काठमाडौँ / साउन २३ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन भएको नेपाल विद्यार्थी सङ्घको ११औँ राष्ट्रिय महाधिवेशन अझै चलिरहेको छ । राससका सरद शर्मा लेख्छन् । नौ वर्षपछि हुन थालेको नेवि सङ्घको महाधिवेशन तीन दिनका लागि भने पनि विवादका कारण महाधिवेशन लम्बिएको हो । ६ महिनाभित्र २०६८ साल फागुनमा महाधिवेशन गर्ने जिम्मा पाएका अध्यक्ष रञ्जित कर्णको कार्यकाल ४ वर्ष पूरा भइसकेको छ । सोमबार ८ दिनपछि विवाद मिलेर आजदेखि बल्ल निर्वाचन प्रक्रिया सुरु हुन थालेको छ । प्रतिनिधि विवादका कारण नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आइतबार झडपसमेत भएको थियो । नेकपा (एमाले) निकट अनेरास्ववियुको गत वर्ष माघमा सम्पन्न २१ अाैं राष्ट्रिय महाधिवेशन प्रतिनिधि विवादका कारण १० दिन लम्बियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद हुँदा महाधिवेशन लम्बिएको थियो । यस्तै, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को १९औँ राष्ट्रिय महाधिवेशनले विवादबीच नेतृत्व चयन गर्न सकेन र पछि सङ्गठनको बैठकद्वारा संयोजकमा रमेश मल्ललाई तोकियो । मल्लपछि भर्खरै क्रान्तिकारीको भेलाबाट नरेन्द्र न्यौपानेलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाइएको छ । यी उदाहरण हुन् नेपालका प्रमुख विद्यार्थी सङ्गठनका महाधिवेशनका क्रममा देखिएका किचलो । सङ्गठनभित्र विवादका कारण तीनदिनमा सकिने महाधिवेशन दश दिन लाग्ने गरेको छ । पार्टीभित्र प्रमुख सङ्गठनका रुपमा चिनिएका विद्यार्थी सङ्गठन अहिले आफ्नो आन्तरिक विवादमा पर्न थालेपछि सङ्गठनलाई चलायमान बनाउन सकेका छैनन् । राजनीतिक उपलब्धि हासिल गरिसकेको अवस्थामा आफ्ना आन्दोलनलाई उचाइमा पु¥याउन नसकेको आरोप लाग्ने गरेका विद्यार्थी सङ्गठन आफ्नै सङ्गठनभित्रको किचलोमा फस्दै गएका छन् जसले गर्दा विद्यार्थी आन्दोलनलाई पनि सङ्गठनले राम्रोसँग हाँक्न सकेका छैनन् । विद्यार्थी सङ्गठन पार्टीभित्रको गुटउपगुटको चङ्गुलमा फसेर विवादमा पर्ने गरेर महाधिवेशन नै लम्ब्याउने गरेका छन् । पटकपटक तोकेर पनि स्थगित भएको नेविसङ्घको महाधिवेशन प्रतिनिधि छनोटमा कुरा नमिल्दा विवाद देखिएको छ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष विश्वप्रकाश शर्माले पार्टीभित्रको देखिएको फरक समूहका कारण अहिले सङ्गठन आन्तरिक विवादमा पर्ने गरेको बताए ।  उनले विद्यार्थी सङ्गठन आफैँले पनि सङ्गठनलाई व्यवस्थापन गर्न नसक्दा विवादमा पर्ने गरेको बताए ।  ‘‘पहिलेभन्दा सङ्गठन अहिले ठूला भएका छन्’’, उनी भन्छन, ‘‘सङ्गठनको व्यवस्थापनमा कमजोरी देखिएकाले आफ्नैभित्र विवादमा पर्ने गरेका छन् ।’’ नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका शर्माले विद्यार्थीको सङ्गठनभित्र विवाद देखिँदा विद्यार्थी आन्दोलनलाई नै कमजोर बनाउने भन्दै सङ्गठनले आफ्नो व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरेले पार्टीभित्रका गुटको सिकार विद्यार्थी सङ्गठनलाई बनाएर विवाद पर्ने गरेको बताउछन । उनले राजनीतिक परिवर्तनपछि विद्यार्थी सङ्गठन आफ्नो भूमिका के हो भनेर स्पष्ट नहुँद पनि किचलो देखिएको बताए । ‘‘अहिले सङ्गठनहरु दिशाविहीन भएका छन् । आन्दोलन के हो भन्ने थाहा छैन’’, उनले भने, ‘‘सङ्गठनभित्र गुट चलाउने मात्र गर्दछन् । अनि महाधिवेशनमा नेतृत्व हत्याउने दाउमा विवाद देखिन्छ ।’’ नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका गैरेले सङ्गठनलाई विवादरहित बनाउनका लागि व्यवस्थापनलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।  उनले विद्यार्थी सङ्गठनलाई सही दिशामा हिँडाउनका लागि पार्टीले दिशानिर्देशन दिनुपर्ने बताए । अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले विद्यार्थी नेता विचारमा नभई नेताहरुको इच्छाअनुसार चल्ने भएकाले सङ्गठनमा विवाद देखिएको बताए । उनले पार्टीभित्रको गुटपिच्छेका नेताले विद्यार्थी सङ्गठन चलाउन खोज्दा समयमा महाधिवेशन नहुने र भए पनि निर्धारित मितिमा नसकिने धारणा राखे । नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्यसमेत रहनुभएका न्यौपाने विद्यार्थी नेता आमविद्यार्थीको नेता नभई पार्टीका नेताका पुच्छर समात्नाले पनि विवाद देखिने गरेको बताउछन । ‘‘सङ्गठनको काम तत्काल र दीर्घकालीन के हो भन्ने स्पष्ट छैन । विचार र राजनीतिमा पनि परिपक्व देखिएका छैनन्’’, उनी भन्छन, ‘‘त्यसैले विद्यार्थीका नेताहरु पार्टीभित्रका गुटमा चल्ने गरेका छन् ।’’