यसले पनि यस भ्रमणलाई आपसी सद्भावमा सीमित राखेको प्रतिनिधि मण्डलमा रहेका सदस्यको भनाइ छ । भ्रमणको समीक्षा गर्दैै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका भन्छन्, ‘यसपटक प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उँचाइमा पु¥याउनुभएको छ । यसले आगामी दिनमा विश्वासको वातावरण सिर्जना गर्छ भन्ने मैले विश्वास लिएको छु ।’ भ्रमणकै बारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतीय प्रधानमन्त्री मोदी र मेरो खुलेर दिलदेखि कुरा भएको छ, यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ, यसले विश्वासको वातावरण सिर्जना गरेको छ ।’ भदौ ३० गते भारत आएका प्रधानमन्त्री प्रचण्डले यहाँ भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विहारका मुख्यमन्त्री नितेश कुमार, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरूण जेट्ली, ऊर्जा राज्यमन्त्री पियुस गोयल, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलगायतसँग भेटवार्ता गरे । सो भेटवार्ताका क्रममा प्रधानमन्त्रीले आफ्ना धारणा स्पष्ट राखेको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जनाए । उनले भने, ‘विभिन्न तहमा भएका वार्ता र छलफलले दुई देशबीच विश्वासको वातावरण बनेको छ, यसले आपसी सहकार्यलाई नयाँ उचाइमा पु¥याएको छ ।’ मन्त्री महतका अनुसार सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यो पूरा भयो । राजनीतिक सम्बन्ध मजबुत प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आएलगत्तै लामो समयदेखि यहाँ बसिरहेका प्रवासी नेपाली, यहाँका राजनीतिक दल एवम् नेतासँग भेटघाट गरे । अधिकांश राजनीतिक भेटघाट यहाँस्थित नेपाली दूतावासमै भएको थियो । मुख्यमन्त्री नितेस कुमार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाली दूतावास पुगे । दूतावासमा प्रधानमन्त्री प्रचण्डसँग नेसनलिस्ट कङ्ग्रेसका महासचिव डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, जनता युनाइटेडका नेता शरद यादवलगायतका नेताले भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई थप माथि उठाउने प्रतिबद्धता जनाएका थिए । उनीहरूसँग राजनीतिक एवम् जनस्तरबाटै दुई देशबीचको सम्बन्धलाई माथि उठाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जनाए । उनले भने, ‘प्रधानमन्त्रीको यसपटकको भ्रमण दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउन सफल भएको छ । सम्बन्ध मजबुत भएको छ ।’