पाँचथर/केही वर्ष अघिसम्म उत्तरी पाँचथरका विभिन्न गाउँहरुमा भेंडापालन गरिन्थ्यो । जसले गर्दा भेंडाको ऊनबाट बन्ने राडिपाखी बनाउने पेशा मजाले फस्टाएको थियो । तर अहिले चरन क्षेत्र अभावले भेंडापालनमा कमि आएको छ । त्यो सँगै परम्परागत घरेलु उत्पादन राडिपाखी बनाउने पेशा पनि संकटमा परेको छ । bheda करीव एक दशक अघिसम्म उत्तरी पाँचथरको च्याङथापु, फलैंचा, मेमेङ्, सिदिन, ओयाम, प्राङबुङ, रानीटार लगायत करीव एक दर्जन भन्दा बढी गाविसहरुमा आय–आर्जनको राम्रो स्रोतको रुपमा रहेको यो पेशा अहिले आएर संकटग्रत बनेको हो । गएको हो । खास गरेर चरन क्षेत्र साँघुरो बन्दै गएपछि भेंडापलन हुन छाडेसँगै राडिपाखी बुन्ने पेशा पनि संकटमा पर्दै गएको हो । वन जङ्गल र चरन क्षेत्रमा स्थानीयले अलैंची, चिराइतो, अम्लिसो जस्ता नगदेबाली र जडिबुटीजन्य वस्तुको खेती गर्न थालेपछि चरन क्षेत्र साँघुरो बन्दै जाँदा अधिकांशले भेंडापालन छाड्दै गएका हुन् । ‘चरन क्षेत्र अभावकै कारण भेंडा पालन गर्ने अवस्था छैन’ रानीटार–९, का भेंडापालक कृषक फौजमान राईले भने । उनका अनुसार गाउँका अघिकांशले भेंडा पाल्न छाडिसकेका छन् । भेंडाको ऊनबाट बन्ने आकर्षक तथा परम्परागत घरेलु उत्पादन हो राडि । तर ऊन पाइनै छाडेपछि यो पेशा गाउँघरबाट लोप हुँदै गएको हो । राडिपाखी किन्न घरैमा ग्राहक आउँने गरे पनि ऊनको अभावमा भने जति राडि बनाउँन सकिने अवस्था नरहेको च्याङथापु–९ की ६१ वर्षिय दिकुरा गुरुङले बताइन् । उनका अनुसार प्रतिकेजी ४ देखि ६ सय रुपैंयाँ सम्ममा भेंडाको ऊन खरिद गरेर बनाइने राडि प्रतिगोटा ९ हजार रुपैंयाँ सम्ममा बिक्री हुने गरेको छ । सिकुवा–कोठा सजावट र अतिथि सत्कारका लागि राडि ओछ्याउँने प्रचलन घाउँघरको पुरानो संस्कार हो । बजारमा स्वदेशी तथा विदेशी आधुनिक गलैंचा प्रशस्त पाइए पनि राडिपाखी प्रति मानिसहरुको आकर्षण उत्तिकै रहेको राडिपाखी व्यवसायी शान्तिला तुम्बापो बताउँछिन् । गाउँघरका मात्र नभएर सहर बजारका मानिसको रोजाइमा समेत राडिपाखी पर्ने गरेको उनको भनाई छ । राम्रो टिकाउ हुने र परम्परागत उत्पादन भएकाले राडिपाखी प्रति मानिसहरुको मोह उत्तिकै रहेको तुम्बापोले बताइन् । राडिपाखी प्रतिको आकर्षण र यसबाट हुने राम्रो आर्थिक उपार्जनलाई ध्यानमा राखेर यसअघि जिल्लाका एक सय चार जना महिलाहरुलाई राडिपाखी बनाउँने तालिम दिएको घरेलु तथा साना उद्योग विकास समिति पाँचथरका कार्यालय प्रमुख लक्ष्मी दाहालले बताए । राडिपाखी बनाउँने उपकरणको उचित व्यवस्थापन र सिप विकासको लागि क्षमता अभिवृद्धि गराउने किसिमका कार्यक्रम सञ्चालन गर्न सकेमा जिल्लामा यो पेशाको राम्रो सम्भावना रहेको दाहालको भनाई छ । तर पछिल्लो केही वर्षयता चरन क्षेत्रको अभावमा भेंडा पालन व्यवसायमा कमि आए सँगै राडिपाखी बनाउँने पेशा हराउँन थालेपछि भेंडाको बृद्धि–विकासको लागि जिल्ला पशु सेवा कार्यालयले कृषकलाई थुबा (भेंडाको साँढ) वितरण गर्दै आएको छ । यसलाई प्रत्येक वर्ष निरन्तरता दिंदै लाने लक्ष्य रहेको पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा.मेगल प्रसाद शाहले बताए । देश–विदेशका विभिन्न सहरमा अत्यधिक माँग हुने राडिपाखी उत्पादनलाई बढाउँन भेंडापालनमा कृषकहरुलाई प्रोत्साहित गर्नुपर्ने र त्यसको लागि चरन क्षेत्रको व्यवस्था गर्नुपर्ने डा.शाहको भनाई छ । पाँचथरको उत्तरी क्षेत्रका विभिन्न जिल्ला सँगै ताप्लेजुङ र इलामका उच्च पहाडि तथा हिमाली क्षेत्रमा समेत राडिपाखी बनाउँने पेशा गर्ने गरिएको छ ।