धरान / करीब १० वर्षपछि शुरु भएको काङ्ग्रेस भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दावी गरेका एक दर्जन उम्मेदवारबाट अन्ततः तीन गुटले तीन नाम तय गरेका छन् ।
संस्थापन पक्षबाट नैनसिंह महर अध्यक्षका उम्मेदवार तय भएका छन् । सभापति शेरबहादुर देउवा र अन्य वरिष्ठ नेताहरुको सल्लाहपछि महरलाई अध्यक्षमा अघि बढाइएको स्रोतले जनाएको छ । संस्थापन पक्षबाट महरसहित जितजङ्ग बस्नेत, शुभराम बस्नेत, रत्न कार्की, सरोज यादवलगायतले अध्यक्षमा दावी गरेका थिए । यीमध्ये जितजङ्गलाई पार्टी केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको छ ।
बस्नेतले भने नेविसङ्घ अध्यक्ष नै हुने भन्दै नेताहरुको आश्वासन अस्वीकार गरिरहेकाले आधिकारिक उम्मेदवारको औपचारिक घोषणा हुन नसकेको स्रोतले जनाएको छ । तर, देउवासहितका नेताहरुले महरलाई अघि बढ्न सङ्केत गरिसकेपछि उनी मैदानमा ओर्लिएका छन् । महर देउवाको गृहजिल्ला डडेलधुराका हुन् । उनलाई आरजु देउवा, विमलेन्द्र निधिलगायतका नेताहरुको दह्रो साथ थियो । नेविसङ्घका पूर्वउपाध्यक्ष महर किताब लेखेर सङ्घमा बौद्धिक छवि बनाएका नेता हुन् । उनको प्यानलबाट सरोज थापा, रत्न कार्कीलगायतलाई अन्य पदमा मिलाउने तयारी भइरहेको छ ।
त्यस्तै रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मनोजमणि आचार्यको टुङ्गो लागेको छ । नेविसङ्घका पूर्वमहामन्त्री आचार्य रोल्पाबाट कठिन समयमा राजनीति गर्दै अघि बढेका नेता हुन् । पौडेल पक्षबाट अध्यक्ष दावी गरेका आनन्द त्रिपाठी र दीपक भट्टराईलाई महामन्त्रीमा मिलाउने तयारी छ । पौडेल पक्षबाट उर्मिला थपलिया पनि महामन्त्रीकी उम्मेदवार हुन् ।
उता काङ्ग्रेसभित्र तेस्रो धारका रुपमा स्थापित हुँदै गरेको कृष्ण सिटौला पक्षबाट अध्यक्षमा कुन्दन काफ्लेलाई अघि सारिएको छ । उनलाई नेविसङ्घका पूर्व नेताहरु गगन थापा र प्रदीप पौडेलले समर्थन गरेका छन् । महाधिवेशन प्रतिनिधिमा देउवा पक्ष र पौडेल पक्षले भागबण्डा गरेको भन्दै काफ्ले पक्षले विरोध र अनशनसमेत गरेका थिए । काफ्लेलाई महामन्त्रीमा मनाएर एउटै प्यानल बनाउने प्रयास देउवा पक्षले गरिरहेको स्रोतले जनाएको छ ।
नेविसङ्घका नेताद्वारा आमरण अनशन जारी
यता नेपाल विद्यार्थी सङ्घका नेताहरुले विधानसम्मत महाधिवेशनको माग गर्दै बसेको आमरण अनशन आइतबार नवौँ दिनसम्म पनि जारी राखेका छन् ।
विधानविपरीत ल्याइएका प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यकाका साथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्नेलगायतका माग राखी दुई समूह छुट्टाछुट्टै अनशन बसिरहेका छन् । नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेल साउन १५ गतेदेखि आमरण अनशन बसेका हुन् भने नेविसङ्घका अर्का नेता भोलानाथ शर्मा साउन २० देखि आमरण अनशनमा बसेका छन् ।
पूर्वकेन्द्रीय सदस्य सापकोटाले आफ्नो अनशन जारी रहेको बताए । सापकोटा यसअघि पनि विधानसम्मत महाधिवेशनको माग राखी नौ दिनसम्म अनशन बसेका थिए । नेविसङ्घको ११ औँ महाधिवेशन आइतबार काठमाडौँमा शुरु भएको छ ।