सप्तरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले सप्तरीको राजनीतिक तापक्रम अस्वभाविक रूपमा बढाएको छ । चारवाट निर्वाचन क्षेत्र रहेको सप्तरीमा पूर्व उपप्रधानमन्त्रीदेखि पूर्व मुख्यमन्त्री, पूर्वमन्त्री, निवर्तमान सांसद् र दलका केन्द्रीय अध्यक्षसम्म चुनावी मैदानमा उत्रिएका छन् । यो प्रतिस्पर्धा केवल चार सिटको लडाइँमा सीमित छैन; यो त प्रभाव, प्रतिष्ठा र भविष्यको राजनीतिक दिशाको परीक्षासमेत भएको राजनीतिमा चासो राख्नेको बुझाइ छ ।

जिल्लाभर १ सय २ जना उम्मेदवार मैदानमा छन् । विकल्पको बहुलता मतदाताका लागि अवसर भए पनि मत विभाजनको जोखिम उत्तिकै छ । बहुकोणीय प्रतिस्पर्धाले ३०–३५ प्रतिशत मतले पनि जित सुनिश्चित हुनसक्ने आँकलन धेरैको छ । 

क्षेत्र नं. १ः पराजितहरूको पुनः प्रयास

सप्तरी १ मा विगतमा पराजित भइसकेका नेताहरू पुनः मतदातासामु उभिएका छन् । सुमनराज प्याकुरेल नेकपा (एमाले), रामदेव साह (नेपाली काङ्ग्रेस) र डा. जयकान्त राउत (जनमत पार्टी) तीनैजना ‘पहिलो जित’ को लक्ष्यमा छन् ।

यही क्षेत्रमा पूर्वमन्त्री नवलकिशोर साह का पुत्र सुमित साह (स्वाभिमान पार्टी) पहिलो पटक मैदानमा उत्रिएका छन् । वंशगत प्रभाव र व्यक्तिगत छविबीचको प्रतिस्पर्धाले समीकरण रोचक बनाएको छ । २१ उम्मेदवार रहेको यस क्षेत्रमा परम्परागत दल र नयाँ शक्तिबीच मत तानातान हुने देखिन्छ । युवा मतदाता सक्रिय भए नयाँ अनुहारले परिणाम उल्टाउन सक्ने सम्भावना पनि बढेको छ । सप्तरी क्षेत्र नं. १ मा एक लाख ५७ हजार ३ सय २३ महिलासहित एक लाख १९ हजार ३१ मतदाता रहेका छन् । 

क्षेत्र नं. २ः ‘हेभीवेट’ हरूको सङ्ग्राम

सप्तरी २ यतिबेला राष्ट्रिय ध्यानको केन्द्र बनेको छ । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह (स्वाभिमान पार्टी), जनमत पार्टीका अध्यक्ष एवम् निवर्तमान सांसद् डा. सीके राउत, जसपा नेपालका पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादव, राष्ट्रिय मुक्ति पार्टीका अनिस अन्सारी, नेकपाका सूर्यनाथ यादव, काङ्ग्रेसका रामकुमार यादव र रास्वपाका इ. रामजी यादवसहित ३४ उम्मेदवार मैदानमा छन् ।  विश्लेषकहरूका अनुसार यहाँ जनमत, जसपा र स्वाभिमानबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । डा. राउतले अघिल्लो निर्वाचनमा बनाएको आधार जोगाउनु चुनौती भएको देखिएको छ । सिंह प्रदेश नेतृत्वको अनुभवलाई सङ्घीय राजनीतिमा रूपान्तरण गर्ने दाउमा छन् । बहुकोणीय प्रतिस्पर्धाले सानो मतान्तरमै परिणाम निस्कने सङ्केत दिएको छ । यहाँ एक लाख १५ हजार मतदाता रहेका छन् । 

क्षेत्र नं. ३ः उपेन्द्र यादवको ‘कमब्याक’ दाउ

जसपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव पुनः सप्तरी फर्किएका छन् । अघिल्लो पटक सप्तरी २ मा पराजित भएपछि उपनिर्वाचनमार्फत् प्रतिनिधिसभामा पुगेका यादवका लागि यो निर्वाचन राजनीतिक पुनस्र्थापनाको प्रयास हो ।

उनका मुख्य प्रतिस्पर्धी काङ्ग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरी छन् । २२ उम्मेदवार रहेको यस क्षेत्रमा मधेश आन्दोलनको विरासत, पहिचान र विकास एजेन्डाबीच मतदाताको छनोट निर्णायक बन्ने देखिन्छ । परम्परागत मधेशी मत एकीकृत भए यादवलाई लाभ हुनसक्छ; तर काङ्ग्रेस–एमालेको सङ्गठित मत समीकरणले नतिजा उल्टाउन सक्ने सम्भावना पनि उत्तिकै छ । सप्तरी क्षेत्र नं. ३ मा एक लाख ११ हजार ८ सय ५३ मतदाता रहेका छन् । 

क्षेत्र नं. ४ः ‘ह्याट्रिक’पछि चौथो परीक्षा

मधेश प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी लगातार चौथो जितको खोजीमा छन् । तर चुनौती कमजोर छैन । काङ्ग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका सीताराम साह र जसपा नेपालकी डा. बबि सिंह यादव प्रतिस्पर्धामा छन् । नयाँ व्यक्ति उनलाई चौथो जित निकाल्न चुनौती हुने स्थानीयको आँकलन छ ।

२५ उम्मेदवार रहेका यस क्षेत्रमा सत्ताविरोधी मत एकीकृत भए चौधरीलाई कठिनाइ हुन सक्छ । तर सङ्गठन र पहुँचको राजनीतिले पुराना आधारलाई जोगाइराख्ने सम्भावना पनि उत्तिकै छ । सप्तरी क्षेत्र नं. ४ मा एक लाख ९  हजार ५ सय ४३ मतदाता रहेका छन् । 

बहुकोणीय प्रतिस्पर्धा, अनिश्चित परिणाम

सप्तरीमा तीन दलका केन्द्रीय अध्यक्ष, पूर्व मुख्यमन्त्री र पूर्व उपप्रधानमन्त्रीसम्मको उपस्थिति आफैमा असामान्य छ । धेरै स्वतन्त्र र साना दलका उम्मेदवारले मुख्य दलहरूको मत काट्न सक्ने अवस्था छ । विकास, कृषि, सिंचाइ, रोजगारी र पूर्वाधार जस्ता मुद्दा भाषणमा अग्रपङ्क्तिमा छन्, तर अन्ततः जातीय–सामुदायिक समीकरण, व्यक्तिगत प्रभाव र सङ्गठनात्मक बल नै निर्णायक हुनसक्ने विश्लेषण पनि छ । युवा मतदाता र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सङ्ख्या उल्लेख्य छ । उनीहरू ‘परिवर्तन’ को भाष्यतर्फ आकर्षित देखिन्छन् । तर स्थानीय विकास आयोजनाको निरन्तरता, पहुँच र सञ्जालले ‘निरन्तरता’ को पक्ष पनि बलियो छ ।