धरान/कुनै समय थियो, समाजका चल्तीका मान्छेसँग बोल्दा पनि आफूलाई भाग्यमानी ठान्थे धरान–९ का सुन्दर श्रेष्ठ । उनीहरुको झै नाम हुन पाएँ भन्ने सोच्थे । तर, कसरी ? कुनै आइडिया थिएन् मनमा ।

अहिले तिनै सुन्दर, ‘सुन्दर साउण्ड सर्भिस’ को नामले देशभरी चिनिन्छन् । ध्वनीको कामले नाम, दाम र इज्जत पाएका यिनै सुन्दरको कथा भने नाम जतिकै कुरुप छ । पुख्र्यौली घर धरान–११, दुर्गाचोक भएका सुन्दरको संर्घषको कथा २०४२ सालदेखि प्रारम्भ हुन्छ । जसले भारतको कोलकत्तामा किनेको ६० वाटको एम्लिफायर र १२ इन्चको दुईवटा स्पिकरले सुन्दर साउण्डको प्रारम्भ भयो । उक्त एम्लिफायर तिहारमा भाडामा जान्थ्यो । त्यसबाट केही कमाउथे । त्यही कमाईले थप्दै जान्थे । त्यही थपाईले आज उनी राष्ट्रभरमा चिनिने सुन्दर साउण्ड भएका छन् ।
त्यो एम्लिफायर किन्ने प्रेरणा पनि २०३८ साल ताकाको तिहारबाट पाएका थिए । गाउँका दाईहरुले तिहारमा साना भाइहरुलाई नलाने र नाँच पनि हेर्न दिदँैन थिएँ । त्यहीबाट उनको मनमा इख पलायो । आफै एम्लिफायर किनेर चलाउने । त्यही प्रेरणाले २०४२ सालमा सार्थक भइदियो । त्यो अवसर पनि तत्कालीन घोपा क्याम्पमा स्टाफहरुलाई ल्याउने लाने एउटा गाडी थियो । त्यही गाडीमा चढेर उनी कोलकता पुगेका थिए । घरमै दुःख गरेर कमाएको पैसाले उनले त्यो एम्लिफायर जोड्न सकेका थिए । जव, उनले एम्लिफायर ल्याए । उनको एम्लिफायरको डिमाण्ड धेरै भयो ।
त्यही ताँका उनी हाउस वाइरिङ, मोटर बनाउने कामसमेत गर्थे । हाउस वाइरिङको काम उनले श्रम मन्त्रालय अन्तर्गतको श्रमिक आपूर्ति केन्द्रले २०४१ सालमा दिएको ६ महिने तालिमका कारण सिकेका थिए । त्यो बेलामा खाजा बापत दिने मासिक २ सय रुपैया पनि जोगाएर उनले भारतको सिलिगुडीमा गएर स–सना इलेक्ट्रिक सामानहरु किनेर धरानमा ल्याएर बिक्री गर्थे । केही मुनाफा कमाउथेँ । त्यही मुनाफाले फेरि अर्को सामान किनेर ल्याउथे । बेच्थे ।
केही समय उनको यसरी नै दिनचर्या बित्यो । २०४६ सालसम्म हाउस वाइरिङ काममै बिताए । त्यसपछि भने सुन्दर साउण्ड सर्भिस खोले । भएको त्यही ६० वाटको एम्लिफायर भन्दा केही थिएन् । त्यो बेलामा च्याउ जसरी उम्रिएका नाट्य संघ संस्थाले उनको व्यवसायलाई थप मलजल गरिदियो । केही समय त्यसैले धान्यो उनको व्यवसाय । तर, २०५५ पछिका वर्षहरु भने नाट्य संघ संस्थाहरु बिलाएर गए । त्यही बेला उनी जेसिजमासमेत आवद्ध थिए । जेसिजले २०५६ सालमा महाधिवेशन गर्दै थियो । उक्त महाधिवेशनको लागि साउण्डहरु चाहिएको थियो ।
‘त्यो बेलासम्म काठमाडौंबाट ल्याउने प्रचलन थियो ।’ उनले भने । त्यसपछि उनले आफैले केही सामग्री जोडे । जुन, जेसिजको महाधिवेशनसमेत पूरा गर्यो । त्यहीबाट सुन्दर साउण्डले केही व्यापकता पाएको उनको ठम्याई छ । जम्मा १५ हजार रुपैयाबाट उनले व्यवसाय सुरु गरे । अहिले उनको करोडौंको सम्पत्ति छ । यही व्यवसायले बुबाको पुख्र्यौली थलो दुर्गाचोकसमेत छाडे । २०४९ सालमा बिहे गरे । २०५० सालमा एकजना पार्टनर खोजेर न्यु होराइजन रेकर्डिङ स्टुडियोसमेत चलाए । उनको स्टुडियोमा छिन्नलता पुरस्कार प्राप्त गायिका रमना श्रेष्ठ, महेश बुढाथोकीले पहिलो पटक रेकर्डिङ गरेको स्मरण गर्छन् । तीनवर्ष जति चल्यो । तर, बाद्य बादक र विभिन्न समस्याले गर्दा उनले त्यो व्यवसायलाई चट्टै माया मारे ।
एकोहोरो साउण्डमै ध्यान दिए । मर्मत सेन्टर तथा साउण्डको काम गर्दा गर्दै अहिले उनी धरानमा मात्रै हैन, देशमै चल्तीका मान्छेमा पर्छन् । ‘यो सबै सम्झिदा कथा जस्तो लाग्छ ।’ उनी भन्छन् ‘मै थिए । जसले चल्तीका मान्छेसँग बोल्दा कहिले यस्तो भइन्छ होला भनेर ठान्ने । अहिले राष्ट्रले चिन्छ ।’ उनी थप्छन् ‘सुन्दर साउण्डले सुरुमा मलाई नाम दियो । पछि दाम दियो ।’ त्यसो त उनमा विदेश जाने रहर नपलाएको होइन् । २०४१ सालतिर दक्षिण कोरिया जाने भूत चढ्यो । पासपोर्ट पनि बनाएँ । त्यो बेलामा ८० हजार रुपैया लाग्थ्यो । त्यो ८० हजार जुटाउनको लागि या त जग्गा बेच्नु पथ्र्यो या त धितो पास गर्नु पथ्र्यो । ‘त्यो देखेपछि छाडिदिएँ ।’ उनी भन्छन् ‘मेरो कारणले पुरै परिवार नै डामाडोल हुन सक्थ्यो । त्यही कारणले नै नजाने निर्णय गरे ।’
अहिले त्यो निर्णय सही गरेछु भन्ने उनलाई लाग्छ रे । अहिले ६ जनालाई रोजगार दिएर आफू र आफ्नो परिवारलाईसमेत रोजगार दिएको बताउँछन् । ‘छोराहरु विदेश जान्छु भन्छन् । एकढेडलाख कमाउन किन जाने यही हुन्छ भने भनेर भनिदिन्छु ।’ उनी भन्छन् । अहिले उनको संगीतमा चाहिने ‘इन्स्टु्रमेन्ट’ हरुसमेत बिक्री गर्छन् । कुनै बेला पैसा जुटाउनको लागि अर्काको बारी, खेत जोत्नु पर्ने बाध्यताबाट गुज्रिएका सुन्दर सोच्छन् ‘जुत्ता लगाउनको लागि पनि या त अर्काको खेत जोत्नुपथ्र्यो यात मुड्का बेच्ने चलन थियो ।’ मुड्का बेचेरै उनले जुत्ता लगाएको स्मरण गर्छन् ।
तत्कालीन पब्लिक स्कुलबाट एसएलसी दिएका उनले महेन्द्र बहुमुखी क्याम्पसमा आइएसम्म अध्ययन त गरे । तर, त्यहाँ भन्दा माथि जान सकेनन् । किशान हुनुको बाध्यता र परिवारको जेठो छोरो भएकाले सबै कुरा हेर्नु पर्ने कारण पनि उनले पढाई छिचोल्न सकेनन् । १९ वर्षको उमेरदेखि सुरु गरेका सुन्दरले यही व्यवसायबाट ढेड देखि २ करोड भन्दा बढी कमाएको दाबी गर्छन् ।
उनले आफ्नो कमाई भन्दा पनि भावी पुस्तालाई बाटो देखाउन सकेकोमा ढुक्क छन् । ‘यदी बुबाजस्तै म पनि किशान भएको भए मेरा छोरा र आउदो पुस्ता पनि किशान नै हुन्थे । तर, अहिले मैले व्यवसाय थालेकाले पनि मेरा सन्तान नै केही न केही व्यवसायमा आवद्ध छन् ।’ उनी भन्छन् । उनले सामान्य माइकिङको ५ सय रुपैया देखि एक दिनको १ लाख रुपैयासम्म लिने गरेका छन् । पूवको अधिकांस क्षेत्रमा उनको साउण्ड पुग्ने गरेको छ यतिखेर ।