खोटाङ/ धेरै विद्यार्थीको सोचाइ डाक्टर, इञ्जिनियर बन्ने हुन्छ । डाक्टर र इञ्जिनियर भएपछि कमाइ र इज्जत सँगसँगै भविष्य सुनिश्चित हुन्छ भन्ने उनीहरुको विश्वास हो । तर खोटाङ विजयखर्कका इञ्जिनियर श्याम पोखरेलले भने इञ्जिनियरिङ छाडेर बाख्रा पाल्न थालेका छन् ।इञ्जिनियरिङ छाडेर बाख्रा पाल्ने सोच कसरी आयो त ? उनी भन्छन्, ‘जागिर नभइ स्वरोजगार बन्न सक्नुपर्छ र त्यसका लागि प्रशस्त सम्भावना छ भन्ने देखेरै म यता लागें ।’
सिभिल इञ्जिनियर हुँदा उनी महिनाको २० हजार कमाउँथे । अहिले उनी त्यसको दोब्बर कमाइरहेका छन् । त्यसैले उनलाई इञ्जिनियर हुँदाको भन्दा कम खुशी छैन बाख्रा पालेर बस्दा । भन्छन्, ‘सिभिल इञ्जिनियर मान्छे म निर्माणका काम गर्नुपर्नेमा बाख्रापालनमा लागेको छु तर पनि आम्दानी र आत्मसम्मान दुवै कुराले सन्तुष्ट छु ।’श्यामले आफ्नै झण्डै २५ रोपनी जग्गामा फार्म सञ्चालन गरेको चार वर्ष भयो । पोखरेलको फार्ममा अहिले एक सयवटा बाख्रा छन् । उनको ‘हलेसी कृषि तथा बाख्रा फार्म’ ले अहिले खोटाङसँगै बाहिर पनि खसी बिक्री गरिरहेको छ । बाख्रा पालेपछि घाँस पनि चाहियो । घाँसका लागि उनले नयाँ जुक्ति लगाएका छन् ।उनले आफ्नो जग्गामा बालबालिकालाई बिरुवा रोप्न लगाएका छन्, अनि त्यो बिरुवा जोगाएर हुर्काएबापत् एउटा बिरुवाको ५० रुपैयाँका दरले पुरस्कार दिने गरेका छन् । त्यही पुरस्कारको होडबाजीले हुर्किएका रुखले नै उनको बाख्रा फार्मका लागि घाँस पु¥याइरहेको छ । अहिले त डाले घाँसको बोट ७ सय वटाभन्दा बढी पुगेको छ उनको बारीमा । ‘हाम्रोमा डाले घाँसको पनि उत्ति कमी छैन तर पहिला मैले छिमेकीकोबाट पनि घाँस किन्ने गरेको थिएँ तर अब त मलाई आफ्नै जग्गाको घाँस प्रशस्त छ’, श्यामले भने ।
रुखबाट डाले घाँस त आयो नै त्यही जग्गामा उनले भुइँमा हुने घाँससँगै अलैंची पनि लगाएका छन् । यसले श्यामलाई दोहोरो आम्दानी दिइरहेको छ । खोटाङमै मासुको माग धेरै छ । त्यसैले एक्लैले पु¥याउन नसकेपछि बाख्रा पालिरहेका अरुसँग मिलेर उनीहरुले दिक्तेलमा मासु पसल चलाएका छन् । तर उत्पादन दिन–प्रतिदिन बढिरहेको छ । त्यसैले व्यावसायीले उत्पादन गरेको मासु स्थानीय बजारले धान्न नसके काठमाडौंसम्म पु¥याउने व्यावसायीको तयारी छ । व्यावसायिक रुपमै बाख्रा पाल्न थालेपछि उनीहरुले बाख्राबाट मासु मात्र नभइ ऊन तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने सोच पनि बनाएका छन् । त्यसैले धेरै जातका बाख्रा पाल्ने योजना बनाएका छन् उनले । भन्छन्, ‘सुन्दा अनौठो लाग्ला बाख्राको पनि दुध हुन्छ ? भनेर तर ‘सानान्’ जातका बाख्राले धेरै दूध दिन्छ अनि त्यही दूधका परिकार पनि बनाउन सकिन्छ ।’ पोखरेलको फार्ममा अहिले स्थानीय खरी, जमुनापारी, बारवेरी र सानान् जातका बाख्रा पालिएका छन् । यी बाहेक आफ्नो ठाउँमा बारवेरी जातका बाख्रालाई सुहाउँदो हावापानी भएकाले त्यही जातको बाख्रा पाल्न सकिने भएकाले त्यसबारे पनि सोचिरहेको उनले बताए ।गाउँमा बाख्रा धेरैले पालेका छन् पुर्खौंदेखि, तर त्यसको व्यावसायिकीकरण नभएकाले त्यसमा आम्दानी गर्न नसकिएको उनको भनाइ छ । त्यसैले आपूmले त्यही परम्परागत पेशालाई व्यावसायिकीकरण गरेको बताए । यही सोचाइले श्यामलाई अहिले खोटाङकै नमूना बाख्रापालकको परिचय दिएको छ । जिल्लाबाट शुरु भएको उनको कृषक परिचय अहिले केन्द्रसम्म पुगेको छ । उनी अहिले नेपाल बाख्रापालन व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्ष भएका छन् । काम सफल भएपछि उनीसँग खुशी साट्ने धेरै भएका छन् । ‘चार वर्षको दौरानमा मेरो फार्म राम्रो भएको छ अनि मैले गरेको प्रयास पनि सफल भइरहेको छ’, श्याम भन्छन्, ‘आकाशपातालकै अन्तरले फाइदामा छु ।’कामको खोजीमा दिनमा एक हजारभन्दा धेरै युवा विदेश गइरहेका बेला श्यामले भने इञ्जिनियरको काम छाडेर बाख्रा पालनबाटै मनग्गे आम्दानी गरेका छन् । कमाउन विदेश नै जानुपर्छ भन्ने नरहेको उनी बताउँछन् । ‘हामीभन्दा पछिल्ला पिंढीहरुले जो कि अहिले पैंतालिस डिग्रीभन्दा चर्को घाममा गएर काम गरिरहेका छन्, त्यो घामको बाबजुत कतिपय युवा बाकसमा प्याक भएर फर्केका छन्’ श्याम भन्छन्, ‘त्यस्ता युवाको लागि नेपालमै मनग्गे आम्दानीका बाटोहरु छन् भन्ने कुराको ख्याल गराउन पनि यस्तो व्यवसाय शुरु गरिएको हो ।’ उनले आफ्नो फार्ममा पाँचजना पूर्णकालीन र १८ जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएका छन् । विदेश जाने युवालाई उनी उत्पादनमुखी बनेर उत्पादनमा लाग्न सुझाव दिन्छन् । अब छिटै फार्म सुधार तथा बिस्तार गरी बाख्रा थप्ने योजना पनि श्यामको छ । –रामधन राई÷उज्यालो