बिर्तामोड/ झापामा करोडौं रुपैयाँ विद्युत् महसुल बक्यौता छ । विद्युत् प्राधिकरणले कडाइ नगर्दा झापामा १४ करोड ९६ लाख २८ हजार तीन सय १५ रुपैयाँ विद्युत् महसुल बापतको रकम उठ्न नसकेको हो ।अाफुले प्रयोग गरेकोे विद्युत् महसुल नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय छन् । जिल्लाका नगरपालिका, गाविस तथा औद्योगिक प्रतिष्ठानले विद्युत् महसुल तिरेका छैनन् ।

biju

विद्युत् प्राधिकरण वितरण केन्द्रहरुले पटक–पटक पत्राचार गरे पनि तिनीहरुले महसुल बक्यौता तिर्न अटेर गरिरहेका छन् । झापामा प्राधिकरणको तीनवटा वितरण केन्द्र छन् ।बिर्तामोड, भद्रपुर र दमक वितरण केन्द्रका अनुसार व्यक्तिगतभन्दा पनि सरकारी निकायबाट विद्युत् बक्यौता रकम उठ्न नसकेको हो । भद्रपुर वितरण केन्द्रमा मात्र छ करोड ३१ लाख ८२ हजार छ सय ८८ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ । यो २०७३ असारसम्मको बक्यौता हो । विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार भद्रपुर नगरपालिकाबाट एक करोड ७४ लाख ७७ हजार एक सय ४५ र मेची नगरबाट २४ लाख ३१ हजार आठ सय रुपैयाँ उठ्न बाँकी छ । सडक बत्तीबाट मात्र तीन करोड ४१ लाख ६४ हजार ६५ रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए । भद्रपुर वितरण केन्द्रले १७ वटा गाविस र दुईवटा नगरपालिका हेर्ने गर्दछ ।बिर्तामोड वितरण केन्द्रअन्तर्गत पनि विद्युत् महसुल बक्यौताको हालत उस्तै छ ।

केन्द्रले तीन करोड ३८ लाख ४५ हजार छ सय २७ रुपैयाँ महसुल बक्यौता उठाउन सकेको छैन । पाँच हजार दुई सय नौजना ग्राहकले विद्युत् महशुल बक्यौता नबुझाउँदा सो बराबरको रकम उठ्न बाँकी देखिएको हो । केन्द्रका सहायक लेखापाल रवीन्द्र आचार्यले आठवटा गाविसबाट ५५ लाख रुपैयाँ उठ्न बाँकी रहेको बताए । यो तथ्याङ्क २०७३ भदौ १५ गतेसम्मको हो । उनका अनुसार विद्युत् महसुल बक्यौता नतिर्नेमा सबैभन्दा बढी चारपाने, घैलाडुब्बा, चकचकी, डाँगीबारी, घैलाडुब्बालगायत छन् । बिर्तामोड वितरण केन्द्रले कन्काई, बिर्तामोड, शनिअर्जुन नगरपालिकासहित १५ वटा गाविस हेर्ने गर्दछ ।

केन्द्रले ०७२ चैत १८ देखि ०७३ जेठ १८ गतेसम्म महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काट्ने अभियान चलाएको थियो । त्यसबेला तीन सय ५० ग्राहकको लाइन काटिएको थियो । त्यसबाट केन्द्रले ५८ लाख ५६ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको आचार्यले जानकारी दिए । त्यहीबेला चुहावट नियन्त्रण अभियान सञ्चालन गर्ने क्रममा ८५ जना ग्राहकबाट ११ लाख ८७ हजार तीन सय ३७ रुपैयाँ विद्युत् महसुल बक्यौता उठाइएको थियो ।वितरण केन्द्रले अहिले पनि विद्युत् बक्यौता नतिर्ने ग्राहकको विद्युत् लाइन काटिरहेको छ । १५ दिनभित्रमा ७६ जना ग्राहकको लाइन काटिएको वितरण केन्द्रले जनाएको छ । जसमा ३५ जना ग्राहकले बक्यौता बुझाएर लाइन सुचारु गरेका छन् । जसबाट १२ लाख रुपैयाँ बक्यौता रकम उठ्न सफल भएको आचार्यले बताए । उनका अनुसार यहाँ पनि व्यक्तिगतभन्दा सरकारी कार्यालयबाट बक्यौता रकम उठ्न सकिरहेको छैन ।

दमक वितरण केन्द्रले पाँच करोड २६ लाख रुपैयाँ बक्यौता रकम उठाउन सकेको छैन । सो रकम ९० हजार ग्राहकबाट उठ्न बाँकी रहेको केन्द्र प्रमुख सुरेन्द्र साहले जानकारी दिए । दमक वितरण केन्द्रले माईपश्चिमदेखि उर्लाबारी, पथरी, शनिश्चरे क्षेत्रसम्म हेर्ने गर्दथ्यो । तर अहिले मोरङका ती नगरपालिका यो वितरण केन्द्रबाट अलग भएका छन् । अहिले सो केन्द्रले माईपश्चिमका तीनवटा नगरपालिका हेर्ने गर्दछ । ‘यहाँ ग्राहकको लाइन काट्नुपर्ने अवस्था छैन’, केन्द्र प्रमुख साहले भने, ‘केही सरकारी निकायबाहेक अन्य ग्राहकले बक्यौता रकम बुझाइरहेका छन् ।’ कार्यालय प्रमुख साहले भने पनि वितरण केन्द्रमा भने ठूलै रकम बक्यौता रहेको देखिन्छ । भर्खरै दमक नगरपालिकाले पाँच लाख ७९ हजार आफ्नो विद्युत् महसुल बुझाएको उनले बताए ।जिल्लाभर सडक बत्ती बालेबापत्को रकम उठ्न बाँकी छ । सबै नगरपालिका तथा गाविसले सडक बत्तीको बक्यौता रकम तिरेका छैनन् ।

‘यो देशभरको समस्या हो’, साहले भने, ‘सडक बत्तीको विद्युत् तुरुन्त काट्न पनि समस्या छ ।’उर्जामन्त्री जर्नादन शर्माको निर्देशनमा प्राधिकरण वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चलाइरहेको छ । तर, अभैm पनि विद्युत् बक्यौता रकम धेरै उठ्न बाँकी छ । सोमबारदेखि महशुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्ने सात दिने समय पनि सकिएको छ । तर, झापामा भने सरकारी कार्यालयले नै विद्युत् बक्यौता तिर्न आनाकानी गरिरहेका छन् । वितरण केन्द्रले लाइन काट्ने अभियानलाई तीब्रता दिने जनाएको छ । ‘माथिको आदेश छ’, बिर्तामोड वितरण केन्द्रका एक कर्मचारीले भने, ‘सरकारी निकायलाई नै पनि छाड्दैनौं ।’