भद्रपुर / नेपाल राष्ट्र बैकवाट कालोसूचीमा परेका झापाका उद्योगपतीले आफ्नो परिवारलाई शेयर बिक्री गरी निजि बैकवाट करोडौ ऋण लिएको घट्ना वाहिर आएको छ । सरकारले कालोसूचीमा राखेपनि सिभिल बैक काठमाडौले लगभग ११ करोड ऋण दिएको विषयमा पीडितले बताएपछि घट्ना सार्वजानिक भएको हो । सिभिल बैकले भद्रपुरका उद्योगी सुरेश अग्रवालको श्रीमती अर्चना र छोरी आयुषीको नाममा ऋण दिएको कागजात फेला परेपछि थप रहस्य खुलेको हो । सुरेशले जालसाजी गरी दुई वटा कम्पनीमा उनका श्रीमती र छोरीको नाम राखेर नामसारी गरी बैकबाट ऋण लिएको महेश अग्रवालले आरोप लगाएका छन् । मित्तल टि स्टेटका सञ्चालक अर्चना र कुवाडीदेवी टी स्टेटका सञ्चालक आयुषीको नाम राखेर ऋण लिएको उनले बताए ।
घट्ना विवरण अनुसार भद्रपुर नगरपालिका ८ बस्ने स्व मोहनलाल अग्रवाल, उनका छोरा महेश र सुरेशलाई कम्पनीको नाममा कर्जा तथा ऋण तिर्न नसकेपछि राष्ट्र बैकले २०६३ साल असोज २४ गते मोहनलाल सहित उनका दुई छोरालाई कालोसूचीमा राखेको थियो ुन् । तीनै जनाको नाम हाल सम्म कालोसूचीमा रहेको राष्ट्र बैकको वेवसाइटको क्रम संख्या १२५९ को कालोसूची नम्बर २९०२ मा प्रष्ट देखिन्छ । बैकले अग्रवाल परिवारको धनसम्पत्ति, पासपोर्ट समेत रोक्का राखेको छ ।
चन्द्रगढी स्थित मित्तल वायर उद्योगको ऋण तिर्न नसकेपछि राष्ट बैकले तीनै जनालाई कालोसूचीमा राखेका थिए । मित्तल वायरको शेयर सदस्य मोहनलाल र उनका दुई छोराको नाम थियो । बैकले तीनै जनालाई कालोसूचीमा राखेपछि महेश अस्वस्थ्य भई उपचारको शिलशिलामा भारत गएका थिए । मित्तल टी स्टेट, कुवाडी मित्तल सिमेन्ट र कुवाडी देवी टी स्टेटमा मेहश पनि शेयर सदस्य रहेको कम्पनी रजिष्टार कार्यालयको पत्रमा उल्लेख छ । दुई वटा टी स्टेटमा २४÷२४ प्रतिशत र सिमेन्टमा १० प्रतिशत महेशको शेयर भएको नाम छ ।
सरकारले कालोसूचीमा राखेपछि सुरेशले २०६५ सालमा मित्तल टी स्टेटका सञ्चालक श्रीमती अर्चना र कुवाडीदेवी टी स्टेटका सञ्चालक छोरी आयुषीलाई बनाएका थिए । ती दुई कम्पनीमा आधिकारीक शेयर सदस्य म भएपनि भारत गएको फाइदा उठाउदै सुरेशले किर्ते कागजात बनाई नामसारी गरेको महेशको आरोप छ । श्रीमती र छोरीको नाममा कम्पनी नामसारी भएपछि सुरेशले सिभिल बैक काठमाडौमा ऋणका लागि कागजात पेश गरेका थिए । कागजको आधारमा बैकको सञ्चालक समितिको बैठकले २०७१ साल पुस १७ गते ऋण स्वीकृत गरेको देखिन्छ । ऋण स्वीकृत भएपछि मित्तल टी स्टेट प्रालिको नाममा रहेको चिया बगानको विभिन्न जग्गा बैकले जिल्ला मालपोत कार्यालय झापामा २०७१ फागुन १ गते जग्गा रोक्का गरेको देखिन्छ । मित्तल टी स्टेटको नाममा रहेको पथरिया ९ मा पर्ने विभिन्न जग्गाको ४५ कित्ता जग्गा रोक्का गरी सो टी स्टेटका सञ्चालक अर्चनाले ६ करोड ५० लाख ऋण लिएको देखिन्छ । त्यस्तै कुवाडीदेवी टी स्टेटका सञ्चालक आयुषीका नाम रहेको जग्गा रोक्का गरी अन्दाजी ४ करोड बढी ऋण लिएको बुझिएको छ । नेपाल सरकारले कालोसुचीमा राखेको व्यक्तिको नाममा रहेको कम्पनीको जग्गा किर्ते कागजात बनाई सुरेशले श्रीमतीको नामबाट ऋण लिएको खुलासा भएपछि बुधवार झापा उद्योग बाणिज्य संघमा बसेको छलफलमा महेश अग्रवालले आपत्ती जनाएका छन् ।
सरकारले तीनै जनालाई कालोसूचीमा राखेपछि तीनै जनाको नामको कम्पनीहरु अरुलाई नामसारी गर्न नमिल्ने भएकोे महेशले बताए । मैले शेयर बेचेको पनि होइन, र कालोसूची पर्ने व्यत्तिले शेयर बेच्न पाउने कानुनमा नै नभएको उनको भनाई छ । ऋण दिने काममा बैकको पनि फटाई हुन सक्ने भएकोले यसको छानविन हुनुपर्ने महेशले छलफलमा माग समेत राखेका थिए । छलफलमा संघका वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, उद्योगी विश्वनाथ श्रेष्ठ, पशुराम अग्रवाल, राजनितिकदलका प्रतिनिधि, पत्रकार लगयातको उपस्थिति रहेको थियो ।
आफु शेयर सदस्य रहेको मित्तल टी स्टेट, कुवाडी देवी टी स्टेट र मित्तल सिमेन्टको हाल सम्मको आम्दानी एकलौटी रुपमा भाई सुरेशले खाई रहेको हुदाँ सम्पूर्ण हरहिसाव गराई आफनो आम्दानी सम्पत्ती उपभोग गर्न पाउने बातावरण बनाई दिनु हुन पीडित बनेका महेशले संघमा भदौ १३ गते निवेदन दर्ता गराएका थिए ।
सिभील बैक शाखा कार्यालय विर्तामोडका शाखा प्रमुख इन्द्र तामाङ्गले कालोसूचीमा रहेको व्यक्तिका परिवारले ऋण झिक्ने प्रावधान रहेपनि यो विषयमा कम्पनीले केन्द्रीय कार्यालयबाट ऋण लिएकोले आफुलाई केही थाहा नभएको बताए ।