सुन्दरहरैचा (मोरङ) । खुल्ला चौरभरि लहरै सजाइएका स्टलहरू । कतै रोबोट गुडिरहेका, कतै गणितका जटिल सूत्रहरूलाई काठ र कागजका माध्यमबाट सहजै बुझाइरहेका विद्यार्थी । कतै भने हाम्रा लोपोन्मुख परम्परागत सामग्री र पुराना भाँडाकुँडाहरूको प्रदर्शनी ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको ‘प्रथम शैक्षिक महोत्सव’ मा पुग्दा लाग्थ्यो – विद्यार्थीहरूले केवल किताब मात्र पढेका छैनन्, त्यसलाई व्यवहारमा उतार्ने सामथ्र्य पनि राखेका छन् । विद्यालयको चार पर्खालभित्र सीमित रहने सिकाइ पहिलो पटक यसरी सार्वजनिक मञ्चमा प्रस्तुत भएको हो ।
यही फागुन ४ देखि ६ गतेसम्म सञ्चालित तीन दिने महोत्सवमा ८७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्फुटन गरे । एक सयभन्दा बढी स्टलमा विज्ञान–प्रविधि, गणितीय सीप, चित्रकलादेखि साहित्यिक कृतिहरूसम्म प्रदर्शनमा राखिएका थिए ।
सुकुना माध्यमिक विद्यालय, हरैंचा मोडेल, पञ्चायत मा.वि., प्रभाव किरण र दुलारी मल्टिपललगायत विद्यालयका विद्यार्थीले गणितीय जादु र कार्यक्षमता प्रदर्शन गर्दा अवलोकनकर्ताहरू अचम्मित देखिन्थे । सिद्धार्थ र जुपिटर जस्ता विद्यालयका स्टलमा भने कला र साहित्यको सङ्गम देखिन्थ्यो । त्यहाँ विद्यार्थीहरू प्रसिद्ध साहित्यकारका कृति र आफूले कोरेका चित्रकलामा झुम्मिएका थिए ।
नगरपालिकाले शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी सीपसँग जोड्ने उद्देश्यले यो महोत्सव आयोजना गरेको हो । नगर प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार कक्षाकोठामा सिकेको ज्ञानलाई सीपका माध्यमबाट सार्वजनिक गर्ने यो एउटा ठूलो मञ्च भएको बताए ।
“शिक्षा एउटा लामो प्रक्रिया हो, जसको प्रतिफल तुरुन्तै नदेखिन सक्छ” नगर प्रमुख गुरागाईंले भने, “तर शिक्षालाई वैज्ञानिक, गुणस्तरीय र सीपमूलक बनाउनुपर्छ भन्नेमा हामी सबै उत्प्रेरित भएका छौँ । यो महोत्सव एउटा सिकाइ केन्द्रको रूपमा विकास भएको छ ।”
उनका अनुसार बालबालिकाहरूलाई संस्कार, संस्कृति, भेषभूषा र हाम्रा पुर्खाले प्रयोग गरेका सामग्रीबारे बुझाउनु पनि महोत्सवको अर्को सफलता हो । नगरपालिकाले यस महोत्सवका लागि ३६ लाख रुपैयाँ लगानी गरेको छ र यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
“हामीले वास्तवमा बहुआयामिक ढङ्गले यो महोत्सव आयोजना गरेका छौँ । यहाँ विज्ञान–प्रविधि, भाषा, कला, साहित्य, हाम्रो संस्कृतिलगायत विविध क्षेत्रका स्टलहरू हामीले यहाँ राखेका छौँ र एक ढङ्गले यही नै सिकाइ केन्द्रको रूपमा विकास भएको छ” –नगर प्रमुख गुरागाईंले भने ।
‘शैक्षिक हब’ बन्ने सपना
महोत्सवमा सहभागी सिद्धार्थ विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले सरकारी स्तरबाट यस्तो कार्यक्रम हुनुलाई कोशी प्रदेशकै लागि नमुना कार्यका रूपमा अथ्र्याए । “सामुदायिक र संस्थागत विद्यालयलाई एउटै मञ्चमा ल्याएर एक–अर्काको प्रस्तुति हेर्न पाउनु महŒवपूर्ण पक्ष हो” उनले भने, “यो महोत्सव सुन्दरहरैंचालाई एउटा ‘शैक्षिक हब’ का रूपमा विकास गर्ने कोसेढुङ्गा सावित हुनेछ ।”
महोत्सवमा विद्यार्थीको उत्साह र अभिभावकको बाक्लो उपस्थितिले शिक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ । नगरपालिकाका अनुसार तीन दिनको अवधिमा एक लाखभन्दा बढीले महोत्सवको अवलोकन गरेका छन् ।
विद्यालयको कोठाभित्र लुकेका प्रतिभाहरूलाई यसरी खुल्लारूपमा प्रदर्शन गर्ने वातावरणले विद्यार्थीहरूमा नयाँ आत्मविश्वास पलाएको पूर्वाञ्चल एकाडेमीका प्रिन्सिपल दिपेन राईले बताए । “सुन्दरहरैंचाले सुरु गरेको यो प्रयासले मुलुकको शैक्षिक रूपान्तरणमा ठूलो भूमिका निर्वाह गर्नेछ” उनले भने, “आगामी दिनमा पनि शैक्षिक महोत्सवले निरन्तरता पाउनु पर्दछ ।”
































