धरान/नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रमाणित भएपछि शुक्रबारबाट भारततर्पm अदुवा निकासी खुला भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाली अदुवाको प्रवेश रोकेर बखेडा झिकेको थियो । दुई देशबीच करीब एक वर्ष सम्बन्ध चिस्सिएपछि हुन गइरहेको उच्चस्तरीय भ्रमणअघि नै यो विवाद सल्टाउन नेपाली अधिकारीहरू लागिपरेका थिए ।भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा विषादी नभएको प्रतिवेदन दिएपछि निकासी खुल्ला भएको हो ।
नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिवन्धित विषादी फेला परेको भन्दै भारतले आÏनो बजारमा प्रवेश नदिन सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा करीब दुई सातादेखि कुनैपनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन ।नेपाली व्यवसायीले यसको विरोध गरेपछि भारतीय पक्षले पुनः गुणस्तर परीक्षण गर्न करीब एक हजार किलो नमूना कोलकाता प्रयोगशाला लगेको थियो । त्यसैको रिपोर्टका आधारमा शुक्रबारबाट प्रतिबन्ध हटाइएको हो ।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्रकुमार खड्काले प्रतिवन्ध हटेसँगै शुक्रबारबाटै नेपाली अदुवा भारत जान थालिसकेको जनाएका छन् ।सङ्घका व्यवस्थापक सत्यम खड्काका अनुसार शुक्रबार बेलुकी ५ बजेसम्म ३३ गाडी अदुवा भारत छिरिसकेका छन् । यसअनुसार शुक्रबार मात्रै लगभग ५ सय टन अदुवा निकासी भएको छ । साबिकमा दिनको औसत साढे ३ सय टन निकासी हुँदैआएको खड्काले बताए । नेपाल र भारतबीच बिहीबारबाट शुरु कृषि मन्त्रालयको सहसचिवस्तरीय संयुक्त बैठकमा अदुवा निकासी प्रतिवन्ध भएको एजेन्डालाई प्राथमिकतासाथ उठाइएको थियो । भारतले नेपाली अदुवा छिर्न नदिएपछि पूर्वनिर्धारित यो बैठकमा अन्तिम समयमा नयाँ एजेन्डा थपिएको हो ।नेपाल संसारमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो । आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत निर्यात हुँदैआएको छ ।
गत आर्थिक वर्ष नेपालले ६४ करोड रुपैयाँ बराबरको झण्डै २ करोड ८३ लाख केजी अदुवा भारत निकासी गरेको थियो ।यसबीच व्यवसायीको टोलीले भारतीय दूतावासका अधिकारीसँगको छलफलमा पनि नेपाली अदुवामा विषादी मिसिएको आरोप निराधार भएको दाबी गरेका थिए । उनीहरूले आफ्नै आँखाअगाडि नमूना सङ्कलन गरेर परीक्षण गर्न भारतीय निकायलाई चुनौतीसमेत दिएका थिए । नेपाली अदुवा राम्रो गुणस्तरको मानिन्छ । कुनै बेला भारतीय कृषिविज्ञ टोली नेपाल आएर यहाँ उत्पादन हुने अदुवालाई ‘उच्च गुणस्तरको’ भनी प्रशंसा गरेको थियो ।
दक्षिण भारतको कर्नाटकमा अदुवा उत्पादन बढेपछि भने परिस्थिति फेरिएको छ । नेपाली अदुवाले भारतीय उपजलाई नै प्रतिस्पर्धामा पछार्न थालेपछि भारतकै केही व्यावसायिक समूह नेपाली अदुवा रोक्ने प्रपञ्चमा लागेका छन् । नेपालबाट निकासी हुने अदुवाको ६५ प्रतिशत बजार कोलकाता हो । बाँकी दिल्ली लगायत अन्य शहरमा खपत हुन्छ ।