वस्ती विकाससँगै सुन्दरदुलारी नगरपालिकामा व्यापार व्यवसाय गर्नेहरुको संख्या बढ्दो छ । पहाडबाट बसाई सराई गरी आउनेको संख्या बढ्न थाले पछि वस्ती बाक्लीदै गएको । दुईवर्ष अघि सुन्दरपुर र दुलारी गाविस मिलाएर सुन्दर दुलारी नगरपालिका बन्यो । त्यस पछि नगरमा उद्योग वाणिज्य संघ गठन भयो । जसको नेतृत्व स्थानीय र स्थापित व्यापारी किशोर कार्कीले गरे । कार्कीको नेतृत्वमा सुन्दरदुलारीमा बजार व्यवस्थित गर्ने पहिल पनि भएको छ । व्यापारीको हितमा काम गर्ने उद्योग वाणिज्य संघले यति वेला के गर्दैछ ? त्यहाँका समस्या के हुन् ? यिनै विषयमा सुन्दर दुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीसँग गरिएको कुराकानीको सारः

kisor-karki आजभोली के गर्दै हुनुहुन्छ ? – म आफ्नो व्यवसाय सञ्चालका साथ साथै उद्योग वाणिज्य संघमा संस्थापन देखिनै सक्रिय र महत्वपूर्ण जिम्मेवारीमा रहेको छ । व्यापार व्यवसायमा हुने समस्या हेरी समाधानका उपाय हरु खोज्ने क्रममा छु । वस्ती विकास सँगै सुन्दरदुलारीमा व्यापार व्यवसायलाई कसरी मजबुद बनाउन सकिन्छ भनेर योजनाहरु बनाउँदैछ । व्यवसायिको हितमा काम पनि गरिदैछ ।

तपाईको आफ्नै व्यवसाय चै के छ ? – म अहिले पाथीभरा कंक्रिट इन्डस्ट्रिज प्रालिको प्रवन्ध निर्देशक, पानस सिमेन्ट इन्डष्ट्रिज प्रालिको प्रवन्ध निर्देशक, मनकामना प्लाष्टिक उद्योगको प्रवन्ध निर्देशक, युनाइटेड डिजीटेक सोलुसनको प्रवन्ध निर्देशक रहेर व्यपार व्यावसाय सञ्चालन गरिरहेको छु । पहिला म पेट्रोल पम्प सञ्चालन गर्थे । अहिले उद्योग वाणिज्य संघको पनि काम गर्नु पर्ने भएकोले संस्था र आफ्नो व्यवसायलाई सञ्चालन गर्न व्यस्त छु । मेरो बुबाले बनाएको प्लेट फर्मले पनि मलाई यो क्षेत्रमा काम गर्न सजिलो भएको छ ।

नयाँ ठाउँमा व्यवसायीक संगठन सञ्चालन गाह्रो छैन ? – हाम्रो ठाउँमा व्यापारिक संगठन सञ्चालन गर्न समस्या छ । यहाँ विद्युतको समस्या छ । नियमित विद्युत प्रवाह हुँदैन । हुन त हाम्रो ठूला उद्योग छैनन् तर, पनि भएका व्यवसाय सञ्चालन गर्नका लागि लोड सेडिङको समस्या छ । व्यवसाय व्यवस्थित गराउन हामीले पहिल गरिरहेका छौं । हाम्रो क्षेत्रमा बजार पनि अव्यवस्थित छ । अहिलेनै बजार व्यवस्थित गर्न जरुरी छ । बधशाला कहाँ राख्ने ? सब्जी बजार कहाँ राख्ने ? अन्य पसलहरु कसरी व्यवस्थित गर्ने भन्ने विषयमा हामी पनि लागि परेका छौं । नगरपालिकाले पनि पहल गर्नु पर्छ । पछिल्लो सयम गठन भएका नगरपालिका मध्ये पूर्वाञ्चाल भरीमा जति पनि नगरपालिका भए उर्लाबारी र सुन्दरदुलारीमा मात्रै उद्योग वाणिज्य संघ गठनको स्वीकृति पाएको छ । यो पक्ष भने राम्रो छ । हामीले पाएको अवसरलाई सदुपयोग गर्नेछौं । अहिले हाम्रोमा पाँच सय बढी सदस्य छन् । सदस्यता बढ्ने क्रम पनि जारी छ । मैलेनै नेपाल उद्योग वाणिज्य महासंघमा कुरा गरेर विद्युतको समस्या समाधानका लागि छुट्टै शव स्टेशन राख्न पहल गर्न पनि आग्रह आग्रह गरेको छु ।

संस्थाका योजना के छन् ? – हामीले पहिलो चरणमा उद्योग वाणिज्य संघको भवन बनाउने योजना ल्याएछौं । जग्गाको लगभग व्यवस्थापन भएको छ । मेरो कार्यकाल भरीमा जग्गा प्राप्त गरी भवन बनाउने योजना छ । नगरपालिकासँग समन्वय गरेर काम गर्ने सोच बनाएका छौं । कुनै पनि कामका लागि साझेदारी गर्दा हामीसँग ठूलो कोष नभएकोले ठूला काम गर्न सकेका छैनौं । तर, पनि व्यापारीको हक हितमा लड्न संस्था भएकोले हामीले व्यापार व्यवसायका साथै समाज परिवर्तनमा पनि सहभागिता सञ्चालन गरिरहेका छौं । हामीले रक्तदान, तीज विशेष कार्यक्रम, स्वास्थ्य शिविरको पनि नियमिति आयोजना गरिरहेका छौं ।

व्यवसायिक हितको लागि हामीले प्रत्येक वर्ष कर शिविरको आयोजना गरिरहेका छौं । त्यसका साथै हाम्रै पहिलमा नगरमै पहिलो पटक बैंकको शाखा स्थापना गरिएको छ । जसले गर्दा वृद्ध भत्ता प्राप्त गर्न र ५÷६ किलोमिटर टाढा रहेको बैंकमा गएर पैसा जम्मा गर्नु पर्ने र निकाल्नु पर्ने समस्याबाट पनि नगवासी मुक्त भएका छन् । समस्याको रुपमा रहेको नगरको फोहोर व्यवस्थापनमा पनि पहल गरिरहेका छौं । यहाँका समस्या पनि थुप्रै छन् । समाधानका पहल पनि भएका छन् । समय लाग्छ । भर्खरै गठन भएको संस्थाले एकै पटक सबै काम सक्दैन । तर, दिगो बजार व्यवस्थापनको लागि हामीले गरेको पहलले समय लागे पनि राम्रो उपलब्धी हुनेछ भन्ने आशा राखेका छौं । विभिन्न चुनौतिका बाबजुद पनि हामीले उद्योगी÷ व्यापारीहरुको हितमा काम गरिरहेका छौं । यसमा सम्पूर्ण व्यापारी, साझेदारी संस्थाहरुको सहयोग जरुरी छ । नगरपालिकाबाट पनि सहभागितामुलक योजनाको लागि हामी सहयोग गर्न तयार छौं ।