पाँचथर/जलविद्युत आयोजनामा पूर्वी पहाडी जिल्ला पाँचथर सवल बन्दै गएको छ । जिल्लामा अहिले एक आयोजना सञ्चालनमा, एक परिक्षण उत्पादनमा र तीन आयोजना निर्माणधिन अवस्थामा छन् । जिल्लाको फिदिम–रानीटार सिमाना खोरङ्गा खोलाबाट उत्पादित ‘खोरङ्गा खोला जलविद्युत आयोजना’ हाल सञ्चालनमा छ । अन्य चार ठूला आयोजना निर्माणधिन अवस्थामा छन् । तीमध्ये १५ मेगावाट क्षमताको ‘हेंवा ए’ ले परिक्षण उत्पादन सुरु गरेको छ ।पाँचथर पावर कम्पनिले २ अर्व ५६ करोड लगानीमा निर्माण गरेको ‘हेंवा ए’ हालै परिक्षण उत्पादनको चरणमा पुगेको हो । आयोजनामा माछापुच्छ, सानिमा, इन्भेष्टमेन्ट बैंक र व्यक्ति तथा स्थानीयको समेत लगानी छ । आयोजनाको चार किलोमिटर टनेल, ड्याम, इलेक्ट्रोनिक जडान, पावर हाउस र ट्रान्समिसन लगायतको काम सम्पन्न भएको निर्माण कम्पनिका प्रमुख पुष्पज्योति ढुंगानाले बताए । ‘हेंवा ए’ को निर्माण कार्य २०६८ बाट सुरु भएको थियो । जिल्लाको भारपा, याङ्नाम र नांगीन गाविस आयोजना प्रभावित क्षेत्र हो ।
हेंवाखोलाबाटै २१ मेगावट क्षमताको ‘तल्लो हेंवा जलविद्युत आयोजना’ निर्माणधिन छ । माउन्टेन हाइड्रो प्रा.लि.नेपालले आयोजनाको काम गरिरहेको छ । २०७१ मंसीर देखि सुरु भएको आयोजनाको काम दुई वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । हाल ५३ सय मिटर टनेल मध्ये ४० सय मिटर बढी टनेल निमार्ण भइसकेको छ । बाँधको कार्य ५० प्रतिशतभन्दा बढी सकिएको छ । काममा कुनै अवरोध नआए अबको ८ महिनामा पावर हाउस निमार्ण कार्य सम्पन्न हुने प्रा.लि.का अध्यक्ष सिताराम तिम्सिनाले बताए । ‘तल्लो हेंवा’ मा प्राइम बैंक र माउन्टेन हाइड्रो प्रा.लि. नेपालको ३ अर्व ६६ करोड लगानि रहेको छ । आयोजनाको निर्माण क्षेत्र फिदिम नगरपालिकाको वडा नम्बर ४, ५ र नांगीन गाविसको वडा नम्बर १ हो ।त्यस्तै पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीबाट ३७.६ मेगावाट क्षमताको ‘कावेली ए जलविद्युत आयोजना’ निर्माणको चरणमा छ । ‘काबेली ए’ मा विश्व बैैंकले ४० मिलियन अमेरिकी डलर अर्थात् करीब ४ अर्ब रुपैंयाँ लगानि गर्दैछ । पाँचथरको अमरपुर र पञ्चमी त्यस्तै ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसलाई प्रभाव क्षेत्र बनाएर निर्माण भइरहेको ‘काबेली ए’ को झिझ्याङ् नामक चिनिया कम्पनिले ठेक्का पाएको छ । आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार आयोजनाको पहिलो चरणको काम जग्गा खरिद र सडक पहुँच विस्तारको काम भइसकेको छ ।
सोही नदीबाट अरुण काबेली पावर लिमिटेडले २५ मेगावाट क्षमताको जलविद्युत आयोजना ‘काबेली बी (वान)’ निर्माण गरिरहेको छ । पाँचथरको थर्पु, नागी, अमरपुर र ताप्लेजुङको साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका स्थानीय आयोजनाबाट प्रत्यक्ष प्रभावित छन् ।यी सबै आयोजना सम्पन्न भएपछि पाँचथरबाट १ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुनेछ । यद्यपी आयोजनाको काम सकिए पनि उत्पादित विद्युत निर्यात गर्ने माध्यम नहुँदा आयोजनाले घाटा व्यहोर्नुपर्ने अवस्था रहेको निर्माण कम्पनीले जनाएका छन् । निर्माणधिन काबेली करिडर समयमै निर्माण नहुँदा यस्तो समस्या आएको हो । करिडर आगामी वैशाख दोस्रो सातासम्ममा निर्माण भइसक्ने बताइए पनि विविध कारण देखाउँदै पटक–पटक म्याद थप गरिंदै आएको छ । जसले गर्दा निर्धारित समयमा करिडर बन्ने सम्भावना छैन । जसका कारण उत्पादित विद्युत निर्यात गर्न समस्या हुनेछ । जिल्लामा ठूला जलविद्युतका आयोजना सञ्चालन हुनु खुसीको विषय हो । यद्यपी आयोजना प्रभावित क्षेत्रका स्थानीयको असन्तुष्टी भने कायमै रहेको न । आयोजना निर्माण गर्ने समयमा स्थानीयबासी सँग भएको सम्झौता निर्माण कम्पनिले पूरा नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयको गुनासो किनारा लाग्न नसकेको हो ।
निर्माण कम्पनिले प्रभावित क्षेत्रका स्थानीय सँग सडक, खानेपानी, सिंचाई, जग्गाको क्षतिपूर्ति र रोजगारीको अवशर प्रदान गर्ने लगायतका विषयमा सम्झौता गर्ने गरेको छ । यद्यपी निर्माण कम्पनिले भने स्थानीयबासीको माँग पूरा गर्दै आएको र पूरा हुन बाँकि माँगहरुलाई पनि क्रमशः पूरा गर्दै लगिने बताएका छन् । जिल्लाका सरोकारवालाहरुले पनि दुबै पक्षलाई मार नपर्ने गरी उठेका विवादलाई समाधान गर्नुपर्नेमा जोड दिंदै आएका छन् ।
सना आयोजनाले गाउँघर झिलिमिलि ः
जिल्लामा ठूला मानिएको एक जलविद्युत आयोजना सञ्चालनमा, एक परिक्षण उत्पादनमा र तीन आयोजना निर्माणधिन अवस्थामा छन् । नेपाल विद्युत प्राधिकरणले एक दशक अघिदेखि सदरमुकाम फिदिम बजारमा ३३ केभि केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार गरेको छ । तर त्यसको पहुँचबाट अझै जिल्लाका १३ हजार घरपरिवार बञ्चित छन् । तर पनि पाँचथरका दर्जन बढी गाविसका गाउँघर बिजुली बक्तिको उज्यालोले झिलिमिलि छन् ।जिल्लाको विभिन्न स्थानमा सञ्चालनमा ल्याइएको लघु तथा साना जलविद्युत आयोजना मार्फत दुर्गम गाउँघर यसरी झिलिमिलि बनेका हुन् । जिल्लाको सुदुर उत्तरी च्याङ्थापु, फलैंचा, एकतीन, प्राङबुङ, सिदिन, लुङरुपा सँगै दक्षिणका कुरुम्बा, पौवासारताप, इम्बुङ, चिलिङदिन, फाक्तेप लगायतका एक दर्जभन्दा बढी दुर्गम गाविसका स्थानीयले उज्यालोको उपभोग गरिरहेका हुन् । त्यसै खेर गइरहेका खोलाहरुबाट जिल्लामा विश्व बैंक, एसियाली विकास बैंक, नेपाल सरकार, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र लगायतको ऋण तथा आर्थिक सहयोग र लगानीमा लघुजलविद्युत आयोजना बनेका हुन् ।
यसमा जिविस, गाविसको आर्थिक सहयोग तथा उपभोक्ताहरुको समेत लगानी रहको छ । जिल्लाको विभिन्न गाविसमा १० देखि एक सय किलोवाट क्षमताका १५ वटा लघुजलविद्युत आयोजना निर्माण भएका छन् । जसबाट ७ सय ५५ किलोवाट विद्युत उत्पादन हुने गरेको जिल्ला विकास समिति अन्तर्गतको उर्जा तथा वातावरण शाखाले जनाएको छ ।