नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई कुटपिट गरी घाइते बनाएको र अस्पतालमा उपचार गर्दै गरेको दाबीसहित एउटा फोटो सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ । 

तर, हाम्रो तथ्य जाँचले उक्त तस्बिर वास्तविक नभएर एआईबाट बनेको पुष्टि गरेको छ । 

के हो दाबी ?

मिस पबी ४१ (MissPabi 41) नामक फेसबुक प्रयोगकर्ताले आइतबार (फेब्रुअरी १५) दिउँसो १३ः५९ बजे फेसबुकमा एउटा फोटोसहितको पोस्ट गरिन् । उनले महेश बस्नेत ‘भोगटे’ लाई लखेटे पछि अस्पताल भर्ना, सही गरे वा गलत कमेन्ट गर्नुहोला भनी उल्लेख गरेकी छन् । 

९४ हजार फलोअर्स भएको मिस पबी ४१ को फेसबुकमा राखिएको उक्त पोस्टमा हामीले मङ्गलबार तथ्य जाँच गर्दैगर्दा १० हजार रियाक्सन, ५ हजार एक सय कमेन्ट र ६ सय ८० पटक शेयर गरिएको छ । 

हेर्नुहोस्, स्क्रिनसट :

mahesh1

मिस पबी ४१ को फेसबुकमा राखिएको उक्त अर्काइभ लिङ्क र  स्क्रिन सर्ट लिङ्क

के हो तथ्य ?

तथ्य जाँच गर्ने क्रममा सुरुमा उक्त तस्बिरलाई हेर्दा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घाइते भएका बस्नेतलाई नमस्कार गर्दै गरेको देखिन्छ । उक्त तस्बिरमा एक जना डाक्टर नजिकै जाँच गरिरहेको देखिन्छन् । 

ओलीले नमस्कार गरेको दुई हातका औँलाहरूलाई झट्ट हेर्दा चोर औँला बाङ्गो देखिँदैन । 

हेर्नुहोस्, स्क्रिन सट : 

mahesh

गुगल इमेजमार्फत हामीले ओलीका पुराना तस्बिरहरू खोज्यौँ । जसमा राष्ट्रिय समाचार समिति (रासस) ले खिचेको पुरानो तस्बिर फेला पार्यौँ । उक्त तस्बिर हिमालयन टाइम्सले हालेको पायौँ । उक्त तस्बिरमा उनले चोर औँला देखाएका पायौँ ।

जसको वास्तविक तस्बिरको स्क्रिन सट : 

Screenshot 2026-02-17 at 15.55.35

सोही कारण एआईको तस्बिर हुन सक्ने शङ्का गरी हामीले केही टुलहरू प्रयोग गरेर एआईको तस्बिर हो कि हैन भनेर जाँच्यौँ ।

सुरुमा हाइभ मोडरेसनमा जाँच्दा यसले ९९.९ प्रतिशत एआईद्वारा निर्मित हुनसक्ने नतिजा दियो ।

हेर्नुहोस्, हाइभ मोडरेसन गरिएको जाँचको नतिजा :

Screenshot 2026-02-17 at 15.40.34

त्यसपछि हामीले उक्त तस्वीरलाई इमेज विस्परर डट ओआरजीमा लगेर पनि जाँच गर्‍यौँ । त्यहाँ उक्त तस्बिर एआईद्वारा बनेको भनी नतिजा दियो । 

हेर्नुहोस्, स्क्रिन सट :

Screenshot 2026-02-17 at 15.51.23

त्यसपछि उक्त तस्बिरलाई इनभिड वीभेरिफाइमा गई इमेज टुल्सको म्याग्निफायरबाट सूक्ष्म अध्ययन गर्‍यौँ । जसमा अध्यक्ष ओलीको हातको चोर औँलाको बनावट मिल्दैन ।

हेर्नुहोस्, स्क्रिन सट :

Screenshot 2026-02-17 at 15.41.23

किनकि एआईद्वारा निर्मित तस्बिरमा ससाना कुराहरूमा ध्यान दिएको पाइँदैन । 

घटना भएको हो होइन भनेर थप बुझ्‌नका लागि नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीन शाहीलाई फोन गर्‍यौँ । ह्‌वाट्सएपमार्फत फोन गर्दा उनले भने, “त्यस्तो घटना केही भएको होइन । होइन होइन, झुट कुरा हो । त्यो विषयमा हाम्रो टोली साइबर ब्यूरोमा गएका छन् ।”

तथ्य जाँच

दाबी : महेश बस्नेतलाई रामधुलाई गरेको भन्दै घाइते भएको तस्बिरमा डाक्टर र एमाले अध्यक्ष केपी शर्मा ओलीले नमस्कार गरेको फोटो । 

दाबीकर्ता : मिस पबी ४१ नामक फेसबुक प्रयोगकर्ता ।

तथ्य : मिथ्या सूचना । सामाजिक सञ्जाल फेसबुकमा एमाले सचिव महेश बस्नेतलाई हातपात गरी घाइते बनाएको दाबीसहितको भारइल तस्बिर वास्तविक नभएर एआईबाट निर्मित भएको पुष्टि हुन्छ । फोटोको भिजुअल विश्लेषण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको औँलाले पनि एआई निर्मित तस्बिर भएको सङ्केत गरेको छ । साथै, Hive Moderation AI/Imagewhisperer.org जस्ता स्वतन्त्र एआई डिटेक्शन टुलहरूले पनि उच्च सम्भावनासहित यो फोटो कृत्रिम रूपमा सिर्जना गरिएको देखाएका छन् । त्यसैले उक्त फोटोका आधारमा महेश बस्नेतले कुटाइ खाएको दाबी सत्य होइन ।