नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिका लागि अपिल गरेका छन् ।
बिहीबार धरानमा आयोजित सुनसरी क्षेत्र नं. १ को प्रतिबद्धता सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले देशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्यका लागि अब ठोस पहल आवश्यक भएको बताए ।
उनले विगतका तथ्यांक प्रस्तुत गर्दै भने, '३४ वर्षमा ३० जना प्रधानमन्त्री किन फेरिए? ७५ वर्षको इतिहासमा किन कुनै पनि प्रधानमन्त्री पूरा ५ वर्षे कार्यकाल पूरा किन टिक्न सकेनन्?' उनका अनुसार बारम्बार सरकार परिवर्तन हुनु नै विकासको गति सुस्त हुनुको प्रमुख कारण हो । 'अब ५ वर्षसम्म प्रधानमन्त्री टिक्ने प्रणाली कसरी निर्माण गर्ने भन्ने विषयमा राजनीतिक संवाद आवश्यक छ,' -शर्माले भने ।
उपसभापति शर्माले नागरिक असन्तुष्टि र जेनजी आन्दोलन राजनीतिक अस्थिरताका कारणले भएको बताए । ठूला दलहरूले जिम्मेवारीपूर्वक सरकार सञ्चालन गर्न पाउने वातावरण बनाउनुपर्ने उनको धारणा थियो । 'सबैभन्दा ठूलो दललाई पाँच वर्ष सरकार चलाउने अवसर दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल गरौं,' उनले भने । उनले वैकल्पिक उपायसमेत अघि सारे। यदि कुनै दललाई स्पष्ट बहुमत पुग्न नसकेको अवस्थामा निर्वाचन आयोगको समानुपातिक सूचीबाट आवश्यक संख्या पूर्ति गरी स्थिर सरकार निर्माण गर्न सकिने उनको सुझाव थियो। तर, उनले यसलाई अन्तिम निष्कर्ष नभई संवादको सुरुवातका रूपमा लिन आग्रह गरे। 'राजनीतिक संवादबाट अझ राम्रो विकल्प पनि आउन सक्छ,' उनले भने ।
शर्माले 'अब सूर्यास्त, नेपाल मस्त' नहुने बताए । देशलाई गतिशील बनाउन २४ घण्टा काम गर्ने संस्कार आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमार्फत २४ घण्टा काम गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ। 'हामीले ३० वर्षमा गर्ने काम १० वर्षमै सम्पन्न गर्ने संकल्प गरेका छौं,' उनले भने, 'त्यसका लागि कांग्रेसलाई मतदान गर्न अपिल गर्छु।' उनले सुनसरी क्षेत्र नं. १ का मतदातालाई नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्दै स्थिर सरकार, तीव्र विकास र जिम्मेवार राजनीतिक संस्कार स्थापना गर्न साथ दिन अपिल गरे ।
































