विजयपुर । भारतीय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय कार्यसमितिको १७ औँ साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।


साधारण सभा धरान-१३ स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । केन्द्रीय अध्यक्ष कर्णेल विजय कुमार राईको अध्यक्षतामा सम्पन्न सभामा सुवेदार मेजर अनरेरी मेघसिंह राई प्रमुख अतिथि रहेको केन्द्रीय सचिव अनरेरी सुवेदार मेजर भीमकुमार राईले जानकारी दिए । यस्तै, सह-सचिव कर्णबहादुर गुरुङले आगामी कार्ययोजना सार्वजनिक गरेका थिए । कोषाध्यक्ष अनरेरी क्याप्टेन मान सिंह तामाङले आय-व्यय विवरण प्रस्तुत गरेका थिए भने सभाले पारित गरेको थियो ।


सभामा वर्षभरि सम्पन्न गतिविधिको समीक्षा गर्दै आगामी दिनमा भूतपूर्व सैनिकहरूको हितका लागि थप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेषगरी भारतीय भूतपूर्व सैनिकहरूको कल्याणका लागि 'मनिक्सा वृद्धाश्रम' सञ्चालन गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ । उक्त योजना कार्यान्वयनका लागि प्राविधिक तथा आर्थिक सहयोग भारतीय पेन्सन पेइङ कार्यालयमा अनुरोध गर्ने निर्णय पनि गरिएको छ । प्रगति प्रतिवेदन, भावी योजना तथा आर्थिक प्रतिवेदन पारित भएपछि पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन भएको छ । प्राफेसर भूपु नायक चन्द्रबहादुर फोम्बोको संयोजकत्वको ३ सदस्यीय निर्वाचन मण्डलले अनरेरी व्यारेन्ट नेत्रप्रसाद निंलेखुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको जानकारी सचिव कर्णबहादुर गुरुङले दिएका छन् ।